मोहित-केकीको रोमान्स

हरिवंश पुत्र मोहितवंश यतिबेला गसिप-ब्वाइ बनिरहेका छन् । गोपीकृष्ण मूभिजको अपकमिङ प्रोजेक्ट 'मायाको बारीमा'बाट हिरोका रुपमा डेब्यु गर्न लागेका २२ वर्षे मोहितवंश अर्को कारणले पनि चर्चामा छन् । वैशाख पहिलो साताबाट सुटिङ सुरु हुने उक्त चलचित्रमा मोहितले निर्देशक बद्री अधिकारी पुत्री हिरोइन केकीसँग अनस्क्रिन रोमान्स गर्दैछन् । धेरै समानताका बीच मोहित-केकीको अनस्क्रिन केमेष्ट्री पर्खाइको विषय बनेको छ । निर्देशक दयाराम दाहाल मोहितको अपोजिटमा स्थापित नायिकाहरुलाई लिन चाहन्थे तर मोहितको तुलनामा उनीहरु 'बूढी' देखिने भएपछि दाहालले निर्णय परिवर्तन गर्नुपर्‍यो । सबै हिसाबले मोहितका लागि केकी 'पर्फेक्ट' ठहरिइन् । 'किनभने मेरो अपोजिटमा ल्याउन लागिएका हिरोइनहरु बूढी भएपछि केकीलाई लिइएको हो' मोहितले भने 'किनभने केकी मेरा लागि सबै रुपबाट पूर्ण छिन् ।' चलचित्रमा मोहित-केकी कलेज विद्यार्थीको भूमिकामा छन् । केकीका लागि भने यो प्रोजेक्ट डबल खुसीको विषय बनेको छ । मोहितको अपोजिटमा हुने केमेष्ट्री त भैहाल्यो महानायक राजेश हमालसँग एउटै सिनेमामा काम गर्न पाएपछि केकीको खुसी अग्लिएको छ ।कमेडी लभस्टोरी श्रेणीको चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् । पहिलोपटक फिचर फिल्ममा अभिनय गर्न लागेका मोहित यतिबेला स्क्रिप्टमा व्यस्त छन् र केकी पनि । 'मोहित-केकीको अनस्क्रिन केमेष्ट्री खोज्न लागेका हौं' निर्देशक दाहालले भने । यो जोडी चलचित्र क्षेत्रमा स्थापित हुने आशा पनि उनले लिएका छन् ।

0 comments:

Post a Comment