नयाँ वर्षको दिनमै भ्याइनभ्याइ

कामको तनावबाट केही आराम गर्ने सोचमा रहेका कलाकारहरुले नयाँ वर्ष मस्त मनाए। देशविदेशका कन्सर्ट, पारिवारिक जमघट र नयाँ काम थालेर उनीहरुले नयाँ वर्ष स्वागत गरेका छन्। अभिनेता राजेश हमालले नयाँ वर्ष बेलायतमा रहेका नेपालीहरुसँग मनाएका छन्। हाल बेलायतमा रहेका राजेश शनिबार त्यहीँकै एक सांगीतिक कार्यक्रममा व्यस्त भए। 'नेपालबाहिर पनि नेपालीसँग नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको छ,' उनले अनलाइनमा भने। अर्का अभिनेता धुव्र दत्त र अरु कलाकारहरुलाई समेत उनले भेटघाट गरेका छन्। अभिनेता जीवन लुइँटेल 'नोटबुक' नामक फिल्मको प्रचारमा व्यस्त छन्। 'नयाँ वर्ष मेरो लागि राम्रो हुन्छ भन्ने आशमा छु। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नमा म लाग्नेछु,' उनले भने। पारिवारिक भेटघटमा व्यस्त रहेका उनले नयाँ वर्षको साँझमात्र साथीभाइसँग जमघट गर्न भ्याए। 'व्यस्तताका कारण साथीहरुलाई समय दिन नभ्याएको हुँ। 'रिदम'लगत्तै 'नोटबुक'को चटारोले समय निकाल्न पाइएन,' उनले भने। आउँदो साल छानेरमात्र फिल्म खेल्ने उनले
बताए। 'फिल्ममाथि मेरो भूमिकाको महŒव हेरेर काम गर्ने सोच राखेको छु,' उनले भने। अभिनेत्री नन्दिता केसी र प्रियंका कार्की बलिउड अभिनेत्री राखी सावन्तको कार्यक्रम रद्द भएका कारण निराश भए। दुवै जना राखीकै स्टेजमा नाच्ने पूर्वयोजना थियो। प्रियंकाले शनिबार बेलुका अबेरसम्म साथीहरुसँग रमाइलो गरिन्। 'साथीहरुको जमघट रमाइलो हुने भयो। अहिले हल्का बिमारी परेको महसुस भएको छ,' आराम गरिरहेकी उनले भनिन्। दशरथ रंगशालाको कार्यक्रमको तयारीले अन्य कार्यक्रममा आफू सहभागी नभएको उनले जानकारी गराइन्। 'कार्यक्रम भएदिएको भए राम्रो हुन्थ्यो। तैपनि साथीहरुको जमघटमा व्यस्त हुँदा खासै निराश हुनु परेन,' उनले भनिन्। उनीद्वारा अभिनित 'झोले' र 'मेरो बेस्ट फ्रेन्ड' रिलिज हुने तयारीमा छ। केही दिनमा 'सुन्तली' फिल्मको सुटिङमा उनी बन्दीपुर जाँदैछिन्। 'राम्रो काम गर्न नयाँ वर्ष कुर्नु पर्दैन। हल्का बिरामी परेको हुँदा आज घुमघाम गर्न पाइएन। घरमा पनि परिवारसँग रमाइलो गरिरहेकी छु,' उनले भनिन्। नन्दिता नयाँ वर्षमा बिहानै गणेश मन्दिर पुगिन्। अर्को हप्ता ओमानमा हुने कार्यक्रमको तयारी गरिरहेकी उनी पनि बिसन्चो भएकीले घरमै बसिन्। 'फिल्मका कामहरु खासै नभएकाले घरमै परिवारसँग रमाइलो गरियो। केही मोटाएको महसुस गरेकी छु,' उनले भनिन्। मिस नेपाल इशानी श्रेष्ठ भने बिस्केट जात्राको भोजको तयारीमा व्यस्त भइन्। 'केही दिनपछि मिस वर्ल्डको प्रशिक्षण सुरु हुने भएकोले परिवारलाई समय दिन भ्याउँदिन। त्यसैले बिस्केट जात्राको भोजमा परिवारसँग सहभागी भएकी हुँ,' उनले भनिन्। एक वर्ष मिस नेपालको जिम्मेवारीको काममा व्यस्त रहने उनले शनिबार पनि परिवारसँगै रमाइलो गरिन्। 'ममी अमेरिकादेखि आउनुभएकोले हल्का परिवारमा रमाइलो गर्ने सोचले यसपटक साथीहरुसँग जमघट नगरेकी हुँ,' उनले भनिन्। गायिका इन्दिरा जोशीले नयाँ वर्ष इजरायलमा मनाएकी छिन्। इजरायलको कार्यक्रम सिध्याएलगत्तै उनले राजधानीको केएल टावरको कार्यक्रममा सहभागिता जनाइन्। 'चाडपर्वमा हामी कलाकारहरुलाई भ्याइनभ्याइ हुन्छ। अन्य दिन फुर्सदमा हुन्छौं,' उनले भनिन्। परिवार र साथीसँग जमघट गर्न नपाएकोमा भने उनी दुःखी भइन्। गायिका श्रेया सोताङको नयाँ वर्ष साथीहरुसँग बित्यो। 'दाङको कार्यक्रम रद्द भए पनि साथीको जन्मदिन पार्टीमा सहभागी हुन भ्याएँ,' उनले भनिन्। आफ्ना नयाँ एल्बमको तयारी गरिरहेकी उनले केही दिनमै एल्बम रिलिज गर्दैछिन्। 'पहिलो एल्बममा बाबाले खर्च गरिदिए पनि यसपटक आफैंले खर्च जुटाएको छु। त्यसैले अप्ठ्यारो महसुस गरेकी हुँ,' उनले भनिन्। गायक सन्तोष लामाले भने पोखरामा नयाँ वर्ष मनाएका छन्। 'पत्नीलाई घुमाउन लगेको थिएँ। कार्यक्रममा सहभागी हुनुपर्योउ। केही रमाइलो पनि गरियो,' उनले भने। कलाकार दीपाश्री निरौलाले पशुपतिथ दर्शन गरेर नयाँ वर्ष सुरुवात गरेकी छन्। त्यस्तै उनले समाजसेवाको कामलाई पनि निरन्तरता दिएकी छन्।

0 comments:

Post a Comment