यसरी वित्नेछ सेलिब्रेटीको तिहार

उज्यालोहरुको पर्व अर्थात तिहार प्रत्येक नेपालीको घर आँगनमा आईसकेको छ । मंगलबारबाट यमपञ्चक पनि सुरु भईसेको छ । विशेषत: दिदीभाईको स्नेह साटासाट गर्ने तिहारको यो मौसम अर्थात भाईटिका पर्सी ११ गते शुक्रबार परेको छ । जसरी आम नेपालीको घरमा यो पर्वले पाईला टेकेको छ त्यसरी नै नेपाली चलचित्रकर्मीमा पनि तिहारको रौनकले छोईसकेको छ । चौबिस घण्टा सुटिङमा ब्यस्त रहने कलाकारहरु आज लक्ष्मी पुजाको दिनदेखि फ्रि पनि भएका छन् । सुटिङका सम्पूर्ण कार्यहरु स्थिगित गरी सवै चलचित्रकर्मी फेस्टिभलको मुडमा छन् । कोही दशै मनाए जसरी गृहनगर जान ब्यस्त छन् त कोही राजधानीमै तिहार विताउने सुरमा छन् । अभिनेत्री रेखा थापाको दशै जस्तै भाईटिका मोरङको सलकपुरमा हुने छ । उनका दुई दिदीहरु र एक दाई विदेशबाट नेपाल आएकाले यो बर्षको भाईटिका उनको लागि विशेष हुने छ ।गत बर्ष माओवादी नेता चन्द्रबहादुर थापा 'सागर' लाई पहिलो पटक भाईटीका लगाएकी रेखाले सागरको परिवारमा जुठो परेपछी भाईटिकालाई निरन्तरता दिन पाउने छैनन् । यस्तै दुई बर्षअघि सम्म चलचित्र क्षेत्रमा हेयर ड्रेसर भएर काम गर्दै आएका लोकेश थापासंग पनि रेखाको यो बर्ष भाईटिका नहुने भएको छ । रेखा भाईटिकाको दिन बिहानै विराटनगर जाने भएपछी लोकेशसंग उनको भाईटिका नहुने भएको हो । रेखाले मोरङमा रहेका दुई दाई नवराज र जीवनसंग मखमली मालासंग प्रेम साट्ने छिन् ।यस्तै रेखाको माईती गाउँ नजिकै घर रहेको हिरो जीवन लुईटेल पनि आज बुधबार बिहान घर गएका छन् ।
दशै अष्ट्रेलियामा मनाएका जीवनले दीदी मुना लुईटेल (सुवेदी) संग भाईटिका लगाउदै छन् । उनी भाईटिकाको भोली पल्ट नै काठमाण्डू फर्कने छन् । यसैगरी हिरो राजबल्लभ कोईरालाले तिहार मनाउने सुर कसेपनि उनको परिवारमा सुतक परेकाले यो बर्ष उनको निधार खाली हुने छन् । उनको बहिनी अमेरिकामा रहेकाले काकाको छोरीसंग भाईटिका लगाउदै आएका थिए । तर पनि गृहनगर पोखरा जाने कि नजाने भन्ने बिषयमा उनी दोधारमा छन् ।हिरोईन झरना थापाले आफ्नै निवास नयाँबानेश्वरमा बहिनी राजमणीको साथमा भाई शम्भुलाई भाईटिका लगाईदिदै छिन् । उनले तिहारको सेलरोटी हिजै पकाई आज घरमा भैली खेल्न आउनेहरुसंग आफै कम्मर पनि मकाउदैछिन् । यस्तै प्रेगनेन्ट हिरोईन अरुणिमा लम्सालले कपनमा बनाएको नयाँ घरमा पहिलो पटक तिहार मनाउदैछिन् । उनले भदा आकृत र दुई दाई विनायक र विवेकलाई भाईटिका लगाईदिदै छिन् ।गत बर्ष बुवाको निधनले तिहार मनाउन नपाएकी हिरोईन ऋचा घिमिरेले यो बर्ष दिल खोलेर तिहार मनाउने सुरमा छिन् । आज घरमा दिपावली गरेर उनको दिन बित्ने छ । ऋचाकै घर छेउ रहेका नायक मुकेश ढकालले यस बर्ष टिका लगाउन नपाउने भएका छन् । दिदीको घरमा जुठो परेकाले यस बर्ष टिका लगाउन नपाएका मुकेश आफू अभिनित चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को प्रोमोशनमा व्यस्त हुने छन् । नायक राजेश हमालको यस बर्षको तिहार बिदेशमा हुने भएको छ ।यस्तै केही दिन अघि अमेरिकाबाट फर्किएका अर्का हिरो रमित ढुङ्गानाको पनि भतिजको छोरो जन्मिएपछी उनको भाईटीका पनि रोकिएको छ । तर यो तिहारमा रामाईलो गर्न पछि नपर्ने उनी बताउछन् । यसैगरी हेटौडामा दशै विताए जसरी नै हिरोईन नीता ढुङ्गानाको तिहार त्यतै वित्ने छ । उनले दाई नवराज र भाई पवनलाई भाईटिका लगाईदिने छिन् । यस्तै नयनायक ध्रुब न्यौपाने पनि सदा झै यस बर्ष पनि तिहार मनाउन घर हेटौंडा पुगेका छन् ।यसैगरी हेटौडामै पुगेर द्धन्द निर्देशक राजेन्द्र खड्गी एक दिदी र अर्की बहिनीको हातबाट भाईटिका लगाउदैछन् । यस्तै संगीतकार शम्भुजीत बास्कोटाले अमेरिकामा रहेकी एक बहिनी विनिता पौडेलसंग भाईटिका लगाउन नपाए पनि दीदी जानकी सुवेदी र अर्की बहिनी मुना लुईटेलसंग भाईटिका लगाउदैछन् । त्यस्तै अर्का संगीतकार सुरेश अधिकारीले विगत चार बर्ष देखि गायिका अञ्जु पन्तलाई बहिनी बनाएको हुदा अञ्जुसंग उनको भाईटिकाले यो बर्ष पनि निरन्तरता पाउने छ । आफ्नी दिदी बहिनी नभएपछि धर्म बहिनीसँग टिका थाप्दै आएका निर्देशक सुरेश दर्पण पोखरेलको यस बर्ष निधार खाली हुने भएको छ । आफ्नो ड्रिम प्रोजेक्ट 'मिस यू' चलचित्रको काममा व्यस्त सुरेशले युकेमा रहेकी धर्म बहिनीलाई मिस गरेको बताए । यता स्क्रिप्ट राईटर शिबम अधिकारी आफ्नै दिदी बहिनी नभए पनि काकाको छोरीसँग टिका लगाएर तिहार मनाउँदै छन् । साथै उनी आगामी प्रोजेक्ट 'थ्री लभर्स' को स्क्रिप्टलाई अन्तिम रूप दिनमा व्यस्त हुनेछन् ।

0 comments:

Post a Comment