कता हराए कोरस डान्सर

बढीभन्दा बढी कोरस डान्सरलाई नाच्न लगाई गीत भव्य बनाउने होडबाजी नेपाली फिल्ममा एकताका खुब चलेको थियो। फिल्मका 'धनीमानी'ले खोलाको किनारादेखि डाँडापाखा कोरस डान्सरले छोपिदिन्थे। नृत्य निर्देशकबाट निर्माता बनेका राजु शाहले त 'मुस्कान'मा राम्रैसँग आफ्नो 'जनपरिचालन' देखाए। अत्याधिक कोरस प्रयोग गर्ने उनको सामर्थ्यको लामै समय चर्चा चलेको थियो। अहिलेका फिल्मी गीतमा भने कोरस देख्नै मुस्किल पर्न थालेको छ। अनिवार्य पक्ष नभए पनि नेपाली फिल्ममा गीतको संख्या घटेको छैन। तर, हिरोहिरोइनका पछाडि नाच्ने कोरस डान्सरहरु भने घटेको मात्र होइन लगभग हटिसके।
बजेट घटाउने नाममा कोरसको कटौती गर्न थालेको बताउँछन् मेघलाल बम्जन। 'महिनामा दुई वटा गीत पनि पाउन गाह्रो भयो। एउटा गीतको १७ सयले कसरी बाँच्नु?' नाम र दामको आकर्षण देखेर यो क्षेत्रमा लागेका बम्जन जीविकोपार्जनका लागि क्यासिनोमा नाच्न थालेका छन्। पारिश्रमिक थोरै भए पनि दोहोरीमा काम पाइरहेका थिए उनले। तर, दोहोरी गीतका निर्माता चलाख हुन थालेका छन्। 'पहिला आठ मिनेटको गीत बन्थ्यो।

अहिले ३० सेकेन्डको प्रोमोले काम चलाउँछन्,' यसले कोरस डान्सरको बेरोजगारी अझै बढायो।

दिलिप रायमाझी र सुशील क्षेत्रीलाई यही पेशाले हिरो बनाएको देखेका बम्जन ठूलै सपना सजाएर नाच्न थालेका हुन्। 'हामीजस्तो साधारण मानिसलाई माथि पुग्न गाह्रो रहेछ,' यो बुझाइसँगै उनी विकल्पको खोजीमा लागे।


कोरस डान्सर बबिता लामालाई पनि यो पेशाको मोह घटेको छ। साथीसंगीले गतिलो कमाइ गरेको बुझेपछि विदेश जाने प्रयासमा छिन्। 'दुबईमा डान्सरको खुब डिमान्ड छ भन्छन्। अब त्यतै लाग्ने सोचमा छु,' बबिताले भनिन्। उचित पारिश्रमिक नदिने र सिकारुबाट काम चलाउने परिपाटीले पनि उनलाई अझै वितृष्णा पैदा गरेको छ।


सिपालु डान्सरलाई फिल्म, मध्यमलाई आधुनिक र पप, ठिकैकालाई दोहोरी गीतमा खटाउने गरेका छन् कोरसका ग्रुप लिडर सागर लामाले। काम अनुसार पारिश्रमिक पनि फरक छ। फिल्ममा नाच्नेले दुई हजार पाउँछन् भने आधुनिक र दोहोरीकाले क्रमशः एक हजार र पाँच सय। राजधानीको बागबजारमा डान्स सेन्टरसमेत चलाउने सागरले कोरसको पारिश्रमिक बढेपछि निर्माताहरु तर्सिएको अनुभव गरेका छन्। उनको आफ्नै विश्लेषण छ, 'उचित पारिश्रमिक दिएर योग्य कलाकार राख्दैनन्। फिल्म लाइन खस्किएको त्यही भएर हो।' फिल्मले कोरस घटाएपछि स्कुल, क्यासिनो, रेस्टुरेन्ट र विदेशतिर उनीहरु विस्थापित भएको देख्छन् उनी।


नेपाल टेलिभिजनको डान्स सम्बन्धी रियालिटी सो 'छमछमी'ले गर्दा नृत्य सिक्न आउनेको संख्या बढेको मान्छन् सागर। सोही कार्यक्रमका उत्पादन पार्वती राई र पूर्णिमा श्रेष्ठको सफलताले धेरैलाई लोभ्याएको अड्कल उनको छ।

थोरै बजेटका फिल्मले आफूहरुलाई काम दिन नसकेको डान्सरहरू सुनाउँछन्। थोरै पारिश्रमिक, त्यो पनि समयमा नदिने निर्माताले धेरैलाई हैरान बनाएको छ। तर, नृत्य निर्देशक गोविन्द राई भने फिल्मी गीत निर्माता होइन नृत्य निर्देशकको खटनमा चल्ने दाबी गर्छन्। अनुभवले खारिँदै गएपछि उनको मान्यता पनि फेरिएको छ।

कोरसबिनाको गीतलाई नुनबिनाको तरकारी जस्तै ठान्ने नृत्य निर्देशक रोम्यान्टिक गीतमा कोरसको प्रयोगलाई 'वाहियात' बताउँछन्। 'फिल्ममा अचेल रोम्यान्टिक गीतको लहर छ। यसमा कोरस सुहाउँदैन। युगल गीतमा कोरसले माहोल नै बिथोल्छ,' उनले भने। अहिले रिलिज भइरहेको फिल्म 'जब जब माया बस्छ'लाई कोरस बिना नै पूरा गरेका राईले गत वर्षको हिट फिल्म 'गोर्खा पल्टन'मा कोरसले मैदान भरेका थिए। 'त्यो मेलाको गीत थियो। त्यसैले सुहायो। तर, जथाभावी कोरस प्रयोग गर्दा नेचुरल हुँदैन,' यस्तै बुझाइका कारण फिल्ममा कोरसको प्रयोग कम हुन थालेको निष्कर्ष उनी दिन्छन्।

0 comments:

Post a Comment