हिमाल बचाउन हिरोइन

हिमालहरु पग्लिएको खबरले दुःखी हुने नेपालीहरु धेरै छन् । कलिउड पनि यसबाट अछुतो रहने कुरै भएन । अहिले सात समुन्द्रपारको मुलुक अमेरिकामा रहेकी बरिष्ठ अभिनेत्री गौरी मल्ल यो कुराबाट निकै आहत छिन् । गौरी यतिबेला 'सेभ द हिमालयज' नारा लगाउँदै हिमाल जोगाउन राष्ट्रसंघलाई आग्रह गर्दैछिन् । विहिबार न्यूयोर्कको म्यानहटनबाट सुरु 'हिमाल बचाऔं' अभियानको नेतृत्व गर्दै गौरी यतिबेला अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न लागिपरेकी छिन् ।

हिरोइन गौरीलाई साथ दिएका छन् कलाकार प्रेमराजा महत, गायक यम बराल, रोशन गुरुङ, जगदिश समालदेखि बीसौं पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही आप्पा शेर्पासम्मले । विहिबार राष्ट्रसंघको साधारण सभा भैरहँदा गौरीको नेतृत्वमा त्यहाँस्थित नेपालीहरुले राष्ट्रसंघ मुख्यालय बाहिर प्लेकार्ड प्रदर्शन गर्दै नाराहरु लगाए । 'हिमालको अस्तित्व खतरामा छ' गौरीले भनेकी छिन् 'नेपालजस्ता अतिकम विकसित मुलुकहरु ग्लोवल वामिङको मारमा छन् बेलैमा सुनुवाइ हुनुपर् यो ।'

वातावरण अभियानमा हिरोइन लागेपछि अन्य नेपालीहरु पनि उत्साहित छन् । 'साँच्चिकै गौरी दिदी हिरोइन मात्र नभएर सामाजिक अभियन्ता पनि हुनुहुन्छ' अमेरिकास्थित पत्रकार विष्णु पौडेल भन्छन् 'गौरी दिदीको सकि्रयताले अरुलाई पनि उत्साह थपेको छ ।' सो अवसरमा बोल्दै गौरीले आफूहरुको माग सुनुवाइ नभएसम्म अभियान नरोकिने बताएकी थिइन् ।

भागेर काठमाण्डौ फर्कदैछिन् रेखा

झण्डै २० दिन अघि दुई चलचित्रको सुटिङ्गका लागि पोखरा गएकी नायिका रेखा थापा भागेर काठमाण्डौ फर्कने तयारी गरिरहेकी छिन् । आफ्नो पाँचौ प्रोजेक्ट को चलचित्र 'कसले चोर्‍यो मेरो मन' रिलिजको तयारीमा जुटेको अबस्थामा उनले विभिन्न मिडियालाई अन्तवार्ता दिनु पर्ने भएकाले सुटिङ युनिटको स्वीकृति बेगर उनी काठमाण्डौ फर्किन लागेकी हुन । 'कसले चोर्‍यो मेरो मन' यहिँ असोज २९ गते देखि देश भर प्रदर्शनमा आउदै छ । त्यो फिल्ममा रेखाले राजकुमारीको भूमिकामा आफुलाई प्रस्तुत गरेकी छिन् ।

दुई चलचित्र मध्ये खुशीको सुटिङ्ग आईतबार प्याकअप भएपछी उनी अहिले जलजलाको सुटिङ्गमा ब्यस्त छिन् । पोखराको जंगलमा बन्दुक पडकाउदै सुटिङ्गमा ब्यस्त रहेकी नायिका थापालाई काठमाण्डौ फर्किन निकै हतार भएको छ । फोनमा आफ्नो रहस्य खोल्दै उनले भनिन् 'म भागेर आउदैछु'
यस्तै सुटिङबाट भागेर राजधानी फर्किन लागेकी रेखाले काठमाण्डौ आएपछी मालतीको भट्टीमा राति-राति रक्सी बेच्ने कार्याक्रम पनि छ । त्यो रक्सी बेचाई बास्तविक नभएर चलचित्र 'मालतीको भट्टी' मा उनले निर्वाह गर्नु पर्ने भूमिका हो । यस्तै शिवजी लामिछानेले निर्देशन गरेको चलचित्र 'जलजला'मा रेखाले छापामार युवतीको भूमिका निर्वाह गरेकी छिन् । सुटिङ भईरहेको अवस्थामा भागेर काठमाण्डौ आउन लागेकी रेखा केही दिनको काठमाण्डौ बसाई पछि पुन पोखरा फर्कने छिन् ।

असोज २२ गते 'झाक्री'को पालो

सत्य घटनामा आधारित तर फरक बिषयबस्तुमा निर्माणमा गरिएको चलचित्र 'झाक्री' यहिँ आउदो असोज २२ गते देखि प्रदर्शनमा आउने करिब पक्का भएको छ ।एस फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्र २२ गते देखि गरिने सो चलचित्रका प्रस्तुतकर्ता समेत रहेका नायक अमृत लामाले फिल्मीखबरलाई जानकारी दिए । अन्तराष्ट्रिय स्तरमा समेत ख्याती कमाएको यस चलचित्रलाई किशोर ढकालले निर्देशन गरेका हुन ।
गएको भदौ १४ गते चलचित्र बिकास बोर्डले यो चलचित्रलाई विशेष चलचित्र ठर्‍याउदै अवार्ड समेत दिएको थियो । तीन बर्षअघि निर्माण गरिए पनि यो चलचित्रले भर्खर मात्र प्रदर्शनको पालो पाउन लागेको हो । झाक्रीहरूको यथार्त कथालाई आधार बनाएर निर्माण गरिएको यो चलचित्र २ घण्टा १० मिनेटको रहेको छ । चलचित्रमा अमृत लामा, जयनन्द लामा, बसुन्धरा भुषाल, सम्झना खड्का अर्पणा सिहँ लगायतले अभिनय गरेका छन् ।

फनपार्कमा खोलिदैछ रक्सी भट्टी

प्राय रक्सी भट्टी खोल्दा प्रहरी प्रशासनको डरले अलि कुनो ठाँउ खोज्ने चलन छ । तर यहाँ प्रहरी प्रशासनलाई चुनौती दिदै राजधानीको मुटु भृकुटीमण्डपको फनपार्क भित्रै रक्सी भट्टी खोल्ने तयारी गरिदैछ ।
काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको सो फनपार्क भित्रको ज्याकपट हल भित्र रक्सी भट्टी खोलिन लागिएको हो । ज्याकपट हल स्नूकर हाउसको सामुन्ने रहेको छ । अब त्यहाँ बेलुकी -बेलुकी जडियाहरूको भीड लाग्ने छ र होहल्ला पनि मच्चिने छ ।


त्यो भट्टी खोल्ने व्यक्तिलाई तपाईले राम्ररी चिन्नु हुन्छ । उनी कोही नभएर नायिका रेखा थापा हुन । उनले निर्माता प्रदिप उदयको सहयोगमा त्यो भट्टी खोल्न लागेकी हुन । त्यो भट्टीमा अब दिनहु नायक जीवन लुइटेलले रक्सी खान जाने तयारी समेत गरिसकेका छन् ।
सो भट्टीको नाम भने 'मालतीको भट्टी' राखिने बताइएको छ । जहाँ नायिका रेखा थापा भट्टी साहुनी भएर रक्सी बेच्ने छिन् । उनका ग्राहक भने थुप्रै चलचित्रकर्मी हुने छन् ।

फनपार्कमा रक्सी भट्टी खोल्ने सो तयारी बास्तविक भने हैन केबल चलचित्र 'मालतीको भट्टी' को लागि आवश्यक पर्ने केही सिनको हो । यो चलचित्रको सुटिङ एक साता देखि सुरू भएको छ । 'चलचित्रको नाम अनुसारको दृश्य र सेट तयार गर्नु परेकाले भृकुटीमण्डपमा रक्सी भट्टीको सेट लगाउन लागिएको ' निर्देशक गणेश देव पाण्डेले फिल्मीखबरलाई जानकारी दिए ।भट्टीको सेट भने केही दिन भित्रै जडान गरिने उनको भनाई थियो । नायिका रेखा थापा पोखरामा रहेकाले उनी आउने दुई दिन पहिला त्यहाँ रक्सी भट्टीको सेट तयार गरिने उनले बताए । रेखा चलचित्र जलजलाको सुटिङका लागि पोखरा गएकी छिन् ।काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको सो चलचित्रमा नायक जीवन र रेखाका अलवा नन्दिता केसी र आयुव केसीले पनि अभिनय गर्दैछन् ।

फेरि अर्को प्रेमकथा

प्रेममा जति साहित्य वा फिल्म सायदै अन्य विषयमा लेखे/बनेका होलान् । तर पनि प्रेम रहस्यमयी नै छ । प्रेमका विभिन्न आयाममा अझै पनि बहस जारी छ । यसै मेसोमा शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म 'तिम्रो मायामा'ले पनि 'विद्यार्थी जीवनमा प्रेम गर्नु ठीक हो वा होइन' भनी देखाउन थालेको छ । राजेश विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा कलेजमा पढ्दै गरेका विवेक (उत्तम प्रधान) र पुनम (उषा पौडेल) तथा गोपाल (दिवस बस्नेत) र अनिता (स्मृति स्वर्णकार) बीचको मित्रता विभिन्न परिस्थितिले गर्दा घनिष्ठ प्रेममा बदलिन्छ । गोपाल र अनिता दुवै अनाथ भएकोले जसरी एक-अर्काको सहारा तत्काल स्वीकार्छन् र प्रेमलाई विवाहमा परिणत गर्छन् । विवेक र पुनमको परिस्थिति केही भिन्न छ । पुनम डाक्टर बन्ने अभिलाषा बोकेर गाउँदेखि सहरमा पढ्न आएकी हुन्छे भने सानैमा बाबुआमा गुमाएको विवेक पनि सोही कलेजमा पढिरहेको हुन्छ । पढाईमा दत्तचित्त पुनम प्रेमसम्बन्धलाई त्यति महत्त्व दिन्न किनकि ऊ सोच्छे, 'पढेर केही गर्नु छ, केही बन्नु छ ।'

तर उसको कोमल मनलाई चाँडै नै विवेकले साथीको सहयोगमा पगाल्न सफल हुन्छ र अन्तिम पलसम्मको साथको वचन पाउँछ । तर उनीहरूको सम्बन्धमा तब विचलन आउँछ जब बाबुआमाले पुनमको बिहेका लागि छुट्टै केटोलाई चुन्छन् । उनीहरूका लागि क्यानडामा बस्ने इन्जिनियर केटोका अगाडि अनाथ, गरिब र जागिर नभएको विवेक तुच्छ ठहरिन्छ । आखिर अभिभावक र छोरीबीचको वैचारिक द्वन्द्वले नै फिल्मलाई चरमोत्कर्षमा पुर्‍याउँछ ।

उता अभिभावकको करकापमा जनैसुपारी गरिसकेको केटोले पनि अन्ततः आफ्नै प्रेमिकालाई विवाह गरेको खबर पुनमका बाबुआमाले पाएपछि भने कथाले नयाँ मोड लिन्छ । त्यसपछि पश्चतापमा परेका बाबुआमाले छोरीले नै रोजेको केटासँग बिहेका लागि सहमति नआउँदा ढिलो भइसकेको हुन्छ । सुदीक्षा चलचित्र निर्माण कम्पनीको ब्यानरमा केही वर्षअघि नै सुरु गरेर बीचमा रोकिएको फिल्म 'तिम्रो मायामा' ले उठाएको विषय फिल्म ढिलो गरी रिलिज भए पनि पुरानो लाग्दैन, जति यसको प्राविधिक पक्षमा टड्कारो खडकन्छ । पुरानो प्रविधिमा खिचिएकाले फिल्मको दृश्य समय सुहाउँदो लाग्दैन भने ध्वनि पनि स्पष्ट सुनिँदैन । फिल्म प्राविधिक रूपमा पछि परे पनि कथावस्तु र प्रस्तुतिले भने फिल्मलाई केही हदसम्म पुरानो हुनबाट रोकेका छन् । मुख्यतः दुई पात्र विवेक र पुनममा नै घुमेको फिल्मको पटकथा खास उल्लेख्य छैन । कथा र त्यसमा पात्रले गरेका अभिनयले दर्शकलाई भावनामा डुबाउन सफल देखिएको छ । कुमार/कुमारको द्वन्द्वनिर्देशनमा नयाँ प्रयोग केही छैन भने गीत/संगीत उति सारो श्रुतिकर लाग्दैन र कथाअनुरूप पनि बगेको देखिँदैन ।

तर फिल्ममा पात्रले गर्ने संवाद र तिनका विचार ओजिलन्छन् । फिल्मले प्रेम गर्दैमा भागेरै बिहे गर्नुपर्ने परिपाटीको विरोधी मुख्य पात्रहरू अभिभावककै सहमति खोज्ने प्रयासमा भोगेको पीडालाई एकातिर देखाएको छ भने प्रेमलगत्तै आफ्नै निर्णयमा विवाह गरेपछि सुखी बनेको अर्को जोडीको पटकथाले फिल्मको आशय झल्काएको छ । कथामा खासै नौलो केही नलागे पनि यसको प्रस्तुतिले भावनात्मक स्वभावका दर्शकका लागि फिल्म राम्रै लाग्न सक्छ । तरँनयाँ प्रविधिमा फरक धारका फिल्म आइरहेको बजारमा फिल्म 'तिम्रो मायामा' को प्रतिस्पर्धा भने कठिन हुन सक्छ ।

विदेशमा नेपाली फिल्म

स्वदेशमै पनि न्यून दर्शकको उपस्थितिले उल्लेख्य विकास गर्न नसकेको नेपाली फिल्म क्षेत्रले अब भने विदेशी बजारसम्मको पहुँच विस्तार गर्न थालेको छ । पछिल्लो समय फिल्म 'नाइँ नभन्नु ल' ले अस्टे्रलियाका विभिन्न सहरमा नियमित शो गरेर देखाएको अन्तर्राष्ट्रिय बजारमा त्यसपछि फिल्म निरक पौडेलको 'कुसुमे रुमाल-२' र शंकर घिमिरेको 'वीरताको चिनो' प्रदर्शन गरिए ।

फाट्टफुट्ट र विशेष प्रयासमा मात्रै केही नेपाली फिल्म विश्व फिल्म क्षेत्रमा पुगिरहेको बेला पछिल्लो समय फिल्म प्रदर्शन गर्ने डिजिटल सिनेमा नेपाल (डीसीएन) ले स्वदेशका साथसाथै खाडी मुलुक मलेसिया र कतारमा पनि एकै समयमा रिलिज गर्ने गरी सर्भर जडानको प्रक्रिया थालेको छ ।'मलेसियामा दुई महिनाभित्रमा फिल्म देखाउन लागिपरिरहेका छौं भने कतारमा भर्खर प्रक्रिया सुरु गरेका छौं,' डीसीएनका प्रबन्धनिर्देशक अशोक शर्माले भने, 'मलेसियामा प्रदर्शन थालिएपछि कतारमा जानेछौं ।'डीसीएनले फिल्म वितरक अन्तर्राष्ट्रिय कम्पनी लोटससँगको साझेदारीमा मलेसियाका नेपाली कामदारको बाहुल्य रहेका क्वालालम्पुर, पेनाङ र जोडवाङका सहरका फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको छ । 'प्रदर्शन गरिने फिल्मको सबट-टाइटल बनाउने काम भइरहेको छ, त्यहाँका सरकारले सेन्सर पास गर्नेबित्तिकै प्रदर्शनको थालनी हुनेछ,' शर्माले भने ।

खाडी मुलुकमा प्रदर्शनका लागि त्यहाँको सरकारले अंग्रेजी सब-टाइटलमा आधारित रहेर फिल्मको सेन्सर गर्ने गर्छ । धर्म/संस्कृतिका कारण केही अनुदार मानिने खाडी मुलुकमा सेन्सरबाट केही अप्ठ्यारो आउन सक्ने भए पनि त्यहाँका नेपाली भाषीका लागि मनोरञ्जन प्रदान गर्न जोखिम मोलिएको फिल्मकर्मीसमेत रहेका शर्माले बताए । ती मुलुकमा बलिउड फिल्मसमेत चल्दै आएको सन्दर्भ जोड्दै उनले भने, 'ग्ल्यामरका दृष्टिले बलिउडका भन्दा त हाम्रा फिल्म अलि पाच्य नै भएकोले पनि फिल्मको मर्म नै मर्ने गरी त सेन्सर नगर्ला ।'मलेसियामा प्रदर्शनका लागि अहिले नेपली फिल्महरू कोही मेरो, फस्ट लभ र हिफाजतको सब-टाइटलको काम भइरहेको बताइएको छ । लाखौंको संख्यामा नेपालीहरू रोजगारीको सिलसिलामा खाडी मुलुकमा कार्यरत भएकाले पनि त्यहाँ नेपाली फिल्मको बजार आफूले देखेको डीसीएनका प्रबन्धनिर्देशक शर्माले बताए ।

'सानो क्षेत्रमा धेरै नेपाली रहेकाले पनि मार्केट राम्रो छ,' उनले भने, 'फेरि मनोरञ्जनका लागि उनीहरूले गुणस्तरहीन भीसीडी प्रयोग गर्नुपर्ने बाध्यता यसले हटाउँछ ।' ती देशमा अवैधानिक तबरमा लगिने नेपाली फिल्मका भीसीडीको माग अत्यधिक छ । नेपालमा समेत झन्डै ६ दर्जन फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको डीसीएनले मलेसिया हुँदै कतारलगायतका खाडी मुलुकका फिल्म हलमा पनि सर्भर जडान गरेपछि स्वदेश र विदेशमा नेपाली फिल्मको एकसाथ रिलिज गरिने जनाएको छ ।

त्यो १० मिनेट दिपेन्द्रलाई १० घण्टा जस्तै

निर्देशक दिपेन्द्र के. खनाल सोमबार दिन भर हतारिरहेका थिए, आइतबार देखि कार्यक्रमको तयारी गरे पनि अन्तमा कार्यक्रम स्थल र समय नै परिवर्तन गरेका दिपेन्द्रले सोमबार बेलुकी झण्डै १० मिनेट निकै तनाव झेल्नु पर्‍र्यो ।

कारण ? उनको दोस्रो प्रजेक्ट अर्न्तगतको चलचित्र 'धर्मा' को अडियो बिमोचन समारोहको । कार्यक्रमलाई निकै सफल बनाउन अडियो बिमोचन समारोहमा आफै प्राविधिक बनेका दिपेन्द्रले प्रविधिबाट धोका पाँउदा निकै नर्भस हुनु पर्‍र्यो । कार्यक्रमकी प्रमुख आकर्षक तथा सोही चलचित्रकी मुख्य नायिका मनिषा कोइराला लगायत चलचित्रको टिमले एक साथ अडियो बिमोचन गरून्जेल सम्म दिपेन्द्र निकै खुशी थिए तर बिमोचन लगत्तै उपस्थित सहभागी र सञ्चारकर्मीका लागि देखाउन खोजिएको भिजुअलमा १० मिनेट सम्म साउण्ड नआउदा उनले केही बेर तनाव झेल्नु परेको थियो । पटक-पटक प्रोजेक्टरको सहायताले गीत देखाउन खोजिए पनि दिपेन्द्र असफल भइनै रहे, उपस्थित सहभागीले झण्डै ती दृश्यलाई १० मिनेट कुनै आवाज विना हेरेका थिए । प्राविधिक गडबडीका कारण आमन्त्रित सहभागीहरूलाई गीत देखाउन नपाएका दिपेन्द्र त्यो बेला झन् निकै टेनशन फुल भए,जब कार्यक्रमको बीचमै बत्ती झ्याप्प गयो। तर त्यो बत्ती एक मिनेटका लागि मात्र गएकाले उनी पुन कुल हुन पुगे ।कमजोरी न त त्यहाँ दिपेन्द्रको थियो न त प्रविधिको । मात्र गल्ती थियो लोडसेडिङ्गको, लोडसेडिङ्ग भईरहेको अवस्थामा प्रोजेक्टर अन गर्दा ब्याकअपले नधानेर साउण्ड आएको रहेनछ । तर झयाप्प १ मिनेट बत्ती गएर पुन उज्याले हुदाँ प्रोजेक्टर पनि चल्यो र साउण्ड पनि राम्रो आयो । अनि एक-एक दिपेन्द्र खुशी भए । काठमाण्डौको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको पार्टी प्यालेसमा आयोजना गरिएको सो विमोचन समारोहमा चलचित्र 'धर्मा' को तीन वटा गीतका भिजुअल देखाइएको थियो । आश्मा फिल्मसको ब्यानमार निर्माता डा. दुर्गा पोखरेलले निर्माण गरेको सो चलचित्रमा जम्मा ३ वटा गीत रहेका छन् । ती सबै गीतमा हरि लम्सालले संगीत भरेका हुन । नायक राजेश हमाल, निखिल उप्रेती, मनिषा कोइराला, अनु शाह लगायतको अभिनय रहेको सो चलचित्र आगामी कात्तिक महिनामा प्रदर्शनमा आउँदै छ । यहि चलचित्र मार्फत २० बर्षपछि नेपाली रजतपटमा पुन फर्किएकी नायिका मनिषा कोइरालाको अभिनयलाई अधिकाशं चलचित्रकर्मीले निकै चासोका साथ हेरेका छन् ।