निरूता नै अगाडी

आज तीजको दिन नायिकाहरु नाचगान गरी तथा ब्रत बसेर मनाउँदै छन् । समय परिवर्तन भएको छ । पहिला पहिला सासुले बुहारीलाई दिएको पिडा माइतीमा आएर तीजका गीत मार्फत पोख्ने तथा बाबाले दाइजोमा दिएको शिरफुलको कुरा गर्ने चलन थियो । शिरमा शिरफुल लगाउने कुरा गर्ने महिलाहरू अहिले 'झन् माथि सार्‍यो झन् तल झर्छ हाई मेरो फरिया…' भन्दै गाउन थालेका छन् । नारीहरु फरक रहन सहनमा हिड्न थालेका छन् । तीज मनाउने शैली पनि परिवर्तन भएको छ । तर पनि नारी हिंसा भने रोकीएको छैन ।समाजमा नारी हिंसा नरोकीएकै कारण केही चलचित्रहरु नारी संबेदनशिलतामा आधारित रहेर बनिरहेका छन् । खासगरी नारीको भावनालाई सहर्ष स्पर्ष गर्न सक्ने चलचित्र बनाउने भएरै होला निर्देशक शिब रेग्मीलाई रुबाउने चलचित्र बनाउने निर्देशकको रुपमा पनि चिनिन्छ । धेरै नारी संबेदनामा आधारित चलचित्र निर्देशन गरेका निर्देशक रेग्मीको मूल्याङ्कनमा यस्ता चलचित्रमा कथामा डुबेर काम गर्ने नायिकाहरुमा निरुता सिंह सबै भन्दा अगाडी परेकी छन् ।आफुले कथा बस्तुका आधारमा कलाकार छनौट गर्ने बताउदै रेग्मीले अहिले सम्म आफुले काम गरेका नायिकाहरुमा निरुताले नारी संबेदना बोकेका चलचित्रमा उत्कृष्ट अभिनय गर्न सक्ने बताएका छन् । रेग्मीले दोस्रो नम्बरमा भने नायिकाद्धय झरना थापा र गरिमा पन्तलाई राखेका छन् । चल्तीका नायिका भए पनि रेखा थापाले चुलबुले भुमिकामा जत्तिकै नारीको भावना बोकेको चलचित्रमा काम गर्न नसक्ने उनको ठहर छ । तर पनि रेखाको अभिनय उत्कृष्ट हुने गरेको उनले बताए । नायिका करिष्मा मानन्धर र अभिनेत्री मिथिला शर्मालाई पनि उनले उत्कृष्ट अभिनय गर्ने कलाकार भनेका छन् ।नयाँ नायिकाहरुको मूल्याङ्कन गर्ने समय आइ नसकेको बताउने रेग्मीले पुराना नायिकाहरुले पनि आफ्नो भुमिकामा अझै मेहनत गर्नु पर्ने बताएका छन् । कति नायिकाले टाइट सेडुयलमा काम गर्दा मेहनत गर्न नभ्याउने बताउदै निर्देशक रेग्मीले उनिहरुले मेहनत गर्ने हो भने अझै राम्रो काम गर्न सक्ने बताए । तीजको अबसरमा सम्पुर्ण महिला चलचित्रकर्मीहरुका साथै सम्पुणै हिन्दु नारीहरुलाई शुभकामना ब्यक्त गर्दै रेग्मीले रमाइलोसँग तीज मनाउन आग्रह गरेका छन् ।

श्रीमतीको लागी दिलिपको ब्रत

तीजको दिनमा बिबाहिता महिलाहरुले निराहर ब्रत बसी आफ्नो श्रीमानको सु-स्वास्थ्य र दिर्घायुको कामना गरिरहदा एक जना नायकले श्रीमतीका लागी ब्रत बसेको बताएका छन् ।नायक दिलिप रायमाझीले आफ्नी श्रीमती मञ्जु रायमाझीको सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दै आज ब्रत बसेको जानकारी दिए ।'मिस यू' हिरोले आज सम्म आफ्नो लागी श्रीमती आफ्ना लागी धेरै पटक ब्रत बसेको बताउदै आज उनको लागी ब्रत बस्ने जानकारी दिएका हुन् । आजसम्म ब्रत नबसेको बताउदै उनले शरीरले नथेगे साँझ मात्र खाना खाने बताए ।तीजमा श्रीमतीले आफुसंग कुनै डिमाण्ड नगरेको बताउदै उनले श्रीमान श्रीमतीसँगै तीज मनाईरहेको बताए । आजको दिन पनि माईत नगएको बताउँदै दिलिपले भने,'उनको दाई आज बिदेशबाट आउदै हुनुहुन्छ बेलुका थप रमाइलो हुन्छ ।' आज पनि श्रीमती आफ्ना लागी ब्रत बसेको बताउदै दिलिपले तीजको अवसरमा श्रीमतीलाई थप खुशी पार्न ब्रत बसेको बताए ।नाच्नमा नं १ मानिएका नायक दिलिपले तीजको अवसरमा श्रीमतीसँग नाच्ने ननाच्ने बारे भने केही भन्न चाहेनन् । 'रमाइलो पक्का हुनेछ', उनको घुमाउरो जवाफ थियो । तीजमा ब्रत बस्ने बताएका दिलिपले पञ्चमीको पुजा लगाउने की नलगाउने भन्ने प्रश्नमा भने हाँसेर टारे । हेरै यि नायकले सुरु गरेको ब्रत आज दिनभर रहन्छ की मध्य दिन पछि तोडिन्छ ।

ह्याप्पी बर्थ डे राज

सन् २००७ मा चलचित्र 'पर्खिबसें' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक राजबल्लभ कोईरालाको आज तीजको दिन जन्मदिन परेको छ । पिता तिर्थराज कोईराला र माता रमा कोईरालाको कोखबाट जेठो छोरोको रूपमा फिल्म नगरी पोखराको गैर्‍हापाटनमा जन्मेका राजले आज आफ्नो ३० औं जन्मदिन मनाउँदै छन् ।ललितपुरको सानेपामा बस्दै आएका राजले हिजो बेलुकानै केही साथीहरूसँग बर्थ डे सेलिब्रेट गरेको भए पनि आज भने उनले जन्मदिन मनाउन केहि योजना बनाएका छैनन् । स्नातकोत्तरको परिक्षा नजिकिंदै गरेकाले पनि उनले कुनै स्पेसल कार्यक्रम नराखेको हुनसक्छ । पछिल्लो समयका व्यस्त नायक मध्येका एक राज अहिले सुटिङ भन्दा पनि अध्ययनमा व्यस्त भएको बताउँछन् । धेरै चलचित्रको अफर आए पनि अब भने छानेर काम गर्ने बताउँदै राजले अबको प्रोजेक्ट नारायण पुरीको चलचित्र 'ए फर अमेरिका' रहेको बताए ।पोखराको पोखरामा एफएममा काम गर्दागर्दै सुपर एक्टिङ कम्पिटिसनमा भाग लिएपछि उनलाई चलचित्र क्षेत्रमा प्रवेश गर्न सहज भएको हो । उनी नेपालको एक मात्र फिल्म कलेज 'कलेज अफ फिल्म स्टडिज' का पहिलो बर्षका बिद्यार्थी हुन् । उनले सो कलेजबाट स्नातक सम्मको अध्ययन गरेका छन् । पढेर चलचित्र क्षेत्रमा आउनु पर्छ भन्ने कुराको उदाहरणको रूपमा राज उदाहरणिय पात्र हुन् । राम्रो अभिनय क्षमता भएका राजले अहिले सम्म नेफ्टा अवार्डमा बेस्ट नवनायक, डि सिने अवार्ड र बक्स अफिस अवार्डमा बेस्ट खलपात्र गरी तीन अवार्ड हात पारेका छन् ।राजले अभिनय गरेको चलचित्र 'पल' राजधानीका सिनेमा घरहरूमा चलिरहेको छ । यसै चलचित्रको सफलतासँगै राजको पनि सफताको कामना गर्दै द नेपाल~रोमानिया उनको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ ।

इजरायलमा सायदको शुक्रबार प्रदर्शन हुने

नेपाली कथानक चलचित्र 'सायद' ले अन्तराष्ट्रिय प्रदर्शनको दौडाहा थालेको छ । चलचित्र 'सायद' टोली बुधबार इजरायल उडेको छ । अभिनेत्री झरना थापा, अभिनेता तथा निर्माता सुनिल रावल तथा विदेश प्रदर्शन संयोजक मोहन डोटेल टोलीमा छन् । मध्यपूर्वस्थित इजरायलको तेलअविवमा आगामी शुक्रबार आयोजना हुने तीज कार्यक्रमका बीच 'सायद' प्रदर्शन गरिनेछ ।थुप्रै नेपालीहरु बसोबास गर्ने तेलअविवलगत्तै 'सायद'ले अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका मुलुकमा प्रदर्शन गर्ने निर्माता रावलले बताए । सोसल ड्रामा श्रेणीको चलचित्रलाई विदेशपछि स्वदेशमा रिलिज गरिनेछ । निर्माण सम्पन्न भैसकेको चलचित्रलाई केही साताअघि परिक्षण प्रदर्शन गरिएको थियो ।झरना, सुनिल, संयम पुरी, विल्सनविक्रम राईलगायतले अभिनय गरेको सोसल ड्रामा श्रेणीको चलचित्रलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् ।

प्रशान्तद्वारा रेडकार्पेट प्रीमियर बहिष्कार

अन्ततः 'किन मायामा' र 'अँगालो यो मायाको' बीचको लडाइँ प्रीमियरमा पनि देखापरेको छ । आइतबार सिक्किममा गरिएको आफू अभिनित 'किन मायामा'को प्रीमियरलाई अभिनेता तथा गायक प्रशान्त तामाङले बहिष्कार गरेका छन् । प्रदर्शन नहुँदै विवादमा परेको चलचित्रको रेडकार्पेट जमघटलाई छाडेर प्रीमियरको एकदिन अघि प्रशान्त लन्डनको कन्सर्टमा उडे ।स्रोतका अनुसार प्रशान्तलाई विशिष्ठ अतिथिका रुपमा डाकिएपनि उनी कार्यक्रमको एकदिनअघि नै बेलायत गएका हुन् । काठमाडौंबाट हिरोइन सुमिना घिमिरेमात्र प्रीमियरमा पुगेकी थिइन् । अर्का अभिनेता उत्तम प्रधानपनि प्रीमियरमा थिए । निर्माता निर्देशक र प्रशान्तबीच निर्माणकै क्रममा असमझदारी पैदा भएको खबर मिडियामा प्रकाशित भएका थिए । एक टेलिभिजन अन्तवार्तामा प्रशान्तले आफूलाई 'किन मायामा' भन्दा 'अँगालो यो मायाको' मनपर्ने बताएका थिए ।प्रशान्त प्रीमियरमा नजानुमा उक्त विवाद कारण रहेको बताइन्छ । विवादकै कारण पूर्व इन्डियन आइडल नेपाल पब्लिसिटीमा पनि सहभागि भएनन् ।'गोर्खापल्टन'बाट अभिनेताको छवि बनाएका प्रशान्तका पछिल्ला दुवै सिनेमा फ्लप भएपछि उनी प्रीमियरमा नगएका पनि हुनसक्छन् । यद्यपी स्रोत भन्छ -'आन्तरिक विवादले प्रशान्तलाई त्यता जान मन लागेन ।' उक्त प्रीमियरमा गोर्खाल्यान्ड राज्यका प्रशासकसहित विशिष्ठ अतिथि थिए । प्रशान्त अनुपस्थित कार्यक्रममा हिरोइनलाई सम्मान गरियो । गान्तोकको वज्र थिएटरमा प्रीमियर गरिएको थियो ।

नम्रता आउट, केकी इन !

कलाकार छनौट गर्छन् कलाकार । निर्माता र निर्देशक होइन । कलाकारको डिमान्ड र सुझावसामु निर्माता र निर्देशक निरिह बन्नु अहिलेको यथार्थ हो । विवादास्पद चलचित्र 'ब्लाकमेल'पछि यस्तै भएको छ निर्माण सुरु हुन लागेको चलचित्र 'ए फर अमेरिका'मा । हिरोइन रेखा थापाको डिमान्डमा निर्देशक नारायण पुरीले एउटी हिरोइनलाई निकालेर अर्की हिरोइन अनुबन्धित गरेका छन् ।सुरुमा निर्देशक पुरी नम्रता श्रेष्ठलाई लिन चाहन्थे तर स्रोतका अनुसार फिल्ममा प्रमुख भूमिकामा रहेकी रेखाले नम्रता हुँदैन भनेपछि उनलाई हटाएर पुरीले केकी अधिकारीलाई अनुबन्धित गरेका छन् । एकवर्षअघि पुरीले नम्रतालाई एप्रोच गरेका थिए । अहिले उनै नम्रताको ठाउँमा केकीलाई लिइएको छ । 'नारायणजीले एकवर्षअघि मलाई एप्रोच गर्नुभएको थियो' नम्रताले कुरालाई पुष्टि गरिन् । केही महिनाअघिसम्म निर्देशक पुरी रेखा र नम्रतालाई लिएर फिल्म सुटिङ गर्ने पुरा तयारीमा थिए ।रेखा र नम्रताबीचको ब्यक्तित्वको 'मौन विकर्षण' 'ए फर अमेरिका'मा देखियो । नम्रतालाई रिप्लेस गरेर अनुबन्धित भएकी केकीले चलचित्रमा धनी बाउकी छोरीको भूमिका निर्वाह गर्नेछिन् । जहाँ रेखा सेलिव्रेटीको भूमिकामा हुनेछिन् । कलाकार आउट र इनको खेल मात्र होइन चलचित्रको नाम पनि परिवर्तन गरिएको हो । सुरुमा यो फिल्मलाई 'ए फर एप्पल =<अमेरिका' नामाकरण गरिएको थियो । हिकमत मियाँले निर्माण गर्ने चलचित्रले अमेरिकामा रहेका आप्रवासी नेपालीहरुबारे चित्रण गरेको छ ।

बाबुरामले हेरेपछि सचाइयो स्क्रीप्ट !

बाबुराम भट्टराई चलचित्रका दर्शकमात्र होइन रहेछन् । उनी चलचित्रको प्रीप्रोडक्सनमा पनि सहभागि भएका रहेछन् । रिलिज हुन लागेको चलचित्र 'किसान'को स्क्रीप्ट सम्पादन र संगीत सुनेर सुझाव दिने काम गरेका रहेछन् नवनिर्वाचित प्रधानमन्त्रीले । निर्देशक तथा निर्माता बिमल पौडेलले डा. भट्टराईले आफ्नो चलचित्रको स्क्रीप्ट सम्पादन गरेर पुनर्लेखनका लागि सुझाव दिएको बताए । स्क्रीप्ट भने स्वयम बिमलले लेखेका हुन् । झन्डै एकसाता लगाएर बाबुरामले किसानको स्क्रीप्टलाई काँटछाँट गरेका थिए । चलचित्र 'किसान'को प्रतिनिधि पात्रमा महिला र पुरुषलाई समान ढंगले सहभागि गराउनुपर्ने, मुख्य पात्रका रुपमा रहेका राजेश हमालको कृषि क्रान्तिको अवधारणामा जोड दिनुपर्ने र माक्स्रवादी सिनेमा सौन्दर्य समावेश गर्नुपर्ने तीन मुख्य बुँदा बाबुरामको सुझावपछि थपिएको पौडेलले मेरोसिनेमालाई बताए । 'उहाँको सम्पादनपछि स्क्रीप्टको ढाँचा नै परिवर्तन भयो' पौडेलले भने ।चेतन सापकोटाले भरेको चलचित्रको संगीतलाई पनि बाबुरामले चाख मानेर सुनेपछि राम्रो रहेको प्रतिक्रीया दिएका थिए । 'गीत सुनेर उहाँले कथासँग मेल खान्छ भन्नुभएको थियो' निर्देशक पौडेलले भने । चलचित्रको पटकथा र संवाद चाहिँ चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले लेखेका हुन् । राजेश हमाल, नीर शाह, राजेश ढुंगाना, नन्दिता केसी आदिले अभिनय गरेको चलचित्र बैशाखमा रिलिज हुनेछ । विहिबारदेखि चलचित्रलाई सिन्धुपाल्चोकको चौताराबाट तीनदिने घुम्ती सिनेमाका रुपमा प्रदर्शन गरिँदैछ ।