हुबहु सारिएको 'नोटबुक'

मेहनती र इमानदार विद्यार्थीले सम्झिन र पढाइमा अब्बल हुन नोटबुक बनाउँछ। तर, टपरटुइयाँ विद्यार्थीले शिक्षकको गालीबाट जोगिन नोटबुक बनाउँछ। पहिलो खालको विद्यार्थीले बनाएको नोटबुकमा सिर्जना र मेहनत हुन्छ। दोस्रो प्रकारको विद्यार्थी अर्काले लेखेको खुइँखुइँ सार्छ। सार्दा उसले मौलिक नोटबुकमा जे छ, त्यही सार्छ। त्यो नोटबुक बनाउने विद्यार्थीले आफ्नो बाबुको नाम 'राम' लेखेको रहेछ भने नोटबुक सार्नेले पनि त्यही लेख्छ। आफ्नो पिताजीको नामसमेत हेक्का गर्ने सेन्स र सावधानी उसँग हुँदैन। भर्खरै रिलिज भएको नेपाली फिल्म 'नोटबुक' पनि दोस्रो खालको विद्यार्थीको नोटबुक बनेको छ। बस्, सार्न र झारा टार्नमा मग्न। हलिउडले २०१० मा देखाएको फिल्म 'रिमेम्बर मी'बाट फिल्मका अधिकांश थिम र दृश्य सारिएका छन्। उक्त फिल्म नहेरेका दर्शकका लागि केही दृश्य मनोरञ्जक लाग्छन्। नक्कलमा एक चिम्टी पनि अक्कल नपुर्यादएका कारण केही दृश्य खपिनसक्नुका छन्। जस्तो, एउटा क्याफेमा कफी खाँदै अध्ययन गरिरहेकी केटीलाई अपरिचित युवकले 'तपाईं त साह्रै राम्री हुनुहुन्छ' भन्दा पश्चिमा समाजका लागि पाच्य हुनसक्छ। युवतीले भन्न सक्छिन्, 'थ्यांक यु।' तर, नेपालमा त्यही रूपमा कुनै युवक प्रस्तुत भयो भने उसले 'धन्यवाद' होइन, चप्पल पाउनसक्छ। यो दृश्य हुबहु सार्दा दर्शकलाई 'त्यो केटी किन चुप लागिरहेकी छे' भनेर उकुसमुकुस हुन्छ। यस्ता दृश्य अरू पनि छन्, जो नेपाली समाजको सन्दर्भमा असहज र अस्वाभाविक छन्। रक्सी खाएर केटाकै घरमा सुतेकी छोरीलाई उसको बुवाले एक झापड हान्दा घरै
छाडेकीलगायत दृश्य पनि सुहाउँदिला र विश्वसनीय छैनन्। रेमन (जीवन लुइँटेल) ले आफ्नो छातीमा आमाको ट्याटु खोप्ने आइडिया पनि 'रिमेम्बर मी'बाटै लिइएको हो। 'रिमेम्बर मी'लाई सम्झी-सम्झी दृश्यहरू उधारोमा लिइए पनि तिनलाई स्वाभाविक या नेपाली समाजको परिवेश मुताबिक बनाउन भने पूर्णतः बिर्सिएको छ। कम्प्लिट्ली फर्गटेन! नोटबुकका भित्री पानामात्रै होइनन्, गाता पनि सारिएको छ। फिल्म युनिटका सदस्यको परिचय सुरु हुनुअघि नै बिसौनीमा गाडी कुरिरहेकी महिलालाई गुन्डाले गोली हानेर मार्ने सिनबाटै सुरु हुन्छ, सार्ने शृंखला। फिल्मको मुख्य पात्र रेमन व्यापारी बाउको छोरा हो। तर, उसको बुवासँग राम्रो सम्बन्ध हुँदैन। रेमनसँग सोचविचार र लवाइखुवाइ नमिल्ने तर साह्रै मिल्ने साथी छ म्याक (सेन सापकोटा)। केटीका मामलामा 'सुपर फास्ट' म्याक उता प्रहरी अधिकृतकी छोरी समी (नीता ढुंगाना)लाई पट्याउन भने रेमनको सहारा माग्न आउँछ। तर, रेमन आफैं त्यो केटी पट्याउन लालायित हुन्छ। लजालु तथा भलाद्मी लाग्ने रेमनको चरित्रमा आएको नाटकीय परिवर्तनसँगै फिल्मले गति लिन्छ। तर, व्यक्तिको स्वभावमा आउने यस्तो उग्र परिवर्तनको कारण भने दर्शकले जान्न पाउँदैन। रेमनलाई देशको विकासका लागि सोच्ने युवाका रूपमा प्रस्तुत गरे पनि मध्यान्तरअगाडि उसले दर्शकको सद्भाव बटुल्न सक्दैन। गुन्डागर्दी गर्दै हिँड्ने आबारा म्याकले भन्नेबित्तिकै वेश्यागमनका लागि समेत तयार हुने मान्छेको देश चिन्तन कस्तो हुन्छ, कत्रो हुन्छ? फिल्मको समस्या भनेकै मुख्य पात्रको चरित्र स्थापित गर्न नसक्नु हो। कलाकारलाई कथाका पात्रमा ढाल्नु भन्दा पनि कलाकारअनुसार पात्र निर्माण गरिदिनुपर्ने निर्देशक योगेश घिमिरेको बाध्यता पनि स्पष्टै देखिएको छ, किनभने फिल्मभरि रेमन र समीको प्रेममा भिलेन बनेको म्याकको भूमिका निर्वाह गर्ने व्यक्ति निर्माताको आफन्त भएकै कारण अन्त्यमा 'हिरो' बनाइएका छन्। यो आरोप होइन। नेपाली फिल्म जगत्लाई यसबारे भलिभाँती थाहा छ। फेरि नेपाली फिल्म जगत् कलाका सिद्धान्तमा कतै नअटाउने यस्तै खाले रमिता र गतिविधि गर्ने रोगबाट उहिलेदेखि ग्रस्त छ। समीसँग विवाह गर्नका लागि आफ्नै साथीलाई पनि बिहेको निम्तो दिन सक्ने म्याकले अन्त्यमा भने यी दुईको मिलनका लागि 'महत्वपूर्ण' भूमिका निर्वाह गरेको दृश्य नाटकीयताको हद हो। फिल्म प्रदर्शनअघि खुब प्रचार गरिएको ५० वर्षपछिको नेपाल दर्शक तान्नका लागि मात्रै राखिएको जस्तो लाग्छ। बायोडिजेल उत्पादन गर्ने लक्ष्य लिएर हिँडेको रेमनले फिल्मभरि त्यसका लागि ऊर्जा खर्च गर्ने कष्ट उठाउँदैन। बरु समीलाई आफ्नो बनाउन उसले गरेका क्रियाकलापले भविष्यमा बायोडिजेल उद्योग होइन, म्यारिज ब्युरो खोल्नचाहिँ सक्षम हुने देखिन्छ। कोशी किनार र इलामका रमणीय दृश्यलाई भने सुन्दर ढंगले प्रस्तुत गरिएको छ। संगीतकार वसन्त सापकोटाले यो वसन्तमा बहार ल्याउने संगीत सिर्जिएका छन्। फिल्ममा गुन्डाको रामधुलाइ गरेर सानदार रूपमा भित्रिएका सेन सापकोटाको 'डेब्यु' फिल्म क्षेत्रका लागि त्यति शानदार देखिँदैन। जीवन लुइँटेल पात्रसँग नजिकिन सकेका छैनन्। 'नोटबुक'मा नीता ढुंगानाको अभिनय भने टिपोट गर्न लायक छ।

0 comments:

Post a Comment