
एनआर फिल्म्स ब्यानरमा निरज ढकाल निर्मित तथा योगेश घिमिरे निर्देशित 'तिमी मात्र तिमी' मा रजनीले सानैदेखिको साथी आकाशलाई जीवनसाथी मानेर एउटा पेन्टिङ बनाएकी हुन्छे । तर आफ्नो एकतर्फी प्रेमका बारेमा उसले आकाशलाई समयमै थाहा दिन सकेकी हुन्न । आकाश आफ्नै साथी वषर्ा -नन्दिता केसी) सँग बिहे गर्ने खबर पाएपछि रजनी आहत बन्छे । जीवनमा दोस्रोपटक खेपेको ठूलो पीडाले उसलाई पागलतुल्य बनाइदिन्छ । ऊ वषर्ालाई मारेर भए पनि आकाशलाई पाउने कोसिसमा लाग्छे ।
उक्त फिल्मको प्लस प्वाइन्ट भनेको कथामा केही नयाँपन हो । तर मूलकथालाई बल पुग्ने गरी पटकथा गतिलो हुन सकेको छैन । फिल्म आउट अफ ट्रयाक भएको छ । सवा दुई घन्टा लामो फिल्मको मध्यान्तरसम्म रजनीको पीडामा सहानुभूति देखाउने दर्शक त्यसपछि उसको खलनायकी रूप देखेपछि अन्योलमा पर्न बाध्य हुन्छन् ।मूल पात्रलाई क्रूर बनाइदिएपछि उसले दर्शकको सहानुभूति गुमाउनु स्वाभाविक हो । तर पटकथा कतिसम्म फितलो छ भने रजनीको सिकार बनेको आकाशले पनि त्यो सहानुभूति पाउन सक्दैन । आकाशको रजनीप्रतिको अस्वाभाविक घृणा त्यसको कारक बनेको छ । प्रेमको आलाप र नपाउँदाको पीडामा पागल बन्नुको नियतिलाई दृश्यमा ठीकसँग उतार्न नसक्दा रजनी पागलप्रेमीभन्दा हत्यारा देखिन पुगेकी छ । निर्देशकले दर्शकलाई पात्रसँगै डोर्याउनबाट चुक्दा फिल्मको अन्त्यमा रजनीले प्रेमका लागि गरेको बलिदान पनि दर्शकलाई सस्तो लाग्छ ।
फिल्मका कमजोरी एक-दुइटा मात्रै छैनन् । झरनाले मूकपात्रको भूमिकामा छिन्, तर उनको अभिनयले कहीँ पनि त्यस्तो छनक दिन सकेको छैन । नायिकाको अभिव्यक्तिको माध्यम बनेको पेन्टिङ पनि केही न कामको छ । द्वन्द्वका दृश्यमा समेत नयाँपन छैन । पाकेटमारलाई रजनीले खुला ठाउँमा पिट्दाको दृश्यमा सुटिङ हेर्न आएका रमितेसमेत देखिनु अर्को अस्वाभाविकता हो । अन्जानमै फिल्मको पात्र बन्न पुगेको भीडले पाकेटमारले खाएको पिटाइमा मनोरञ्जन लिइरहेको देखिन्छ ।त्यस्तै, अर्को दृश्यमा गाडी दुर्घटनामा बाह्र हातमाथि उचालिएर थेचारिएको पात्र खुट्टा खोच्याउने अवस्थामा मात्रै पुग्नु तर केही समयपछि आफैं ठीक भई उसले अरूलाई इन्तु न चिन्तु हुने गरी कुटपिट गरेको दृश्यले फिल्मलाई झन् हास्यास्पद बनाएको छ ।समन अधिकारी र गोविन्द प्रभातको नृत्यनिर्देशन सामान्य छ । संगीतमा ताराप्रकाश लिम्बूले आफूलाई चिनाउने कोसिस गरेका छन् । समग्रमा 'तिमी मात्र तिमी' ले नेपाली फिल्मको सूची लम्ब्याउनेबाहेक खासै योगदान गरेको छैन
0 comments:
Post a Comment