'दुलही'सँगै सुमिनाको घुम्टो उघ्रियो

अभिनेत्री सुमिना घिमिरे 'दुलही' बनेर नेपाली फिल्ममा हिरोइनका रूपमा दर्ता भइन्। शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको यो फिल्म खेल्नुभन्दा करिब दुई वर्षअघि नै उनलाई 'ब्रेक' दिएको थियो, फिल्म 'छबिलाल कन्जुस छैन'ले।रिलिजको हिसाबले पहिलो फिल्म 'दुलही' औसतभन्दा माथिल्लो स्तरको बन्न सकेन। यसमा सुमिनाको अभिनय पनि सामान्य छ। यो फिल्म हेरेर प्रभावित भई सम्झौतापत्र बोकेर उनको ढोका ढकढक्याउन जानुपर्ने कारण देखिँदैन। तर, सुमिनासँग आफूलाई प्रमाणित गराउने अरू विकल्प पनि लाइनमा छन्।कामै नहेरी आठवटा फिल्ममा मुख्य भूमिका पाउने 'भाग्यशाली' हुन् उनी। शुक्रबार पहिलो फिल्मको देशव्यापी रिलिज भइरहँदा उनी 'तिम्रो लागि'मा नाच्न कुलेखानी पुगेकी छन्। 'म कस्तो अभिनय गर्छु भन्ने थाहा नपाए पनि राम्रो व्यवहार र अनुशासनका कारण काम पाएकी हुँ भनेर नजिकका मान्छे सुनाउँछन्। म त कलकार बन्न हिँडेको मान्छे, अफर गर्नेलाई किन गर्नुभएको भनेर किन सोध्नु?' कामको संख्या थपिँदै जाँदा खुसी पनि बढ्दै गएको छ उनको।'स्टार' भन्दा कलाकार बन्नु उनको उद्देश्य हो। 'टाइपकास्ट'मा थन्किन उनी चाहन्नन्। तर, यतिका फिल्ममा काम गर्दा पनि दर्शकले कस्तो भूमिका रुचाउँछन् भन्ने थाहा पाउन नसक्दा सबै फिल्मलाई परीक्षणका रुपमा लिनुपरेको उनी बताउँछिन्। 'कामको मूल्यांकन गर्ने दर्शक हुन्। एउटै फिल्म रिलिज नहुँदै काम गर्नुपर्दा आफ्नो कमजोरी जान्न पाइँदैन,' यसलाई फिल्म रिलिज नहुँदै धेरैमा काम गर्नुको बेफाइदा ठान्छिन् उनी।अब उनी एकपछि अर्को फिल्मको नतिजा थाहा पाउने चरणमा छिन्। 'दुलही'सँगै अरू फिल्मको पनि घुम्टो उघि्रँदैछ। 'गोर्खा पल्टन' पछि हिरोसमेत बनेका इन्डियन आइडल प्रशान्त तामाङसँग सुमिनाको जोडी देखिन्छ 'किन मायामा'मा। असारको दोस्रो साता रिलिज हुने यो फिल्मले 'दुलही'ले बनाएको सोझी युवतीको छवि तोड्ने उनी बताउँछिन्। 'म यो फिल्ममा गायक प्रशान्तको फ्यान हुन्छु। परिवारकी एक्ली छोरी। अलिक चुलबुले चरित्र छ,' उनले भनिन्। प्रदीप श्रेष्ठको निर्देशनमा बनेको फिल्म 'सडक'मा आयुष रिजाल र अयुब केसीजस्ता नयाँ हिरोको साथ उनी देखिन्छिन्। 'सुरुमा नकारात्मक, पछि सच्चिने युवतीकी रूपमा देखिन्छु,' उनले एकै लाइनमा सडकको भूमिका बताइन्।सस्पेन्स थि्रलर फिल्म 'पापी रात'मा विवाहिता युवतीको भूमिका मिलेको छ उनलाई। विराज भट्ट र उनका भाइ कृष्णको प्रेमिका बनेकी छन् उनी फिल्म 'जय होस'मा। कमेडी फिल्म 'छविलाल कञ्जुस छैन'मा चुलबुले चरित्र छ उनको। 'फिल्मजस्तै म पनि हँसिली, खुसिली र रमाइली देखिन्छु,' अडिसनमा आफ्नै सुरले गरेको अभिनयलाई निर्देशक ज्ञानेन्द्र देउजाले रुचाएपछि त्यस्तै भूमिका पाएको उनको भनाइ छ। निर्देशक देउजाले फिल्ममा नयाँ पात्रको आवश्यकता टार्न सुमिनालाई लिएको बताए। 'फिल्मी कार्यक्रम चलाउने एकजनाले सिफारिस गरेका हुन्। लुक्स ठिकै लाग्यो। मेरो फिल्ममा हिराइनको पावरफुल भूमिका नभएकाले सजिलै निर्णय गरेको हुँ,' ज्ञानेन्द्रले भने। काममा 'सिरियस' र पारिश्रमिको हिसाबले समेत सहज लागेर धेरैको रोजाइ बनेको हुनसक्ने उनको अनुमान छ।सुमिनाको जस्तै अनुभव साँचेका हिरो हुन् अर्जुन कार्की। एक्सन फिल्मको लहर चलिरहेका बेला उनले लगातार १५ वटा फिल्म खेलेका थिए। फिल्मको प्रोमो हेरेको भरमा धेरैले उनलाई हिरो बनाए। तर, जब उनका फिल्म रिलिज भए र आशा गरेअनुसार व्यापारिक सफलता हात परेन उनको बजार घट्यो। बाहिरको फिल्म घटेपछि उनी आफ्नै लगानीको फिल्म 'बजार' बनाइरहेका छन्।

0 comments:

Post a Comment