काठमाडौ, भाद्र १८ - एकैछिन कल्पना गर्नुस् त, तपाई कुनै फिल्म हेर्न महँगो टिकट काटेर हलभित्र छिर्नुभयो तर बीचैमा फिल्म हेर्न छाडेर हिँड्नु पर्यो । कारणः तपाईंलाई त्यो पटक्कै मनपरेन । त्यतिबेला कस्तो महसुस गर्नुहुन्छ ? पक्कै पनि मन खिन्न हुन्छ । सायद रिस पनि उठ्छ होला । यस्तै भयो महेश्वर धिताललाई । धेरैपछि नेपाली फिल्म हेर्न भनेर हलभित्र छिरेका यी १९ वर्षेले नाक खुम्च्याउँदै भने, 'क्या झुर फिल्म रहेछ ! फिल्म हो कि टेलिफिल्म छुट्याउन नै गार्हो । इम्प्रेसन नै खराब भयो ।' उनले त अब हलमा गएर नेपाली फिल्म हेर्नुअघि ठण्डा दिमागले सोच्ने बताए ।
महेश्वर जस्तै नेपाली फिल्मको नाम लिनेबित्तिकै नाक खुम्च्याउने शहरी तन्नेरी प्रशस्त भेटिन्छन् । अधिकांशको नेपाली फिल्मलाई हेर्न दृष्टिकोण नकारात्मक छ । जेम्स बन्ड, एन्जेलिना जोली, टम क्रुजका फिल्ममा बढी रमाउने यस्ता युवालाई नेपाली नायक, नायिकाको नाम लिन पनि धौधौ पर्छ । हलिउड र बलिउड फिल्मको बाढी नै आएको शहरी क्षेत्रमा युवामाझ कलिउड प्रतिको मोह तुलनात्मक रुपमा कम पाइन्छ ।
'नेपाली चलचित्रमा खाली एउटै विषय वस्तुको मात्र प्रभुत्व पाइन्छ । कि त ढिसुम्, ढिसुम् कि त पे्रम कथा । खोई नयाँ सोचको कमी भएर हो कि अलग धारका चलचित्रहरु कमै बन्छन्,' २२ वर्षिया प्रेरणा कार्कीले भनिन् । हाल स्नातक अध्ययन गरिरहेकी उनलाई पनि विदेशी चलचित्र नै मनपर्छ रे ! उनले हेरेका अँग्रेजी फिल्मको सुची पनि लामै रहेछ । भन्छिन्, 'कहाा हलिउड फिल्म कहाँ कलिउड ?'
तर सम्पदा मल्लको विचार भने अलि फरक छ । हालै भारतको एक एकेडेमीबाट फिल्म मेकिङ्मा मास्टर्स गरेकी सम्पदा नेपालमा पनि कागबेनी (पहिलो डिजिटल फिल्म भएपनि व्यवसायिक नै), दासढुङ्गा जस्ता अलग धारका चलचित्र बनेको बताउँछिन् । भन्छिन्, 'खाली विदेशी चलचित्रसाग नेपाली चलचित्रको तुलना गर्नु हुँदैन । उनीहरुको स्तर धेरै माथि छ । तर हामीले पनि त्यसतर्फ पाइला चालेका छौं ।' उनका अनुसार प्रयोगवादी फिल्म प्रायः असफल हुने हुँदा निर्माताहरु अलग धारका चलचित्रमा हात हाल्न त्यति अग्रसर हुँदैनन् । उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा पनि मनोज पण्डित, प्राच श्रेष्ठजस्ता नवप्रतिभा छन् । भन्छिन्, 'आशा अझै बाँकी छ ।'
त्यसो त नेपाली फिल्मको बजार नै सानो छ । त्यसमाथि सीमित दर्शकलाई लक्षित गरेर फिल्म बनाइन्छ । त्यसैले पनि अरु धारका फिल्मका बिरलै बन्छन् ।
'कहाँ भेटिएला' की नायिका श्वेता खडकाका अनुसार यहाँ हुने प्रविधिक कठिनाइ, सीमित श्रोत साधन, आर्थिक समस्या आदिले गर्दा चलचित्रको विकास चाहेअनुरुप हुन सकेको छैन । तैपनि उनी सम्पदा जस्तै आशावादी देखिन्छिन् । भन्छिन्, 'नवप्रतिभा आउने क्रम जारी छ । सबै दर्शकहरुले मन पराउने चलचित्रहरु बन्दै गए भने हाम्रो चलचित्रको स्तर पनि विदेशी चलचित्रको स्तरमा पुग्न धेरै समय लाग्दैन ।'
खाली सीमित श्रोत साधन, कम लगानीलाई मात्र चलचित्र विकासको मुख्य बाधक रुपमा लिन नहुने बताउँछिन् पे्रक्षा अधिकारी । हाल 'हाम्री शिवानी' नामक टेलिचलत्रिमा मुख्य अभिनय गरिरहेकी प्रेक्षा भन्छिन्, 'कम लगानीमा पनि स्तरीय चलचित्र बनेका छन् जस्तै 'रक अन' ।' उनले खेलकुद, इतिहास, साहित्यका कृति आदिलाई आधार मानेर चलचित्र बनाउनु पर्ने बताइन् । जोसिदै भन्छिन्, 'पल्पसा क्याफेलाई आधार मानेर चलचित्र बनोस् न । लगान जस्तो क्रिकेटलाई आधार मानेर उत्कृष्ट चलचित्रहरु बनोस् । अनि कसले नहेर्ला र ?'
सहमति जनाउँछिन् आरजे तथा इभेन्ट प्लानर मंगोलिका चक्रवर्ती । भन्छिन्, 'कुनै पनि व्यापार वा चलचित्र बनाउन धेरै लगानी मात्र होइन, ठूलो आइडिया पनि चाहिन्छ ।' उनका अनुसार राम्रो कथावस्तु भएको, सबैले रुचाउने खालका चलचित्र बने भने त सबैले नेपाली चलचित्र हेरिहाल्छन् नि ! भन्छिन्, 'ल जय नेपाल, कुमारी हलमा जाने दर्शक र मोफसलका दर्शक सबैले रुचाउने खालका चलचित्र बनोस् न अनि कसले हेर्छ र विदेशी चलचित्र ?' हो पनि !
0 comments:
Post a Comment