दशैंमा औसत व्यापार

यसपालि दशैंमा दर्शकले आरामसँग फिल्म हेर्न पाए रे। पहिलाजस्तो ठेलमठेल गर्दै सिँढीमा बसेर फिल्म हेर्न परेन भन्ने रिपोर्ट पाएको छु,' एकजना कहलिएका फिल्म निर्माताले दशैंमा चलाइएका फिल्म व्यापारप्रति ठट्टा गरे। जस्तो फिल्मले पनि दशैंमा रिलिज हुने मौका पाए पैसा कमाउँछ भन्ने मान्यता तोडिँदै गएको तर्क उनको छ। 'स्थिति बदलिएको छ। नराम्रो फिल्म हेर्न हलमा जानुभन्दा मन लागेको फिल्म घरमै हेर्न सकिने सुविधा छ,' फिल्म चाडले होइन स्तरियताले चल्ने परिपाटी केही वर्षदेखि सुरु भएको उनले सुनाए। दशैंमा रिलिज भएका फिल्मको नतिजा समेत सन्तोषजनक नरहेपछि फिल्मकर्मीबीच व्यापारिक भविष्यलाई लिएर बहस हुन थालेको छ। गत वर्षको तुलनामा यसपालि रिलिज भएका फिल्मको व्यापार निकै थोरै रहेको वितरक सुनील मानन्धरले बताए। मध्य दशैंमा चलाइएको फिल्म 'मेरो लभस्टोरी', 'अन्दाज' र 'म तिम्रो भैसकेँ'ले लगानी उठाउनकै लागि संघर्ष गरिरहेको उनले बताए। आफैंले वितरण गरेको 'मेरो लभस्टोरी'बारे उनले प्रतिक्रिया दिए, '५० देखि ५५ लाख संकलन हुने अनुमान छ। तर, लगानी एक करोडको हाराहारीमा रहेकोले घाटामै गइएला जस्तो छ।' फिल्मको गलत 'बक्स अफिस' बताउँदा उद्योग बिग्रिएको भनाइ अघि सार्दै आफूले यथार्थ जानकारी दिएको उनले दाबी गरे। पछिल्लो समय प्लस टुका विद्यार्थी हलमा देखिन थालेपछि यसका निर्माता सुरज आचार्य आशावादी बनेका छन्। 'यसैगरी अर्को हप्ता पनि फिल्म चल्यो भने लगानी सुरक्षित हुन्छ। बिस्तारै व्यापार बढ्दै गएको छ,' उनले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेको र दुई वर्षअघि दशैंमै रिलिज गरिएको फिल्म 'मेरो एउटा साथी छ'को व्यापारलाई भने 'मेरो लभस्टोरी'ले भेट्न नसेकेको स्विकारे। 'एउटै निर्देशक र ब्यानरको फिल्मले पहिलाको भन्दा उम्दा व्यापार किन गर्न सकेन?' भन्ने प्रश्नमा आचार्यले भने, 'तीनवटा फिल्म जुधेकाले दर्शक बाँडिए। दर्शकहरु घरमै रमाएजस्तो पनि लाग्यो।' व्यापार जस्तो भए पनि फिल्म हेर्नेले रुचाएको उनको बुझाइ छ। आर्यन सिग्देल, विनय श्रेष्ठ, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन्। जीवन लुइँटेल, रेखा थापा र सविन श्रेष्ठको अभिनय रहेको फिल्म 'अन्दाज'का वितरक तथा निर्माता अशोक शर्मा भने फिल्मले राम्रो व्यापार नगरेको स्विकार्न तयार छैनन्। 'अरुको टिप्पणी नगरौं, हाम्रो फिल्म सोचे अनुसार चलेको छ,' फिल्मलाई नयाँ स्वादको दाबी नगर्ने उनी आर्जन राम्रो भइरहेको बताउँछन्। 'यो एउटा साधारण मनोरञ्जनात्मक फिल्म हो। पोहोरसम्म टीकाको दिन फिल्म रिलिज गर्ने चलन भएकाले सुरुवातको कलेक्सन राम्रो हुन्थ्यो। यसपालि हामीले फूलपातीकै दिन रिलिज गरेकाले घटेजस्तो भान परेको हो,' शर्माको हिसाब अनुसार फिल्म नौ दिनमा पनि 'हल्लिएको' छैन। फिल्म लामो समय टिक्ने दाबीका साथ उनले थपे, 'हामीलाई राम्रै मुनाफा मिल्ने संकेत छ।' महिला दर्शकले फिल्म रुचाएको चर्चा गर्दै यसले फिल्मको आयु लम्बिने उनको आशा छ। शर्माकोे लक्ष्य पूरा हुन तिहारसम्म फिल्म चल्न सक्नुपर्छ। छवि ओझा समेत निर्माता रहेको फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। यसमा बलिउड फिल्मको अधिक प्रभाव पाइएकोले फिल्म समीक्षकहरुले भने आलोचना गरेका छन्।'नाइँ नभन्नू ल'को जोडी जीवन लुइँटेल र ऋचासिंह ठकुरीलाई दोहोर्‍याएर विकास आचार्यले 'म तिम्रो भैसकेँ' चलाए। तर, यो फिल्मले 'नाइँ नभन्नू'को व्यापारलाई भेट्न सकेको छैन। फिल्मका निर्माता प्रदीप दाहाल भने यसलाई अघिल्लो फिल्म 'नाइँ नभन्नू ल'सँग तुलना गर्ने समय नआइसकेको बताउँछन्। 'त्यो फिल्मले पनि बिस्तारै प्रगति गरेको हो। यसको पनि दर्शक बढ्दै छन्। तिहारसम्म चल्यो भने त लगानी उठ्छ,' उनले पनि फिल्मलाई महिला दर्शकले बढी रुचाएको बताए। तीन फिल्म जुध्दा व्यापारमा असर परेको भने उनको पनि निष्कर्ष छ। 'अन्दाज' र 'मेरो लभस्टोरी' देशभर रिलिज भएका छन् भने 'म तिम्रो भइसकेँ' राजधानी बाहिर १८ हलमा चलाइएको छ।

0 comments:

Post a Comment