दार्जिलिङ र सिक्किममा पनि 'धर्मा'

नेपाली भाषी बहुल भारतका दार्जिलिङ र सिक्किममा पनि नेपाली सिनेमा 'धर्मा' प्रदर्शन गरिने भएको छ । ती स्थानमा पब्लिसिटीका लागि निर्माता र निर्देशकसहितको 'धर्मा' टीम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वबाहेक मध्य र पश्चिम नेपालमा रिलिज भएर गुड रिभ्यू बटुलिरहेको मनिषा कोइराला र राजेश हमाल स्टारर यो चलचित्र त्यहाँका दर्शक र प्रदर्शकको माग बमोजिम प्रदर्शन गर्न लागिएको जानकारी निर्देशक दीपेन्द्र के. खनालले मेरोसिनेमालाई दिए ।
'धर्मा' टीमले ती दुइ स्थानमा चलचित्रको पब्लिसिटी पनि गर्नेछ । टीममा निर्देशक खनालसहित निर्मात्री डा. दुर्गा पोखरेल, अभिनेताहरु शंकर र माधव आचार्य, संयोग पोखरेल लगायत छन् । 'त्यहाँका दर्शकको माग बमोजिम सिनेमा प्रदर्शन गर्नेछौं' उनले भने 'प्रवासी दर्शकहरु धर्मा हेर्न आतुर छन् र मनिषा दिदीको क्रेजले उनीहरुको आतुरतामा घिउ थपेको छ ।'
पूर्वी नेपालमा आगामी साता पनि 'धर्मा' रिलिज हुने टुंगो छैन । रिलिज अनिश्चित भएपनि पूर्वी थिएटरमा धर्मा प्रमोसन गरिनेछ । पूर्वमा रिलिजलगत्तै अभिनेत्री मनिषा कोइराला गृहनगर विराटनगर प्रमोसनमा जाने कार्यक्रम छ । यतिबेला 'धर्मा' मध्य र पश्चिम नेपालमा दोस्रो सातामा प्रदर्शन भैरहेको छ । भारतीय सिनेमा सर्भर यूएफओमा पनि 'धर्मा' प्रदर्शनरत छ । गोर्खाल्यान्ड र राष्ट्रियताका लागि लडिरहेका दार्जिलिङ र सिक्किमबासीमा आफ्नो सिनेमाले सकारात्मक प्रभाव पार्ने आशा निर्देशक खनालको छ ।

0 comments:

Post a Comment