भदौमा दासढुंगा


काठमाडौ, श्रावण २६ - रहस्यमय दासढुंगा 'हत्याकाण्ड' को रहस्य के-के छन् ? घटनापछि मुलुकको राजनीति कसरी विकास भयो र सत्य-तथ्य कसरी रहस्यको गर्भभित्रै रह्यो ? अब छिट्टै फिल्ममार्फत् देख्न पाइने भएको छ । सेन्सर बोर्डबाट आठांैपटकको प्रयासपछि पास भएको फिल्म 'दासढुंगा' भदौ तेस्रो हप्ताबाट देशभरका हलहरूमा लाग्दै छ । बोर्डले पटक-पटक कैंची चलाएपछि फिल्म बल्ल प्रदर्शनीमा आउन लागेको हो ।

चलचित्र विकास बोर्डबाट विशेष फिल्मको दर्जा दिएको 'दासढुंगा' मोफसलका झन्डै ३० र राजधानीका २५ हलहरूबाट एकसाथ प्रदर्शनमा आउने निर्माता अपिल विष्टले बताए । 'लामो लडाइँ जितेको जस्तो अनुभूति भइरहेको छ,' मंगलबार उनले भने, 'तथ्यहरूको आधार लिई फिल्ममा दासढुंगा हत्याकाण्डको रहस्य खोतल्ने प्रयास गरिएको छ ।' फिल्म राजधानीको जय नेपाल, कुमारी, विश्वज्योति, गोपीकृष्ण, गुण, अष्टनारायण, वाराहीलगायत मुख्य हलहरूमा र उपत्यकाबाहिर प्रायः सबै स्टेसनमा एकैपटक प्रदर्शन हुन लागेको हो ।

डकुड्रामा शैलीको फिल्म २ घन्टा १५ मिनेटको छ । अपिलका अनुसार फिल्म तथ्यहरूलाई प्रस्तुत गर्ने क्रममा डकुमेन्ट्री र त्यसलाई काल्पनिक पात्रहरूसँग एकाकार गर्न खोज्दा कथानक (फिचर फिल्म) शैलीको बनेको छ । २०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको दासढुंगामा जिप 'दुर्घटना' मा मृत्यु भएको थियो । त्यसयता सरकारी र नागरिक स्तरमा अनेक छानबिन आयोग बने पनि सत्य बाहिर आउन सकेको छैन । जिप-चालक अमर लामाको २०६० असार ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भएपछि दासढुंगा घटना झन् रहस्यमय बनेको हो ।

अपिलका अनुसार फिल्म रहस्यको समाधान भने हैन । अहिलेसम्म जे भएका छन्, छानबिन आयोगहरूले जे पत्ता लगाएका छन्, तिनैलाई बाहिर ल्याउन मात्रै खोजिएको हो । मनोज पण्डित निर्देशित फिल्ममा अनुप बराल राष्ट्रिय अनुसन्धान विभागको एक अनुसन्धानकर्ताका रूपमा छन्, जसले राज्यको सहयोग नमिल्दा पनि अन्तिमसम्म अनुसन्धान जारी राख्छन् । फिल्ममा उनी सत्य नभई काल्पनिक पात्र हुनेछन् । मदन भण्डारीको भूमिकामा मदनका आफ्नै भाइ मोहन भण्डारी छन् । रामकृष्ण पौडेल जीवराज आश्रतिको भूमिकामा, दयाहाङ राई चालक अमर लामाको भूमिकामा, सौगात मल्ल रहस्यमय विदेशी गुप्तचर र सञ्चिता लुइँटेल अनुसन्धानकर्ताकी श्रीमतीको रूपमा हुनेछिन् ।

फिल्मले छानबिनका लागि बनेको राणा आयोग, तुलाधर आयोग, ओली आयोग र अनिल आयोगका तथ्यहरू पनि बाहिर ल्याउने अपिलको दाबी छ । लामो समय सन्दर्भ सामग्री खोजी र अनुसन्धानका लागि खर्चिनुपरेकाले डिजिटल फम्र्याटकै भए पनि फिल्मको लगानी झन्डै ६५ लाख नाघेको उनले बताए । लगानीमा उनलाई विजय विराज विष्ट र मेनुका ओझा श्रेष्ठले सघाएका छन् ।

विशेष फिल्मको दर्जा पाएबापत् चलचित्र विकास बोर्डबाट ७० हजार रुपैयाँ नगद पाएकोमा त्यो रकमलाई विभिन्न चार भाषामा सब-टाइटल बनाउन खर्चेको अपिलले बताए । 'अंग्रेजी, प|mेन्च, स्पेनिस र जर्मन भाषामा सब-टाइटल बनाएका छौं,' उनले भने, 'दासढुंगाको रहस्य मुलुकबाहिरसम्म पुर्‍याउने प्रयास पनि गर्नेछौं ।' 'फिचर फिल्म हो कि डकुमेन्ट्री' नखुलेको भन्दै सेन्सर बोर्डले लामो समय अल्झाएको फिल्मको डकुमेन्ट्रीजन्य दृश्य पुरुषोत्तम प्रधानले र कथानक दृश्य दीपक बज्राचार्यले खिचेका छन् ।

'डकुड्रामा विधा हो भन्ने छुटयाउन पनि सेन्सर बोर्डलाई महिनौं लाग्यो,' दासढुंगा हत्याकाण्डदेखि अमर लामाको हत्यासम्मको सन्दर्भ बोकेको फिल्मबारे अपिलले भने, 'भदौ तेस्रो सातापछि सबैलाई थाहा हुनेछ- के हो दासढुंगा ?'

0 comments:

Post a Comment