कलेक्सन करोड नाघ्यो

लाहुरेको कथामा आधारित चलचित्र 'गोर्खापल्टन'ले डिजिटल सिनेमा नेपालको बक्सअफिसमा आइतबार कलेक्सन एक करोड नघाएको छ । दोस्रो साता पनि राम्रो पिकअप गरिरहेको नारायण रायमाझी निर्देशित चलचित्रले दोस्रो साताको तेस्रो दिनसम्म आफ्नो ग्रस रिभेन्यू १ करोड १५ लाख कायम गर्‍यो । खासगरी मोफसलका सिङ्गल थिएटरमा 'गोर्खापल्टन'को पिकअप अझै उत्साहजनक छ । सप्ताहन्तको ओपनिङमा 'गोर्खापल्टन' ७६ लाखमा अनमार्क थियो ।अहिले देशभरका डिसिएन सर्भर जडित ४४ थिएटरमा 'गोर्खापल्टन' स्क्रिनिङ भैरहेको छ । डीसीएन वितरण इन्चार्ज दीपक दंगालले पोखरा, बुटवल, धरान, नेपालगन्ज लगायतका लाहुरे र जनजाति बहुल स्थानका सिनेमा घरमा चलचित्रले कलेक्सनलाई गति दिइरहेको बताए । 'उपत्यकाभन्दा पनि मोफसलका प्रमुख सहरमा फिल्मको चर्चा र चासो दुवै छ' दंगालले भने 'मौलिक कथा र प्रशान्त तामाङको लोकप्रियताले पनि फिल्मलाई ऊर्जा दिएको छ ।'
आफ्नो अघिल्लो फ्लप चलचित्र 'कोही…मेरो'को रिभ्यूबाट निराश बनेका निर्माता वंशल दाजुभाईलाई पछिल्लो प्रोजेक्टले उत्साह दिइरहेको छ । निर्मातामात्र होइन डेब्यु निर्देशक नारायण रायमाझीलाई पनि नेपाली सिनेमामा स्थापित हुने मार्गप्रशस्त गरिदिएको छ 'गोर्खापल्टन'ले । हिरो प्रशान्त तामाङ पनि रिभ्यूबाट निकै उत्साहित छन् ।कलेक्सनको दौडमा 'फस्टलभ'लाई पछ्याइरहेको 'गोर्खापल्टन'को पिकअपले कस्तो मोड लिन्छ शुक्रवारसम्म कुर्नुपर्ने हुन्छ । यदि तेस्रो सातासम्म पनि पिकअप जारी राख्यो भने 'गोर्खापल्टन'ले 'फस्टलभ'को कलेक्सनलाई पनि उछिन्ने आधार निर्माण हुन्छ ।

0 comments:

Post a Comment