दयनीय फिल्म व्यापार

सन्तोष रिमाल, काठमाडौं, चैत ८- 'नेपाली दर्शकले राम्रो फिल्म हेर्न पाएनन्,' गायक यशकुमारलाई यो अवस्थाले निकै 'पिरोल्यो'। त्यसैले उनले अर्का गायक साथी बाबु बोगटीलाई समेत हिरो बनाएर 'बाटोमुनिको फूल' बनाए। हिरो दिलिप रायमाझीलाई निर्देशक बनाउने तय भए पनि स्त्रि्कप्ट लेखनमा खारिएका सुरज सुब्बा नाल्बोलाई उनले यो जिम्मेवारी सुम्पिए। फिल्ममा मनग्य पैसा बगाएको र नौलो कथा पेश गरेको दाबी गर्न उनी पछि परेनन्। दर्शकले राम्रो फिल्म हेर्न नपाएकोमा 'दुःखी' भएर बनाएको यो फिल्मले निर्मातालाई खुसी तुल्याउन भने सकेन। फिल्म निर्माणको फाँटमा अकस्मात झुल्किइन् शहीकालीन मन्त्री दुर्गा पोखरेल। नेपाली फिल्मको 'स्तर उकास्ने'दाबी सहित बलिउड अभिनेत्री मनीषा कोइरालालाई लिएर उनले 'धर्मा' बनाइन्। नेपाली फिल्ममा चलेका स्टार राजेश हमाल र निखिल उप्रेती पनि फिल्ममा छुटेनन्। यही मौकामा छोरा संयोग पोखरेललाई हिरो बनाइन् दुर्गाले। मनीषाको अनुहारले प्रचारमा भव्यता पायो। तर, फिल्मको व्यापार भइदियो ठिक उल्टो। सस्तो फर्मुलाको 'धर्मा'ले दर्शक पाएन।धेरै आशावादी हुने प्रचार गरिए पनि धेरैजसो दर्शकले निराशा मात्र पाए फिल्म 'बाटोमुनिको फूल' र 'धर्मा'मा। यसपछिका केही फिल्म पनि व्यापारको मैदानमा निकै फितलो उपस्थिति जनाउँदै बाहिरिए। गएको दशैंमा रिलिज भएको 'कसले चोर्‍यो मेरो मन' र लगत्तैको 'गोर्खा पल्टन'ले सन्तोषजनक व्यापार गरे पनि त्यसपछिका करिब एक दर्जन फिल्मको कारोबार निकै कमजोर भयो।दर्शकलाई थि्रलर स्वाद पस्कने प्रयास गरेको 'एक दिन एक रात'लाई दर्शकले रुचाएनन्। यसको व्यापारिक नतिजा नाजुक रह्यो। २० वर्ष अघिको सफल फिल्म 'चिनो'को नाममा नयाँ फिल्म बनाएका शोभित बस्नेतले पनि मार खाए। अञ्जु पन्तको चर्चित गीतको बोलमाथि बनाइएको फिल्म 'नबिर्सें तिमीलाई नपाएँ तिमीलाई'ले पनि लगानी उठाइदिने दर्शक पाएन। नेपाली फिल्मको शैली बदल्ने दाबीका साथ आएको 'स्वर'ले कुनै आकर्षण पैदा गर्न सकेन। फिल्मको व्यापार पनि बिर्सनलायक भयो। ९० लाखको लगानीमा बनेको भनिने फिल्ममा त्यस्तो महँगी झल्किने आधार पनि थिएन। फिल्मको लागत ९० लाख नै हो भने निर्माताले ठूलै आर्थिक क्षति व्यहोर्नु परेको विश्लेषण सुनिन्छ। उद्योगमा 'चमत्कार' नै गरुँला जसरी लोकेन्द्र कार्की दोहोरो भूमिकामा आए 'शासन' लिएर। उनले दाबी गरेको 'अहिलेसम्मकै सर्वाधिक महँगो फिल्म'ले पनि दर्शकलाई हलमा तानेन। रुढिवादी कथालाई प्रविधिले जति नै सिंगारे पनि नचल्ने सन्देश दिन फिल्म सफल भयो।यसपछिका 'देशदेखि विदेश', 'मन मनै मन पराएँ', 'तहल्का डटकम', 'कसम' र 'मिस्टर मंगले'ले पनि व्यापारिक चमत्कार देखाउन सकेनन्। दोस्रो हप्तामा प्रवेश गरेको फिल्म 'ब्याच नम्बर १६' महँगो लगानी उठाउन संघर्षरत् छ।फिल्म वितरणमा देशभर नेटवर्क बिस्तार गरेको डिजिटल सिनेमा नेपाल (डिसिएन)का महाप्रबन्धक अशोक शर्मा फिल्मको मागभन्दा पूर्ति बढी भएकाले यो अवस्था आएको बताउँछन्। 'नेपालका हलहरूलाई वर्षको २६ फिल्म भए पुग्छ। तर, यो वर्ष फिल्मको संख्या ७० पुगेको छ।' अन्दाधुन्दा फिल्ममा लगानी गर्नेका कारण पनि व्यापार धरासायी भएको उनको धारणा छ। 'फिल्म भनेको धेरै सोच विचार गरेर बनाउनु पर्छ। अहिलेका निर्माताहरू फिल्म बनाएपछि मात्र सोच्न थाल्छन्,' सही परामर्शको अभावमा नयाँ निर्माता डुबेको उनको धारणा छ। 'राम्रो फिल्म बनाउने भनेर करोडौं लगानी गर्नु पर्दैन। आवश्यक मेहनत गरे ५० लाखमा शानदार फिल्म बन्छ,' उनी योभन्दा बजेट नबढाउनसल्लाह दिन्छन्।'नयाँ निर्माता भएको फिल्मको बजेट बढी लागेको सुनिन्छ। बीचकाले चलखेल गरेर यसो भएको हो। निर्माता अगाडि नदेखिने फिल्म पनि बनेका छन्। यस्तोमा तेस्रो पक्षको हालीमुहाली हुनाले बजेट बढेको हुनसक्छ,' उनी भन्छन्। नेपाली मात्र नभई विदेशी फिल्मको व्यापार पनि राम्रो नभएको उनी बताउँछन्। निर्माताहरू केही हलका ज्यादतीको शिकार बनेको पनि उनले लुकाएनन्।फिल्मको खराब नतिजाको कारण निर्माण कम्पनी नदोहोरिएको बताउँछन् वितरक सुनील मानन्धर। 'नयाँ निर्माता फिल्म व्यापारको सामान्य अवस्था पनि नबुझी निर्माणमा होमिन्छन्,'सुनीलका अनुसार पुरानाले चलाएको गलत प्रचारले यो क्रम बढेको हो। उनी भन्छन्, 'फिल्मले १० लाख उठाएको हुँदैन। निर्माताहरू मालामाल भएको बताउँदै नयाँ फिल्म बनाइहाल्ने गफ दिन्छन्। त्यसपछि उनीहरूको अनुहार देखिँदैन।'फिल्म चलेको तीन दिनमै लगानी उठेको गफ दिनु उनलाई विकृति जस्तै लाग्छ। फिल्म डुब्नुमा निर्देशकको हात पनि कम्ती देख्दैनन् उनी। 'एउटै कथा दोहोर्‍याएर पनि फिल्म चल्छ? नयाँ निर्देशकहरू पनि पुरानै पाराका छन्,' सुनीलले मूल्यांकन गरे।यो आरोपलाई अस्वाभाविक ठान्दैनन् नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक।'दर्शकको सोचाइ र मनोरञ्जन गर्ने शैलीमा परिवर्तन आएको छ। उनीहरूले यथार्थता खोजेका छन्। हामीले दिन सकेका छैनौं,'उनी स्विकार्छन्। एकथरीले फिल्मको परम्परागत शैलीलाई निरन्तरता दिएको र अर्को थरीले धेरै लगानीको फुर्ति गर्दै बनावटी फिल्मलाई मलजल गरिहेको पाठक बताउँछन्।'दर्शकको नजिक रहेर फिल्म बनाउनु पर्छ भन्नेमा छलफल गरिरहेका छौं।परिणामको लागि समय त लागिहाल्छ,' उनी पनि व्यापारिक असफलताको दोस भने हलहरुलाई नै थोपर्छन्। 'निर्देशकले चाँदीमा दिएको परिकारलाई हलले टपरीमा दिइरहेको छ,' उनी भन्छन्, 'राम्रो क्वालिटी दिन निर्माताले महँगो प्रविधि अपनाउँछन्। नेपालका फिल्म हल यति झुर छन् कि दर्शकले त्यसको स्वाद लिनै सक्दैनन्।'

0 comments:

Post a Comment