नायिका नयाँ कथा पुरानै

खै फिल्म बनाउँ भनेको नयाँ हिरोइन नै पाईएन....खोजे जस्तो हिरोइन नभएर फिल्म सुरुवात गर्न नै पाईएको छैन....मलाई एक जना नयाँ हिरोइन आवश्यकता पर्‍यो लौ न कोही छ भने भन्नुहोला.....!
माथिका भनाईहरू चलचित्र वनाउने सुर कसेका अधिकांश निर्माता तथा निर्देशकको मुखवाट निस्कने विरक्तिपना हो । यस्ता भनाईहरु अहिले अनलाईन सामाजिक संजाल वनेको फेसवुकमा पनि छ्यापछ्याप्ती पाईन्छ । फेसवुकलाई नेपाली चलचित्रका निर्माता निर्देशकले हिरोइन खोज्ने राम्रो माध्यम पनि वनाएका छन् । आखिर नयाँ हिरोइनको खोजी यति व्याप्त रुपमा किन भएको हो भन्ने कुरा न त खोज्नेलाई नै थाहा छ न त सुन्नेलाई नै । सवै किन नयाँ अनुहारको पछाडि दौडिएका होलान् त ? एक चलचित्रमा अभिनय गरीसकेकी नायिका अर्को चलचित्रका लागी पुरानो कोटामा परीसकेकी हुन्छिन् ? के साच्चीकै निर्माताहरु नेपाली चलचित्रमा नायिका नै नभएकाले नयाँ-नयाँ अनुहार खोजीरहेका हुन् त ? यि यस्ता प्रश्नहरूको उत्तर अझै अनुत्तरित नै छ ।आफूले वनाउन लागेको एक नयाँ चलचित्रका लागी निर्माता प्रदिप उदय नयाँ अनुहार खोजीरहेका छन् । नयाँ नायिका नपाएकाले चलचित्र नै सुरु गर्न नपाएको उनको भनाई छ । आखिर उनले नयाँ नायिका किन खोजीरहेका हुन् त ? उनले भने, 'मैले वनाउन लागेको चलचित्र पूर्णतया लभस्टोरी धारको छ ।'यस्ता माया प्रेमका कथावस्तुमा चलचित्र निर्माण गर्दा पुराना कलाकार राखे दर्शकले ति कलाकारमा त्यो पात्रमा आफूलाई पाउन नसक्ने प्रदिपको भनाई छ ।

नयाँ अनुहरामा दर्शकले आफूलाई पाउने भएकाले लभस्टोरी धारका चलचित्रमा नयाँ कलाकार आवश्यक परेको हो । प्रदिपको भनाईलाई आफ्नै ठाँउमा थाति राखेर हेर्ने हो भने अधिकांशको रोजाईमा नयाँ नायिका मात्र परेका छन् । एउटा चलचत्रिमा अभिनय गरीसकेपछि कोही नायिका पुरानो भएर घरमा थन्किएर वस्नु परेको समयमा निर्माताहरु भने नयाँ-नयाँ अनुहारका लागी चिल्लाईरहेका छन् ।नयाँ नायिका लिएका चलचित्रका केही समय कुरा गरौ । चलचित्र 'नाई नभन्नु ल' मा विकास आचार्यले कथाले मागेको भन्दै ऋचा सिंह ठकुरीलाई नायिकाको रुपमा लिए । तर यो चलचित्रमा नयाँ अनुहार नभएको भए चलचित्रलाई के फरक पथ्र्यो भन्ने कुरालाई न त चलचित्रले पुष्टि गर्न सकेको छ न त निर्देशकले नै पुष्टि गर्न सके । चलचित्र सिलसिलामा नायिका सोनीया केसी नव नायिकाको रुपमा भित्रिईन् । तर पनि उनको कारणले चलचित्रमा त्यस्तो केही पृथकता भने देखिएन । नव नायिकाले अभिनय गरेका अधिकांश चलचित्र प्रदर्शनको क्रममा छन् यसकारण पनि उनिहरुको भविष्य र आवश्यकताको वारेमा यसै भनिहाल्ने अवस्था छैन । तर निर्देशक तथा निर्माताहरु चलचित्रमा नयाँ अनुहारका लागी भौतारी रहेका छन् । नेपाली चलचित्रमा नायिकालाई खासै महत्व दिएको पाईदैन । चलचित्रमा को नायिका छिन् भन्दा पनि नायक को छन् भन्ने कुरालाई महत्व दिईन्छ । यसकारण पनि निर्माताहरु नायिका को राख्ने भन्नेमा खासै भेउ राख्दैनन् ।

सायद यही कारणले पनि हुनसक्छ नव नायिकाको खोजी भएको । चलचित्र च्यालेन्ज निर्माण गर्नु अघि निर्देशक श्याम भट्टराईले नायिकाको खुवै खोजी गरे । नयाँ नायिका नपाई चलचित्र नै निर्माण नगर्ने उनको उद्घोष थियो । सय भन्दा वढि युवतीको अडिसन पनि लिए उनले । अन्त्यमा उनको चलचित्रमा नयाँ अनुहार खुश्वु न्यौपाने भित्रिईन् । आखिर किन उनलाई पनि नयाँ नायिका नभई भएन त ? श्यामले खुलेर भने, 'नेपालमा कुनै पनि नायिका हरेक कुरामा फिट छैनन् । सवैजना सम्वन्ध र निकटताको आधारमा चलचित्र खेलीरहेका छन् । कसैले पनि यो क्षेत्रलाई गम्भिरताका साथ लिएका छैनन् ।''यसरी नायिकामा आवश्यक पर्ने सवै खुवी नपाउदा नयाँलाई खोज्नु परेको हो', श्यामले थपे । श्यामले त यो क्षेत्रमा आउने अधिकांश नायिकामा धेरै कमजोरी देखेका रहेछन् । यो प्रसङ्गलाई उक्काउदै गर्दा एउटा प्रश्न पनि जन्मन्छ । किन चलचित्र वनाउनेहरु नयाँ नायकमा रिक्स मोल्न चाहदैनन् ? नयाँ नायकको अभिनय भएको चलचित्रमा एक न एक चलेका नायकको टाउको विकाईएको पाईन्छ । तर चलचित्र वनाउनेहरु नायिकामा भने किन रिक्स लिन खासै डराउदैनन् त ?

चलचित्र पलपलमा पछि किन किन निर्देशन गर्न लागेका उकेश दाहाल पनि नयाँ अनुहार खोजीरहेका छन् । उनी भन्छन्, 'मेरो कथामा नव नायिका नभै हुदैन ।पुराना नायिका राख्दा दर्शकले उनिहरुलाई अन्य चलचित्रमा देखिसकेका हुन्छन् जसले गर्दा नयाँ अनुहार खोजीरहेको छु ।'यसरी सवै जना एक चलचित्रमा देखिएकी नायिका पुरानो भई भनेर नयाँ खोजीरहेका छन् ।
कारण स्पष्ट छ । यहाँ नायकवाद हावी छ । नायिकाको टाउको विक्दैन भन्ने सोच छ । जसका कारण नायक चलेको राखे नायिका जो राखीदिए पनि हुन्छ भन्ने सोच वोकेका चलचित्र निर्माता तथा निर्देशक छन् । यसकारण पनि नायिकाहरु नयाँ नयाँ प्रयोग भईरहेका छन् । अर्कोतिर नव नायिकामा शारीरीक शोषणका कुरा वारम्वार बाहिर आएको पाईन्छ र यो कुरा असत्य पनि होईन भन्ने कुरा धेरै पटक चलचित्र क्षेत्रमा देखिएका यस्ता घटनाले पुष्टि गरीसकेको छ ।निर्माता निर्देशकले नयाँ नयाँ नायिकाको खोजी गर्नुको पछाडि कत्तै यो कारण पनि होईन भनेर शंका गर्न सकिन्छ । खैर जेहोस् नयाँ अनुहारको ह्रिवम पिट्ने अधिकांश चलचित्रका निर्माणकर्ताहरुले ति नायिकालाई सुहाउदो कथा वनाउन सकेका छैनन् । ति नायीकालाई उहि पुरानो कथामा अभिनय गराउने हो भने नयाँ नायिका मात्र खोजेर के गर्नु ?अर्कोतिर यि अधिकांश नयाँ अनुहारहरु आफूभन्दा पाका उमेरका कलाकारसग सुहाओस् नसुहाओस् अभिनय गर्न विवश छन् । आफ्ना दाजु वा वावु समान नायकको प्रेमिका वनेर अभिनय गर्न वाध्य छन् नव नायिकाहरु । सधैजसो यसरी नै र यस्तै चलचित्र वनाउने हो भने नयाँ नायिका चाहियो भनेर किन कराउनु ? यसैले नयाँ नायिकाको खोजी गरेर चलचित्रको सस्तो पब्लिसीटी गर्नु भन्दा उनीहरुको खोजीको औचित्य पुष्टि गर्न तर्फ लाग्नु जरुरी छ ।खोजी नव नायीकाको मात्र होईन कथाको पनि गरौ । अनि मात्र नयाँ नायीका खोजीको अर्थ हुन्छ । पुरानो रक्सिलाई नयाँ वोतलमा हालेर पिलाउनुको अर्थ के? वोतल पुरानो भएतापनि रक्सि नयाँ वनाउनु आजको आवश्यकता हो । किनकी खाने रक्सि हो वोतल होईन ।

0 comments:

Post a Comment