फेस्टिभ मुडमा रजतपट

यतिबेला सिङ्गो चलचित्र उद्योग तिहारमा रमाइरहेको छ । तिहार मनाउन सुटिङहरू स्थगित गरिएका छन् । चलचित्रकर्मी फेस्टिभ मुडमा रमाइरहेका छन् । कतिपय हिरोइनहरू भाइटीका लगाउन घर गएका छन् । कतिपयले बुधबार लक्ष्मीपूजा गरे । केही कलाकर्मीले कसरी मनाउँदैछन् तिहार ? 
  करिश्मा मानन्धर
यसपटक बुबाआमा आउनुभएकाले रमाइलो भइरहेको छ । लक्ष्मीपूजाको दिन व्रत बस्दिन । पूजा मात्र गर्छु । मैले बनाएको सेल राम्रो नहुने हुँदा आमाले नै बनाएर पठाइदिनुहुन्छ । अस्ति मात्र, पाथिभरा दर्शन गर्न जाँदा त्यहीँबाट घर सजाउन फूल पनि लिएर आएकी छु । भाइटीका चाहिँ लगाउँदिन । विदेशमा भइने हुँदा भाइटीका लगाएको धेरै भैसक्यो । मेकअप म्यान सन्तु तामाङसँग भाइटीका लगाउने गरेको थिएँ । यसपालि चाहिँ लगाउँदिन । तिहारमा केटाकेटीले देउसीभैलो खेलेको रमाइलो लाग्छ ।
रेखा थापा
मलाई तिहार एकदमै मनपर्छ । कार्ड खेल्नु मेरो रुचिको कुरा हो । लामो समयपछि दाजु जीवन थापा घर आइपुग्नुभएको छ । उहाँलाई भाइटीका लगाउने घर मोरङको सलकपुर जाँदैछु । मलाई तिहारका परिकारहरू बनाउन र चखाउन निकै मनलाग्छ । यसपटक रमाइलो गर्ने योजना छ ।



नम्रता श्रेष्ठ
घरमा कान्छी भएकीले मेरो काम विभिन्न परिकार खाने र दाजु र दिदीका छोराछोरीसँग खेल्ने मात्र हुन्छ । परिवारसँगै लक्ष्मीपूजा गर्छु । भाइटीकाको दिन राजेशलाई म र दिदी प्रनिता मिलेर टीका लगाउँदैछौं । घरमा देउँसी खेल्न आएकासँग रमाइलो गर्छु । परिवारसँग तास पनि खेल्छु । मलाई सेल पकाउन आउँदैन ।




आर्यन सिग्देल
तीनवर्षदेखि तिहार मनाउने मुड बनाउन सकेको छैन । लक्ष्मीपूजाको दिन घर जान्छु । ममी र म मात्र छौं ।यसपटक सबै सुटिङ छाडेर तिहारकै लागि जोड दिएको छु । ममी रिसाउने हुँदा पनि कामबाट ब्रेक लिएको हुँ ।बहिनी यशोधा तीनवर्षदेखि अष्ट्रेलियामा छिन् । टीका थाप्न पाएको छैन।मेरो लागि सबैभन्दा खल्लो कुरा नै यही हो । तास खेल्दिँन । चिल्लो मननपर्ने हुँदा सेल खाँदिन । देउँसी भैलो पनि मनपर्दैन मलाई त ।


अनुप बराल 
पोखरामा पुगेर लक्ष्मीपूजा मनाउँदैछु । भाइटीकाको दिन बहिनीको हातबाट टीका लगाउने ममात्र भएकोले अलि धेरै उपहार दिनुपर्छ । अन्य दुई भाइको पनि । देउसी भैलो नखेलेको धेरै भइसकेकाले यसपटक भने साथीहरूसँग मिलेर खेल्छु । झिलिमिली हुने हुँदा पोखरा घुम्ने सोच बनाएको छु । आमाले पकाएको सेल हातमा झुन्डाएर खाइन्छ ।



दीपक लिम्बु
विभिन्न कन्सर्टले तिहारमा व्यस्त हुन्छु । श्रीमतीलाई पूजाआजा र बत्ती बाल्नमा सहयोग गर्छु । परिवार नै बसेर लक्ष्मीपूजा गरिन्छ । घरमा देउसी भैलो खेल्न आएकाहरूले भट्टाएको हेरेर आनन्द लिन्छु । मेरो चार दिदी धरानमा भएकाले आफन्त दिदीबाट टीका थाप्छु । उपहार स्वरुप सबैलाई पैसा दिन्छु ।

0 comments:

Post a Comment