हिन्दी हटाएर नेपाली सिनेमा

बलिउड हेजोमोनीले राजधानीमा नेपाली सिनेमाको रिलिज प्रभावित भइरहँदा पूर्वका केही सिनेमा घरले भने चलिरहेको हिन्दी सिनेमा रिप्लेस गरेर नेपाली सिनेमा 'धर्मा' प्रदर्शन थालेका छन् । बिराटनगरको विराटचोकस्थित सुकुना चलचित्र हल, दमकको नीलकण्ठ, झुम्काको किरण चलचित्र हलले बलिउडको 'तीस मार खाँ' हटाएर 'धर्मा' प्रदर्शन थालेका हुन् । 'दर्शकले मनिषा कोइराला स्टारर धर्मा नै हेर्न चाहेपछि हिन्दी फिल्म लगाएनौं' सुकुना हलका संचालक गणेश खड्काले मेरोसिनेमासँग भने ।
बिराटनगर मनीषाको गृहनगर पनि भएकाले दर्शकले उनको फिल्म हेर्न चाहिरहेका छन् । मनीषा स्वयम पनि केही दिनमा सुकुना हलमा पुग्ने खबरले दर्शकहरु उत्साहित छन् । नीलकण्ठका कृष्ण भट्टराईले पनि दर्शकको मागबमोजिम 'धर्मा' प्रदर्शन थालिएको बताए । राजेश, मनीषा, अनु शाह, संयोग पोखरेल स्टारर यो चलचित्र शुक्रबारदेखि डीसीएन तथा यूएफओ सर्भरजडित दुवै च्यानलका हलहरुमा रिलिज भएको हो । डीसीएनका पूर्वक्षेत्र वितरक सन्जु पराजुलीका अनुसार अन्य हलहरुले पनि दिउँसो नेपाली 'धर्मा' र बेलुका 'तीस मार खाँ' प्रदर्शन गरिरहेको बताए ।'राजधानीमै तीसमार खाँ'ले राम्रो प्रभाव पार्न नसकिरहेको बेला पूर्वमा पनि यसको प्रभाव देखिएन' पराजुलीले मेरोसिनेमासँग भने । चल्दै गरेको हिन्दी सिनेमालाई रिप्लेस गरेर आफू निर्देशित फिल्म चलेपछि यतिबेला निर्देशक दीपेन्द्र के. खनाल खुशि छन् । केही दिनमा उनी हिरोइन कोइरालालाई लिएर पूर्वान्चल प्रमोसनमा निस्कँदैछन् । भारतको दार्जिलिङ र सिक्किममा पनि प्रदर्शनको तयारी भैरहेको छ । यतिबेला 'धर्मा' मध्य र पश्चिम नेपालमा पनि प्रदर्शनरत छ ।

0 comments:

Post a Comment