अब स्मार्ट घडी- नाडी घडी मै फेसबुक र ट्विटर !

कति बज्यो अहिले? कसैले यस्तो प्रश्न सोध्दा वा आफैलाई जिज्ञासा जाग्दा तपाइँले नाडीमा बाँधेको घडी हेर्नुको साटो गोजीमा भएको मोबाइल हेर्न थाल्नुभएको कति भयो?
पक्कै पनि धेरै नै भइसक्यो। हुनत अहिले पनि नाडी घडी बाँध्नेहरु पूरै हराइसकेको अवस्था हैन। तर उनीहरुले पनि मान्नै पर्छ कि नाडी घडीको स्थान अब स्मार्ट फोनहरुले लिइसकेको छ। यस्तो अवस्थामा आफ्नो पुरानो विरासत थाम्नको लागि घडीले केही अर्को रुप लिनसक्छ त? स्मार्ट फोनलाई चुनौति दिन स्मार्ट घडीको अवधारणा कस्तो होला?एउटा त्यस्तो घडी, जसले समय मात्र हैन, स्मार्ट फोनका अधिकांश काम पनि गर्न सकोस्। इमेल पढ्न सकोस्, टि्वटर वा फेसबुकका स्टायटस हेर्न सकोस्। जुन घडी पुरातन घडी जस्तो सँधै मान्छेको नाडीमा बाँधियोस्।यस्तो कल्पना धेरै अघिदेखि हुन थालेको हो। कल्पना रमाइलो छ। र त, पेब्बल नामको कम्पनीले लौ न हामी यस्तो बनाउँदैछौँ, हामीलाई सहयोग गर्नुपर्‍यो भनी इन्टरनेटको किकस्टार्टरमा चन्दा अभियान चलाउँदा एकै दिनमा १० लाख डलर चन्दा उठ्यो।
खासमा स्मार्ट वाच प्रोजेक्टको विकासका लागि एक लाख डलर चन्दा माग गरिएको थियो। तर एक लाख हैन, दुई लाख हैन, दश लाख पनि हैन, एक करोड साढे दुई लाखभन्दा बढी डलर चन्दा संकलन भयो। किकस्टार्टरको इतिहासमा नै सबैभन्दा सफल चन्दा अभियान पनि बन्यो यो। पेब्बलको स्मार्टवाचलाई आइफोन वा एन्ड्रोइड फोनसँग ब्लुटुथबाट पेयर गर्नुपर्छ। त्यसपछि फोनमा सेटिङ मिलाए अनुसार स्मार्ट वाचबाटै गीत सुन्न, इमेल वा फेसबुक र टि्वटरमा स्टायटसहरु पढ्न सकिन्छ। यसमा टाइप गर्ने कीबोर्ड नहुनाले टाइप गरी स्टायटस लेख्न भने सक्नुहुन्न। कसैले फोन गरेको नोटिफिकेसन पनि घडीमा नै आउँछ। यसलाई युएसबीबाट चार्ज गर्नुपर्छ। एक पटक चार्ज गर्दा सात दिनसम्म चल्ने कम्पनीको दावी छ। यो घडीको अन्तर्राष्ट्रिय बजार मूल्य १५० अमेरिकी डलर रहेको छ। १०० डलरसम्म चन्दा दिनेहरुलाई कम्पनीले सेप्टेम्बर महिनामा बल्ल घडी पठाउने भएकोले यो कस्तो छ, त्यसको समीक्षा भइसकेको छैन। (पेब्बलले अहिले पहिले घोषणा गरेको मितिभन्दा घडी पठाउने मिति केही ढिला हुनसक्ने बताएको छ) शायद पेब्बलको यही सफलताबाट प्रेरित भएर होला, नाम चलेको कम्पनी सोनीले पनि स्मार्ट वाच बजारमा ल्याएको छ। तर कम्पनी र धेरैको आशा विपरित यसले भने बजारमा राम्रो प्रतिक्रिया पाउन सकेको छैन। समीक्षकहरुले यसलाई वाहियात उत्पादन भन्दै आलोचना गरेका छन्। गिज्मोडोका साम बिडलले त सोनीले अहिलेसम्म बनाएका उत्पादन मध्ये सबैभन्दा वाहियात नै यही हुनुपर्छ भन्दै यसलाई नकिन्नसमेत पाठकहरुलाई सुझाव दिन भ्याए। यस्तै नकारात्मक समीक्षाहरु कै कारण १५० अमेरिकी डलर बजार मूल्य तोकिएको यो घडी अचेल अमेजन जस्ता साइटमा सय डलरभन्दा घटीमा बिक्री भइरहेको छ। आखिर सोनीको स्मार्ट वाचले किन मान्छेको मन जित्न सकेन त? भन्नलाई मात्र यो स्मार्ट वाच हो, मोबाइलसँग पेयर नगरेसम्म यो कति पनि स्मार्ट हुँदैन। यसका स्मार्ट फिचर प्रयोग गर्न मोबाइलसँग ब्लुटुथमा निरन्तर सम्पर्क भइरहेको हुनुपर्छ। अब प्रश्न उठ्छ, यदि मोबाइलसँगै सम्पर्क भइरहनुपर्ने हो भने मोबाइलै चलाए भइहाल्यो नि, के खान यो स्मार्ट वाच चलाइरहनुपर्ने? त्यो पनि आँखा दुखाइ दुखाइ साढे एक इञ्चको स्क्रिनमा। सोनीको स्मार्ट वाचमा पावरको लागि मात्र एउटा बटन छ। बाँकी कुरा टच गरेरै चलाउनु पर्छ। एप्सहरु चलाउन स्वाइप गर्नुपर्छ। तर सानो स्क्रिनमा टच र स्वाइप गर्न कम्ता गाह्रो हुन्न। त्यसैगरी यसका सबै एप्सहरु जस्तै क्यालेन्डर, इमेल, फेसबुक, टि्वटर मोबाइलबाट डाउनलोड गरी त्यसमा इन्स्टल गर्नुपर्छ। यसमा कुनै पनि सेटिङ मिलाउन सकिँदैन। सबै काम मोबाइलबाटै गर्नुपर्छ। अनि यसको फेसबुकमा पनि स्टायटस मात्रै हेर्न मिल्छ, कमेन्ट गर्न मिल्दैन। त्यसो हो भने १५० डलर केका लागि तिर्ने त? हो, यही प्रश्न समीक्षकहरुले उठाएका छन्। यही कारण सोनीको यो उत्पादनले फेल खाइसकेको छ। तर यत्तिकैमा स्मार्ट वाचको सम्भावनाको अन्त्य भने हुँदैन। माइक्रोसफ्टले जमानामा नै ट्याब्लेट कम्प्युटर बनाइसकेको थियो। तर मान्छेले रुचाउँदैन होला भनेर बजारमा ल्याएन। पछि एप्पलले यसलाई बजारमा ल्यायो र नाम र दाम दुवै कमायो। शायद स्मार्ट वाचको पनि अहिले बेला भइनसकेको हो कि । साभार नागरिक

0 comments:

Post a Comment