बिदा भए 'गडफादर'

'हिजो बेलुकी मात्रै छोरीको बिहे गर्न अमेरिका जान लागेकाले कात्तिक ३० लाई टिकट बुक गरेको बताउनु भएको थियो। राती नै हृदयाघातले यो हालत भएछ,' बुधबार निधन भएका निर्देशक दीपक रायमाझीलाई श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेका कलाकार लव शर्मा निकै भावुक देखिए। रायमाझीले निर्माणाधिन फिल्म 'मेड इन नेपाल'को मुख्य भूमिका दिने वचन दिएको सम्झँदै उनले भने, 'उहाँसँग काम गर्नु यति नै रहेछ।' रायमाझीको टेलिफिल्म 'वंश'मा १६६ भागसम्म काम गर्दा मित्रता गाढा बनेको उनले बताए। ५८ वर्षका रायमाझीको आफ्नै निवास खुमलटारमा मंगलबार राती ११ बजे हृदयाघात भएको उनका भाइ राजुजंग रायमाझीले जानकारी दिए। 'उकुसमुकुम भएपछि बाहिर निस्कन खोज्दा दुई तलामाथिबाट लड्नु भएछ। तुरुन्तै अस्पताल लगे पनि बचाउन सकिएन,' उनले भने। पुराना नेता केशरजंग रायमाझीका जेठा छोरा दीपक राजनीतिदेखि भने टाढा रहेका थिए। नेपाली फिल्म क्षेत्रमा दुई दशकभन्दा बढी समय योगदान पुर्‍याएका निर्देशकलाई श्रद्धाञ्जलि दिन नपाएकोमा कलाकार रवीन्द्र खड्काले दुखेसो पोखे। 'अन्तिम संस्कार गर्न हतार गरिएछ। हामी केहीबेर प्रज्ञा प्रतिष्ठानमा राखी श्रद्धाञ्जलि दिन चाहन्थ्यौं,' रायमाझीकै फिल्म 'भाग्यरेखा'बाट चर्चित बनेका खड्काले भने। पारिवारको चाहना, सामाजिक बाध्यता र सम्पत्तिलाई समेत थाँती राखेर फिल्ममा पूर्ण रुपले समर्पित व्यक्तिको रूपमा निर्देशक नीर शाहले रायमाझीको चर्चा गरे। 'दिवंगत हुने दिनसम्म उहाँ फिल्मकर्ममै सक्रिय रहनुभयो,' रायमाझीको निर्देशनमा 'प्रेयसी' सहित तीन फिल्ममा अभिनय गरेका शाहले भने। रायमाझीले रुसको मस्को युनिभर्सिटीबाट सन् १९८१ मा फिल्म निर्देशनमा स्नातकोत्तर गरेका थिए। रुसमा उनीसँगै अध्ययन गरेका क्यामेराम्यान जावेद शाहले असल सहपाठी र सहकर्मी गुमाएको बताए। ६ वर्षसँगै पढेका शाहले रायमाझीको निर्देशनमा 'भाग्यरेखा', 'युगदेखि युगसम्म' र 'कसम' खिचेका थिए। दुवैले 'भाग्यरेखा'बाट आफ्नो विधामा करिअर सुरु गरेका हुन्। 'कलेज पढ्दा प्राक्टिकल फिल्म सँगै गरेका थियौं। नेपाल फर्किएर पनि सँगै काम थाल्यौं,' जावेदले भने, 'एउटै युनिभर्सिटीमा पढेकाले विचार मिल्थ्यो। काम गर्न सहज हुन्थ्यो।' नयाँ कलाकारलाई मौका दिन चाहने रायमाझीको स्वभावको उनले प्रशंसा गरे। कृषि विकास बैंकको जागिरबाट अवकास पाएका शाहले रायमाझीको नयाँ फिल्म 'मेड इन नेपाल' खिच्ने तयारी गरेको सुनाए। 'अमेरिकाबाट फर्किएपछि काम थालौंला भनेका थिए। अचानक यस्तो भयो,' फिल्ममा सोच मिल्ने सहकर्मीको अभाव खट्किरहने उनको भनाइ छ। पछिल्लो समय रायमाझी 'डेस्टिनेसन काठमाडौं'को निर्माणमा व्यस्त थिए। फिल्मको आधा सुटिङ नेपालमा सकेपछि बाँकी सुटिङ गर्न अस्ट्रेलिया जाने तयारीमा थिए उनी। उनको निर्देशनको फिल्म 'चाँडै आऊ है'को मिक्सिङ भइरहेको छ भने 'लभस्टोरी २०६६' रिलिजको तयारीमा छ। फिल्म क्षेत्रमा उनी धेरै चर्चित कलाकारका 'गड फादर'का रूपमा चिनिन्थे। आफ्नो भान्जा राजेश हमाललाई उनले 'युगदेखि युगसम्म'मा 'ब्रेक' दिएका थिए यही फिल्मबाट कृष्टी मैनाली हिरोइन बनेकी थिइन्। त्यसअघि उनले 'भाग्यरेखा'बाट मौसमी मल्ललाई ब्रेक दिएका थिए। राजेन्द्र खड्गीले पनि 'युगदेखि युगसम्म' फिल्मबाट फाइट निर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले बिना बुढाथोकीलाई 'कसम' र मेलिना मानन्धरलाई 'प्रेयसी'बाट हिरोइन बनाएका हुन्। रमेश उप्रेतीले पनि उनकै फिल्म 'यो मायाले लौन सतायो'बाट अभिनय सुरु गरेका थिए। मीरा केसीलाई 'अंगालो अंगालोमा'मा खेलाएका निर्देशकले पछिल्लो समय अर्जुन कार्कीलाई 'हाम्रो मिलन कहिले हुन्छ'मा हिरो बनाएका थिए। कलाकारका लागि उहाँ एकदमै लक्की निर्देशक हुनुहुन्थ्यो,' रायमाझीको फिल्म 'कसम' र 'यो मायाले लौन सतायो' अभिनय गरेका श्रीकृष्ण श्रेष्ठले सम्भि्कए, 'साह्रै मिलनसार हुनुहुन्थ्यो। फिल्मको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान भएकाले काम गर्न साह्रै सहज थियो।' उनले १५ फिल्म र 'बाजी', 'नमस्ते काठमाडौं', 'सत्यता' लगायत आधा दर्जनजति टेलिसिरियल निर्देशन गरेका थिए।

0 comments:

Post a Comment