समिक्षा : 'कोही…मेरो '


चलचित्र : कोही…मेरो
कलाकार : आर्यन सिग्देल, झरना बज्राचार्य, सुवास थापा, सन्चिता लुइँटेल, दिनेश शर्मा, राधा लम्साल, तृप्ति नाड्कर
निर्देशक : आलोक नेम्वाङ
निर्माता : सुरज वंशल
छायांकन : राजुविक्रम थापा
पटकथा : प्रवीण अधिकारी
कथा : आलोक नेम्वाङप्रवीण अधिकारी
संगीत : सुरेश अधिकारी, बसन्त सापकोटा र सुरेश राई
अवधि : २ घण्टा १० मिनेट
सर्टिफिकेट : यू/नेपाल
लगानी : ८० लाख
भाषा : नेपाली

निर्देशक आलोक नेम्वाङले पहिल्यै भनेका थिए 'मेरो फिल्म साधारण फिल्म हो, जहाँ हल्ला र कोलाहल छैन ।' हुनपनि फिल्मको सुरुआतदेखि अन्त्यसम्म कुनै हिरो उडेर पिट्न आएको छैन । यस्तो लाग्छ : म्युजिक भिडियो निर्देशनमा आलोकको बेग्लै छवि बनेको थियो र त्यो छविले 'सानो संसार'बाट निर्देशकको रुपमा उनलाई पब्लिसिटी दिलायो पनि । 'कोही…मेरो'को ओपनिङसम्म आइपुग्दा आलोकलाई विगतको त्यही छवि र क्रेजले पछ्याएको हुनुपर्छ । आलोकप्रति पछिल्ला दर्शकको आमधारणा के बनिरहेको छ भने उनी जुन प्रोजेक्टमा काम गर्छन् त्यहाँ प्रेम र भावनाको स्थान धेरै हुन्छ र मसला कम् । अर्को शब्दमा भौतिक द्धन्द्धभन्दा पनि आलोकको निर्देशकीय तत्वमा मानसिक अन्र्तद्धन्द्ध ज्यादा हुन्छन् । फिल्मले मन छुनुपर्छ भन्ने उनको मान्यता 'कोही…मेरो'मा पनि देखियो ।

'कोही…मेरो' उनका लागि दोस्रो परिक्षा पनि थियो । दोस्रो मिहेनतमा पनि आलोकले फिल्मलाई अफविट र मोर्डन रुप दिन भरपुर प्रयत्न गरेका छन् । प्रविधि, छायांकन, दृश्य र ध्वनीका विधाहरुमा फिल्मलाई स्तरोन्नती त गरेका छन् आलोकले तर चलचित्रको मेरुदण्ड 'कथा'लाई नयाँ फ्लेवरमा पस्कन सकेका छैनन् । चलचित्रमा उही त्रिकोणीय प्रेमको कथा बुनिएको छ जसको प्रस्तुतीकरणमा केही क्लिष्टता देखा पर्छ । जस्तै : कथालाई फ्ल्यासब्याकमा प्रस्तुत गराउँदा इन्टरभलपछि स्वयम दर्शकहरु केही मात्रामा कन्फ्युज बन्न बाध्य हुन्छन् । पटकथाको यो अवरोधले दर्शकहरुले पात्रहरुप्रति उति संवेदना (सिम्प्याथी) पोख्न सक्तैनन् न त पात्रको जीवन नजिक पुग्छन् दर्शकहरु । त्यो अवरोधलाई 'एड्जस्ट' गर्दै फिल्मलाई चलाखीपूर्वक बिट् मारिदिएका छन् ।

कथा : अभि (आर्यन सिग्देल), आश्ना (सन्चिता लुइँटेल), प्रयास (सुवास थापा) र दिब्या (झरना बज्राचार्य) एकापसमा मिल्ने साथी हुन् र उल्लासपूर्ण मायाको खोजीमा हुन्छन् । आश्ना र प्रयासबीच पुरानो परिचय छ तर अभीकै कारण उनीहरु अलग भएका हुन्छन् । अभी एउटा यस्तो चरित्र हो जो मित्रतामा पनि महत्वाकाङ्क्षा रोज्छ । अभी र प्रयास दुवैले आश्नालाई चाहन्छन् । तर, आश्ना भने अभीलाई हृदयदेखि प्रेम गरिरहेकी हुन्छे भन्न सक्तिने । केहीवर्षपछि अभी र दिब्याबीच भेट हुन्छ । दिब्या पनि अभीलाई चाहन्छे । तर, आश्ना र अभी दुवैले एकर्कालाई हृदयदेखि प्रेम गर्छन् भन्ने कुरा थाहा पाएपछि उसले सम्बन्धलाई साथीका रुपमा सीमित राख्छे । आश्ना र प्रयासबीच इन्गेजमेन्ट हुने दिन आश्ना भागेर अभीलाई भेट्न जान्छे । दुवैले दुवैलाई प्रेम त गर्छन् तर स्वीकार्न सकिरहेका हुँदैनन् । आश्ना र प्रयासबीच अन्ततः इन्गेजमेन्ट हुन सक्दैन । अभी र आश्नाबीच विहे हुन्छ । चलचित्रमा आश्ना परिवार र समाजले राम्रो मानेको कुरा गर्न रुचाउँछिन् । अन्त्यमा चारैजनाले प्रेमले त्याग माग्छ कुरा बुझ्छन् ।

अभिनय : चलचित्रको अधिकांश दृश्य र अभिनयमा आर्यन हावी छन् । तर, यथार्थ पनि के हो भने आर्यन स्क्रिनमा नदेखिँदा दर्शकले उत्साह अनुभूति गर्दैनन् । 'कोही…मेरो'ले के पुष्टि गरेको छ भने आलोक सिरियस र कमेडी दुवै प्यार्टनमा आफूलाई दौडाउन माहिर छन् । आर्यनको कमेडी शैली प्रशंसायोग्य छ । सन्चिता भावुक पात्र हुन् । सन्चिताको भूमिका राम्रो छ । सुवासले नायकका रुपमा आफ्नो रंगमंचको अनुभवलाई पस्केका छन् । झरनाको भूमिका मीठो छ । राधा लम्सालको कमेडी एक्टिङलाई तारिफ गर्नैपर्छ । तृप्ती नाड्करको भूमिका आमाको रुपमा सुहाएको छ ।

निर्देशन : निर्देशकका रुपमा आलोक अपग्रेडिङ छन् । 'सानो संसार'को तुलनामा 'कोही…मेरो'मा आलोकको निर्देशन खारिएको छ । छोटा र प्राकृतिक संवाद, कथाको तीव्र गति, युवाले मनपार्ने छोटा दृश्यांशलाई आलोकले टपक्क टिपेका छन् । इन्टरभलअघि फिल्मको पेस मध्यम तर ठीकै छ । इन्टरभलपछि केही मिनेटसम्म पटकथाले लय गुमाएको जस्तो प्रतीत हुन्छ । जसका कारण केहीछिन् दर्शकहरु कन्फ्युज हुन्छन् । आलोकले बठ्याइँ गर्दै त्यो कन्फ्युजलाई हटाएका छन् र फिल्मलाई 'सेफल्यान्डिङ' गरेका छन् । राजुविक्रमको छायांकन निकै राम्रो छ । जोमसोम र चितवनका रमणीय लोकेसनले दर्शकलाई मुग्ध त तुल्याउँछन् नै चलचित्रका केही कमजोरीलाई पनि ती लोकेसनको सौन्दर्यले ढाकिदिएको छ ।

संगीत : रिलिज अगावै चलचित्रका केही गीतहरु निकै कर्णपि्रय भैसकेका थिए । संगीतकारका रुपमा सुरेश अधिकारीले आफूलाई न्याय गरेका छन् । मुख्य कुरा त 'बेनीको बजार' 'माछी मारन हो..' र 'सरर..'जस्ता मौलिक गीतहरुले धौलागिरिको जनजीवन र दर्शकलाई बाँध्न सकेको छ । नृत्य निर्देशन पनि भस्रटाइल लाग्छ । मुस्ताङको सौन्दय, गीत र नृत्यको संयोजन मिलेको छ ।

किन हेर्नुपर्छ ?: जोमसोम, चितवनको रमणीय दृश्य नेपाली चलचित्रको स्तरोन्नती थाहा पाउन हल पुग्नुपर्छ । युवापुस्ता र प्रौढका लागि पनि चलचित्र उपयुक्त छ । नेपाली चलचित्रलाई आलोचना गर्नेहरुले यो फिल्म हेर्नैपर्ने हुन्छ । अर्कोतर्फ नेपाली फिल्मको क्रमशः विकास र सुदृढ प्यार्टनलाई बुझ्न पनि यो फिल्म हेर्नुपर्ने हुन्छ । धमाधम विदेशमा फिल्म सुटिङ गर्ने वर्तमानको फिल्मी ट्रेन्ड विपरित आलोकले आफ्नै देशका रमणीय स्थान जुन पर्दापछाडि छन् ती स्थानमा सुटिङ गरेर सकरात्मक सुरुवात गरेका छन् । मुख्यतः आलोक नेम्वाङको निर्देशकीय पक्षलाई एकपटक हेर्न र आत्मसात गर्न हलसम्म पुग्नैपर्ने हुन्छ ।

0 comments:

Post a Comment