तन्नेरी लक्षित
8:56 AM
No comments
काठमाडौ, भाद्र १३ - नयाँ प्रविधि, नयाँ कथावस्तु अनि युवा टिम । पछिल्लो समयमा प्रदर्शनमा आएका नेपाली फिल्मका समान विशेषता हुन् यी । दयाराम दाहाल निर्देशित 'फ्ल्यासब्याक', सिमोस सुनुवारको 'फस्ट लभ' होस् वा विकास आचार्यको 'नाइँ नभन्नु ल' । यी फिल्मले केही फरकपनाका आधारमा नयाँ पुस्ताका युवालाई हलसम्म तान्न लागिपरिरहेका छन् पर्दामा युवाप्रेमका कथाले बाजी मारिरहेकै मौकामा शुक्रबारदेखि अर्का निर्देशक आलोक नेम्वाङ 'कोही मेरो' लिएर आफ्ना मान्छे खोजिरहेका छन् । यसअघि युवापुस्ताले रुचाएको फिल्म 'सानो संसार' बाट निर्देशनमा हात हालेका नेम्वाङलाई दोस्रो फिल्ममै ह्वात्तै बढेको दर्शक अपेक्षा भारी पर्न सक्छ ।
फिल्म झन्डै समान उमेरका अल्लारे तीन साथीहरू अभि (आर्यन सिग्देल), आश्ना (सञ्चिता लुइँटेल) र प्रयास (सुवास) बीचको प्रेममा केन्दि्रत छ । प्रयास र आश्ना बच्चादेखिका साथी । प्रयासले आश्नालाई मन पराउने कुरा अभिलाई भन्छ र सहयोगको अपेक्षा गर्छ उता अभि पनि आश्नालाई नै मन पराउने कुरा भन्न सक्दैन । उसलाई लाग्छ कि आश्नाले पनि प्रयासलाई नै चाहन्छे । तर आश्नाको संकेत बुझ्न नसक्नु र बुझेर पनि उचित कदम चाल्न नसक्नुले ऊ लामो समय पीडा र छटपटीमा बाँच्नुपर्ने हुन्छ । उनीहरूको प्रेमको माकुरेजालो तब च्यातिन्छ जब तीन साथीहरू केही दिनका लागि घुम्न जोमसोम गएपछि प्रयासले आश्नालाई प्रेम प्रस्ताव राख्छ, अभिकै सल्लाहमा । अनपेक्षित प्रस्ताव आश्नाले तत्काल अस्वीकार गर्छे । तर त्यही उभिएको अभि आश्नाको निर्णयमा अनविज्ञ भएको बुझ्न दर्शकलाई पछिसम्म कुर्नुपर्छ । 'आँखा खोलेर सपना देख्ने' बानी नभएको बताउने अभि आफूलाई वास्तविकतामा बाँच्ने प्राणी ठान्छ । तर उसको स्वभावले त्यसलाई पुष्टि गर्दैन । आश्नाका प्रेमपत्र वा व्यवहार प्रेम प्रदर्शनका लागि ऊ पर्याप्त ठान्दैन । भन्छ, 'साँच्चिकै मन पराउँछे भने अगाडि आएर किन भन्दिन ?'
पोखरादेखि जोमसोम, काठमाडौं र सौराहाका लोभलाग्दा सुन्दर दृश्यलाई राजुविक्रम थापाले क्यामेरामा सुन्दर रूपमा समेटेका छन् । विशेषगरी गीत/नृत्यमा समेटिएका दृश्यले दर्शकलाई फिल्म हेर्न लोभ्याउनेछ । दृश्यले फिल्मलाई सांकेतिक बनाउन पनि सघाएका छन् । पात्रबीचको सम्बन्ध बिग्रँदा उजाड पहाड, भग्नावशेष र अँध्यारा दृश्य तथा सुमधुर हुँदा हराभरा पहाड र वातावरणका दृश्य कलात्मक र अर्थपूर्ण छन् । सुरेश अधिकारी, वसन्त सापकोटा र सुरेश राईको संगीतको त्रिवेणी कर्णपि्रय लाग्छ । 'बेनीको बजार, जता माया उतै छ नजर...,' 'माछी मारन हो दाइ हो...' जस्ता पुराना लोकपि्रय गीतलाई सजीव ढंगले मिक्स गरिएकाले गीतहरू दिमागमा गुन्जिरहन सक्षम छन् ।
पटकथामा उत्तिसारो उतारचढाव नभए पनि पात्रले बोल्ने संवाद व्यावहारिक छन् । छोटा र सरल बोलीचाली फिल्मको सबल पक्ष हो । त्यसो त अमेरिका पढेर आउने आश्ना र प्रयासको सट्टा स्वदेशमै रेस्टुरेन्ट चलाएर बस्ने दिव्या (झरना बज्राचार्य) को लवजमा अंग्रेजीपन आउनु पात्र चयनमा कमजोरी भन्न सकिन्छ । अभिनयमा आर्यन चटपटे र भावुक दुवै भूमिकामा सबल देखिएका छन् । उनको अभिनय र संवाद सम्प्रेषण शैली निकै मौलिक लाग्छ । अन्त्यतिर उनलाई 'ढुंगाजस्तो मन' भएको भनिए पनि त्यस्तो देखिँदैन । सञ्चिताले पनि सहज अभिनय गरेकी छन् भने पहिलोपटक ठूलो भूमिकामा देखिएका सुवास थापाले राम्रो सम्भावना देखाएका छन् ।
भूमिका टापटिपे भएकाले पनि झरनाको अभिनय सामान्य लाग्छ । लामो समयपछि फिल्ममा फर्किएकी भए पनि निर्देशक नेम्वाङले उनलाई जम्न सक्ने भूमिका दिएका छैनन् । फिल्ममा तृप्ति नाडकर, राधा लम्साल, दिनेश शर्मा पनि झुल्किन्छन् ।
प्रवीण अधिकारीको कथालाई निर्देशक नेम्वाङले समेत साथ दिएको भए पनि कथावस्तु सामान्य नै लाग्छ । कथालाई फ्ल्यासब्याकमा प्रस्तुत गर्ने शैली केही क्लिष्ट महसुस हुन्छ । पटक-पटकको फ्ल्यासब्याकले दर्शकलाई अल्मल्याउँछ । कथालाई बिनाफ्ल्यासब्याक नै सलल बग्न दिएको भए राम्रो हुन्थ्यो । यति हुँदाहुँदै पनि युवापुस्तालाई फिल्म हलसम्म तान्ने ध्येयले फिल्म डटकमका लागि राजेश वंशलले निर्माण गरेको 'कोही मेरो' ले युवापुस्ताको मन चोरेमा अनौठो हुनेछैन ।
0 comments:
Post a Comment