'आचार्य' भारतीय कि नेपाली?

काठमाडौंमा चलिरहेको फिल्म 'आचार्य'ले भारतमा आयोजना भइरहेको १३ औं मुम्बई फिल्म फेस्टिभलमा सहभागिता जनाएको छ। शनिबार यसको पहिलो शो सम्पन्न भयो भने दोस्रो तथा अन्तिम शो बुधबार हुनेछ।सिक्किमको कम्पनीले निर्माण गरेको 'आचार्य'ले मुम्बई फिल्म फेस्टिभलमा नेपाली होइन भारतीय फिल्मको रूपमा भाग लिएको। फेस्टिभलको 'इन्डियन फ्रेम' नामक समूहमा यो फिल्म सहभागी छ। समूहमा अमुल गुप्तेको 'स्टान्ली का डब्बा', सन्तोष सिभनको 'उरुमी', मक्रन्द देशपाण्डेको 'मिस सुन्दरी', सलिम अहमदको 'अबु, सन अफ आदम' सहित १३ फिल्म छन्।क्याटलगमा 'आचार्य'लाई भारतीय फिल्म मात्र होइन हिन्दी भाषाको उल्लेख गरिएको छ। तर फिल्म नेपाली भाषाकै रहेको फिल्मका अभिनेता सत्यराज आचार्यले मुम्बईबाट बताए, 'हिन्दी भाषा गल्तीले लेखिएको होला।'आफू भारतीय भएकोले फिल्मलाई भारतीय मानेर 'इन्डियन फ्रेम'मा समावेश गरिएको निर्देशक प्रशान्त रसाइलीले मुम्बईबाट फोनवार्तामा दाबी गरे। तर, फिल्मको निर्माण कम्पनी सिक्किमको सिल्क रुट पिक्चर्स् नै उल्लेख छ। सामान्यतया फिल्म जहाँको कम्पनीले बनाएको हो त्यहीँकै मानिन्छ। 'आचार्य'लाई पनि निर्माण कम्पनीकै आधारमा फेस्टिभल आयोजकले भारतीय फिल्म मानेको हुनसक्छ।फेस्टिभलको नियमावलीमा यो 'इन्डियन फ्रेम' समूहमा भाग लिने फिल्म भारतको कुनै एक भाषामा निर्माण भएको भारतीय हुनुपर्ने उल्लेख छ। यो समूहमा १० लाख भारुको दर्शक छनोट पुरस्कार राखिएको छ।'आचार्य'सँगै एउटै समूहमा सहभागी मलयालम फिल्म 'अबु, सन अफ आदम'ले यसपालि ओस्कारमा भारतको प्रतिनिधित्व गर्दैछ। नेपालबाट चाहिँ 'आचार्य'लाई पठाउने भन्ने चर्चा काठमाडौंमा केही दिनअघि चलेको थियो। मुम्बईबाट फर्किने बित्तिकै ओस्कारमा भाग लिन पहल गर्ने सत्यराजले जानकारी दिए।नेपाल चलचित्र निर्माता संघका महासचिव केशव भट्टराईका अनुसार यो पटक 'शिरीषको फूल'ले प्रयास गरे पनि निर्माण कार्य नसकिएकोले भ्याएन। 'आचार्य'ले इच्छा देखाए सहयोग गर्ने वचन उनी दिन्छन्। तर भन्छन्, 'सिक्किममा दर्ता भएको फिल्म हो भने यसले नेपालको प्रतिनिधित्व गर्न मिल्दैन होला।'सत्यराज भने भाषा, विषयवस्तु, लोकेसन र कलाकारका आधारमा 'आचार्य' नेपाली फिल्म नै भएको दाबी गर्छन्। ओस्कारमात्र होइन अरू फेस्टिभलमा पनि यो नेपाली फिल्मकै रूपमा सहभागी हुने उनले बताए। यसअघि फ्रान्स र नेपालको संयुक्त लगानीमा बनेको 'क्याराभान'ले ओस्कारमा नेपाली फिल्मको रूपमा भाग लिएको थियो। त्यतिबेला नीर शाहको नेसनल फिल्म स्टुडियो नामक नेपाली कम्पनीबाट फिल्मलाई ओस्कारमा पठाइएको थियो।यसपालिको मुम्बई फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ भारतको एकसहित १४ फिल्म भिड्दैछन् भने 'वर्ल्ड सिनेमा' समूहमा ४९ फिल्म छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन 'आचार्य' पनि योग्य थियो, किनभने यो पनि कुनै निर्देशकको पहिलो फिल्म हो। यो समूहको विजेता फिल्मलाई ५० लाख भारु पुरस्कार दिइन्छ, जुन ४५ प्रतिशत निर्देशक, ४५ प्रतिशत निर्माता र ५ प्रतिशत वितरकलाई बाँडिनुपर्छ।'आचार्य'ले यो वर्ष ओस्कारमा भाग लिने मौका भने गुमाइसकेको छ। ओस्कार आयोजकले गत बिहीबार विदेशी भाषाको फिल्मतर्फको विधामा प्रतिस्पर्धा गर्ने ६३ देशका ६३ फिल्मको सूची सार्वजनिक गरिसकेको छ, जसमा चीनबाट झाङ यिमुको 'द फ्लावर्स अफ वार', इरानबाट 'अ सेपरेसन', जापानबाट 'पोस्टकार्ड', दक्षिण कोरियाबाट 'द फ्रन्ट लाइन' लगायत छन्।

0 comments:

Post a Comment