एकैपटक चार सिनेमा

अघिल्लो शुक्रबार 'गुडफ्राइडे' हुन नसकेको नेपाली सिनेमामा आउँदो शुक्रबार अर्थात अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा एकैसाथ चार चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदैछन् । डीसीएनले वितरण गर्ने 'एकदिन एकरात' र क्यूव च्यानलका 'घातक', 'अचानक' र 'कन्यादान' रजतपटमा उत्रने त छन् तर रिलिज प्रभावित भएर हल पाउन मुस्किल भएको बेलामा रिलिज हुने यी सिनेमालाई कलेक्सनमा मुस्किल पर्नेछ । यी चार चलचित्र रिलिज हुने एउटै शर्त छ -अहिले प्रदर्शन भैरहेका सिनेमाले होल्डओभर कायम गर्न सकेनन् भने ।

अघिल्लो साता बलिउड हेजोमोनीले तर्सिएका 'एकदिन एकरात' र 'अचानक'को धकेलिएको रिलिजले यो साता यसरी चार सिनेमा सार्वजनिक हुन लागेका हुन् । अंग्रेजी नयाँ वर्षमा फिल्म रिलिज गर्न चाहने निर्माताको मनस्थितीले पनि यस्तो अवस्था भएको हो । क्यूवका तीन सिनेमाले नयाँ कथा, नयाँ मेकिङका साथ बनेको 'एकदिन एकरात'सँग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिती छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको थ्रीलर जनरको यो चलचित्रमा गतवर्षका उत्कृष्ट नायक अनुप बराल, कर्म, दिया मास्के, विनय श्रेष्ठलगायतले अभिनय गरेका छन् । 'सुपरन्याचुरल' यसको खास विशेषता हो ।निर्देशकका रुपमा रामजी लामिछाने डेब्यु चलचित्र 'घातक' थ्रीलर श्रेणीको चलचित्र हो जहाँ रमित ढुंगानाले नेगेटिभ भूमिका खेलेका छन् । रमितसहित सुमन सिँह, झरना थापा, जीवन लुइँटेल, प्रेरणा शर्मा, रवि बस्नेत रहेको मल्टिस्टारर'घातक'लाई प्रभुशमशेर राणाले निर्माण गरेका हुन् । देशभक्त खनालद्धारा निर्देशित पाँचौ चलचित्र 'अचानक'मा निखिल उप्रेती, जेसिका खड्का, दीलिप रायमाझी, गौरी मल्ल, धीरेन शाक्य, सिर्जना बस्नेत छन् । सोसल ड्रामा श्रेणीको चलचित्र तीनवर्ष अगाडि बनेको थियो ।शोभित बस्नेत निर्देशित बीसौं सिनेमा 'कन्यादान'ले मोफसलमा यसअघि औषत रिभ्यू बटुलेको थियो । प्रकाश थापाको 'कन्यादान'को रिमेक गरेका शोभितले यो चलचित्रमा विराज भट्ट, अर्जुन भट्ट, जयकिसन बस्नेत, कुशल थापा, कन्चन रेग्मी, रन्जना शर्मालाई उतारेका छन् । फर्मुला श्रेणीको यो चलचित्र विहेको कथामा आधारित छ । रिलिज हुने दिन नजिकिएपछि 'एकदिन एकरात'बाहेकले पब्लिसिटीमा जोड दिएका छैनन् । समीक्षकहरु भन्छन् 'एउटै शैलीका फर्मुला सिनेमा धमाधम फ्लप भैरहेको बेला यी सिनेमालाई पनि सफलता हात लाग्न कठिन छ ।'

0 comments:

Post a Comment