काठमाडौंको ठमेलमा भीषण आगलागी, करोडौंको क्षति

पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि ठमेल पुरै आतंकित भएको हो । आगलागीको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनास्थल पुगे । रातभर आगो निभाउने प्रयास भयो । तर शुक्रबार मध्यान्न मात्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । ‘गुड फ्राइडे’ मनाउन भन्दै हरेक शुक्रबार ठमेलमा जम्मा हुने राजधानीबासी र पर्यटक आज भने आगोले तातिएको बजार हेर्न जम्मा भएका छन् । एउटा घरमा आगो लागेपनि त्यसको रापले पुरै ठमेललाई तताएको छ । रातभरी आगो लागेको देख्नेहरु आतंकित छन् । झिमिक्क आँखा नपारीकन आगो निभाउन खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रक भीषण आगलागीको दृश्य सम्झेर थकित छन् । ‘रातभरी सुत्न पाइएन, काठमाडौंमा अहिलेसम्म लागेका आगलागीका घटनामध्ये यो पनि भीषण आगलागी हो’ आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले अनलाइनखबरसित भन्नुभयो । पुरानो घर र किताबको गोदाम पुरानो घर भएकाले आगो छिटो सल्किएको र क्षति पनि बढी भएको अनुमान छ । ‘अरु घरसँग जोडिएको निकै पुरानो र जीर्ण घर रहेछ’ गाछाले भन्नुभयो-’हामीले झ्याल फोरेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थियौं, हामी पुग्दा घरको दलिन नै खसिसकेको थियो ।’खाना पकाउने ग्याँस विष्फोट भएर एक्कासी फैलिँदा आगोले भीषण रुप लिएको उहाँले बताउनुभयो । ‘रेष्टुरेन्टबाट आगो शुरु भएको देखिन्छ’ गाछाले भन्नुभयो । पुरानो किताब राख्ने गोदाममा
आगो लागेकाले पनि निभाउन गाह्रो भएको उहाँको भनाई छ । ‘किताब र परालको कुन्यूमा लागेको आगो निभाउन गाह्रो हुन्छ’ गाछाले भन्नुभयो-’बाहिर आगो निभेजस्तो देखिएपनि भित्रभित्रै आगो सल्किरहेको हुन्छ ।’बाक्लो घर र सानो गल्ली भएका कारण छिटो आगो नियन्त्रणमा आउन नसकेको उहाँको भनाई छ । २० करोडको क्षति रेस्टुरेन्टबाट फैलिएको आगोबाट सोही भवनमा रहेको पुस्तक पसल, रेस्टुरेन्ट, कफी पसल, थान्का पसल तथा निर्यातजन्य सामग्री रहेका पसल, ट्राभल्स तथा टे्रकिङ पसललगायत २० वटा पसलमा आगलागी फैलिएको थियो । आगलागीबाट करिब २० करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।आगालागीबाट आफ्नो रेस्टुरेन्टको करिब डेढ करोड मूल्य बराबरको क्षति भएको फेसेसका सञ्चालक राम गिरीले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दमकल, स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अग्नि नियन्त्रकको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । भिडियो

0 comments:

Post a Comment