मसान : खिचिएको नाटक

सिनेमा : मसान
निर्देशन/पटकथा : नीर शाह
कथा : स्वर्गीय गोपालप्रसाद रिमाल 
कास्ट : राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना
निर्माण : नीर फिल्मस र रिमाल इन्टरप्राइजेज 
यस चलचित्रको प्रथम प्रदर्शनी (प्रिमियर)को मञ्चमा निर्माता तथा निर्देशक नीर शाहले भनेका थिए –प्रायः नेपाली सिनेमा ‘सी’बाट सुरु हुन्छन् तर ‘म’सम्म आइनपुग्दै बीचमै सकिन्छन् । यो सिनेमा ‘सी’बाट सुरु भएर ‘म’ सम्म पुग्नेछ र नेपाली चलचित्रको इतिहास लेखिँदा यो चलचित्रले आफ्नो स्थान सुरक्षित गर्नेछ ।’समिक्षाको प्रश्नमा शाहको भनाईलाई यसकारण उध्दृत गरिएको हो कि उनी नितान्त सहि बोल्दै थिए । हाम्रो यथार्थ यही वाक्यांशभित्र सीमित छ । ‘सी’बाट सुरु भएको सिनेमा बीचमै सकिन्छ, हराउँछ अनि दर्शक रिक्तताको अनुभूति बोकेर हलबाट बाहिरिन बाध्य हुन्छन् । जसको उपज, नेपाली चलचित्र आज घिटिघिटिको अवस्थामा आइपुगेको छ । यस्तो कहालीलाग्दो परिस्थितीबीच ‘सी’बाट सुरु भएर ‘म’सम्म पुग्ने भनेर दावी गरिएको सिनेमाप्रति ठूलो आशा खडा भएको थियो । एकतिर नेपाली साहित्यको एउटा उत्कृष्ट नाटकलाई चलचित्र बनाउने प्रयास र अर्कोतिर शाहजस्तो अनुभवी निर्देशकबाट यस्तो प्रयत्न भैरहेको अवस्थामा ‘मसान’ले एक ऐतिहासिक चलचित्ररुपी दस्तावेज बन्न सक्ने सम्भावना बोकेको थियो । रिमालद्वारा लिखित यो कृति पढेका थुप्रैका लागि र नपढेका तर सुनेका अरु थुप्रैका लागि यो सिनेमा एउटा अवसरको रुपमा थियो । पर्दामा सशक्त द्वन्द्व बोकेको नाटकको चलचित्रात्मक रुपान्तरण हेर्ने र यस्तो अवसर नेपाली चलचित्र घरहरूको पर्दामा विरलै पाइन्छ –व्यावसयिकताको नाममा बलिउड र कोरियन चलचित्रको अनुवादको विगविगी भैरहेको वर्तमान यथार्थमा । दुर्भाग्यवश, यो सिनेमा ‘सी’बाट सुरु हुँदा–हुँदै ‘सी’मै सकिन्छ । ‘मा’सम्म पुग्ने त कल्पना पनि गर्न सकिन्न । पटकथाकार तथा निर्देशक शाहले भनेजस्तै यो चलचित्र नेपाली रजतपटको इतिहासमा स्थान सुरक्षित गर्न लायक त छ तर साहित्यिक कृतिबाट असफल चलचित्र बनाइएको श्रृङ्खलाभित्र । स्वदेशी रजतपटको लागि यो चलचित्र वर्षकै ठूलो दुर्भाग्य हो । कारण –सृजनात्मक दृष्टिकोणले प्रशस्त सम्भावना रहेको चलचित्रको सृजनात्मक पक्षमै पूर्णतः असफल बन्यो र साहित्यिक कृतिमाथि चलचित्र बनाउने अभियानमा कहिँ–कतै नैराश्य स्थापित गराइदियो । ‘मसान’ दुर्घटनालाई गहनताका साथ विश्लेषण गर्दा एउटा महत्वपूर्ण प्रश्न उजागर हुन्छ –नेपाली सिनेमाले चलचित्रको भाषालाई किन यति धेरै उपेक्षा गरेको हो ?के हामीले चलचित्रको भाषा सिकेका छैनौं या जानेका छैनौं ? अथवा जानेर पनि बेवास्ता गरेका छौं ? के चिनमा गएर चिनियाँसँग हामीले नेपाली भाषामात्र बोलेर हुन्छ ? चिनमा चिनियाँसँग घुलमिल हुन चिनियाँ भाषा नै जान्नुपर्छ भनेजस्तै चलचित्रको देशमा नाटकको भाषा बोलेर हुन्छ ? चलचित्रकै भाषामा बोलिनुपर्छ अनि मात्र चलचित्र देशका खुला नागरिक (जसलाई हामी दर्शक भन्दछौं), उनीहरूले हामीलाई बुझ्न सक्छन् र आत्मसात गर्न सक्छन् । यसर्थ यस चलचित्र भनिएको ‘मसान’ भाषागत दृष्टिकोणले चलचित्र नभएर नाटकलाई क्यामेराले खिचेर काट्ने र जोड्ने सम्पादन गरेर देखाइएको नाटक मात्र हो भनेर श्रेणीगत गर्दा धेरैलाई तीतो महसुस होला तर यथार्थ त्यही हो । मुटुमाथि ढुङ्गा राखेर नेपाली सिनेमा उद्योगले बरिष्ठ भनेर सम्बोधन गरिने निर्देशक शाहको यस पटकको प्रयासलाई यसरी मूल्यांकन गर्नुपर्दा हामीपनि मर्माहत भएका छौं । पुरुषत्वको स्वार्थ र यौन कुण्ठाको उपजमा मातृत्वको द्वन्द्व ‘मसान’ कृतिको कथन थियो । जसलाई नाटककार रिमालले तत्कालिन कालखण्ड, परिस्थिती र साधन तथा स्रोतको हेतुले नाटकीय परिधिमा लेखेका थिए । तसर्थ, ‘शब्द’ले यसमा प्राथमिकता पाएको थियो भने ‘श्रवण’ तथा ‘वाचन’लाई मूल आधार मानिएको थियो । तर, जब साठी वर्षपछि शाहले त्यस कृतिमाथि चलचित्र निर्माणको प्रयास गरे, तबपनि उनले (शाह)ले रिमालकै स्थानमा बसेर सिनेमा बनाए । रिमालकै आँखा र मनोविज्ञानमा शाहले सिनेमा निर्माण गरे । रिमाल शाहमा रुपान्तरण हुन सोच भएर बरु शाह रिमालमा रुपान्तरण भए । शाहको क्यामेरा रिमालको कलममा रुपान्तरण भैगयो । समग्रमा रिमालको ‘मसान’ नाटक शाहको चलचित्र ‘मसान’मा रुपान्तरित हुनुपर्ने हो । तर, हुन नसक्दा सर्वाधिक महत्वपूर्ण र आधारभूत त्रुटि हुन पुगेको छ जसको लागि निर्देशकसँग आफ्नै भनाइ र तर्क होलान् तर दर्शकको रुपमा चलचित्र घरभित्र पसेपछि कोहीपनि ‘नाटक’ हेरेर बसिरहन सक्दैन । यस्तो सृजनात्मक अन्याय यस सिनेमाबाट भएको ‘नबोल, देखाऊ’ चलचित्रको भाषाको आधारभूत व्याकरण हो तर ‘मसान’मा ‘बोल, नदेखाऊ’ सिद्धान्त अवलम्वन गरेर निर्देशकले चलचित्रका विशेषज्ञहरूको उपलब्धीलाई चुनौति दिएका छन् । हरेक चलचित्रमार्फत कुनै न कुनै कथा देखाउने हो, सुनाउने होइन । तसर्थ, पर्दामा देखिसकेपछि बल्ल कथाको स्वरुप दर्शकको मनोविज्ञानमा स्थापित हुन्छ, अनुभूति पैदा हुन्छ अनि दर्शक चलचित्रका पात्रको जीवनको नजिक पुग्छन् । हिस्सा बन्छन् । तर, कथा सुनाउने निर्देशकको यस प्रयत्नसँग आत्मसात गर्न भने कुनै हदसम्म पनि सकिँदैन । प्रतिष्ठित सिनेमा पुरस्कार (एकेडेमी अवार्ड–ओस्कार)मा एउटा विधा छ जहाँ त्यसवर्ष निर्माण भएका चलचित्रहरू प्रतिस्पर्धा गर्छन् जसको पटकथा कुनै साहित्यिक कृति या अन्य प्रकाशित कृतिबाट रुपान्तरण गरिएको हुन्छ । उत्कृष्ट रुपान्तरित पटकथा भनेर सम्बन्धित पटकथाकारलाई पुरस्कृत गरिन्छ । यसर्थ रुपान्तरणको महत्वलाई विश्वले बुझेको छ नत्र मौलिक कृतिलाई जस्ताको तस्तै साभार गर्ने कामको लागि उक्त पुरस्कार दिइँदैन । मौलिक कृतिलाई चलचित्रको पटकथामा सफल रुपान्तरणको सृजनात्मक उपलब्धीलाई सम्मान गर्दै सो पुरस्कार दिइने यथार्थ हुँदा–हुँदै पटकथाकार र निर्देशक शाहले रिमालको नाटक ‘मसान’लाई चलचित्र ‘मसान’मा रुपान्तरण गर्दा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पुरा नगरेको कारणले यस कृतिलाई चलचित्रको रुपमा मसानघाट पुर्‍याउने काम मात्र भएको निष्कर्ष निकाल्न सकिन्छ । अहिलेका नेपाली चलचित्रहरूमा एउटा स्टाइल हावी हुन थालेको छ –आउट अफ फोकस ।’ दृश्यहरू खिच्ने र सम्पादनलाई पनि सहर्ष स्वीकार गर्ने । यस्तै, स्टाइल यस चलचित्रमा पनि अपनाइएको छ जसमा करिब २५ प्रतिशत दृश्यहरूले ‘सार्पनेस’ पाउन सकेका छैनन् । प्राविधिक कठिनाइ वा कमजोरी हो तर, पर्दामा देखिने दृश्यले ‘फोकस’जस्तो आधारभूत आवश्यकताको मापदण्ड पुरा गर्न नसक्दा लज्जापन महसुस हुन्छ । त्यस्तै सम्पादनको पक्षमा भने एक दृश्यमा यति लापरवाही गरिएको छ कि संवादको वाक्य संरचनामा सुरुमा आउनुपर्ने पछाडि र पछाडि आउनुपर्ने अगाडि आउँछ र गोलमाल सुनिन्छ पर्दामा । प्राविधिक पक्षमा ‘मसान’ कमजोर फोकसमा खिचेर जोरजाममात्र गरिएको नाटकमा सीमित हुन पुगेको छ । अझ त्यसमाथि, पाश्र्वसंगीत (ब्याकग्राउन्ड स्कोर)को छनौट चलचित्रको अर्को कमजोरी बनेको छ । ‘मसान’ जुन कालखण्ड र संस्कृतिको उपज हो, त्यस अवस्थाको ध्वनी प्रतिनिधित्व गर्न र कथाको अन्तरद्वन्द्व, भावना र उद्वेगलाई प्रतिनिधित्व गरिएको छैन । दृश्य र ध्वनीबीच सुमधुर सम्बन्ध स्थापना हुन नसक्दा पाश्र्वसंगीत संयोजन उपलब्धीविहिन हुन पुगेको छ । अभिनय पक्षमा भने मसानलाई मध्यम मान्न सकिन्छ । विशेषतः दुईजना महिला पात्र (हेलेने र कान्छीबजै)बीचको पर्दामा देखिएको प्रस्तुतिमा सहजता ल्याउन धेरै कोसिस गरिएको छ । जसलाई सह्राना गर्नुपर्छ । तर, पटकथा संरचना देखिनै कमजोरी भएको कारण कलाकारहरू पात्रलाई जीवन्त बनाउन असक्षम भएका छन् । पुरुष मुख्य पात्रको भूमिकामा (कृष्णबाजे) कलाकारलाई एकदम थाकेको र नैराश्य अनुभूति गर्न सकिन्छ र उनले आफ्नो पात्रको बहुआयामिक स्वरुपलाई पर्दामा विश्वसनिय बनाउन सकेका छैनन् । केही पात्रहरू आवश्यकताभन्दा बढी चिच्याइरहेका छन् भन्ने अनुभूति हुन्छन् भने कोही पात्रहरू अस्पष्ट र प्रतिविम्वित हुन्छन् । समिक्षा गर्दा चलचित्रको नराम्रो मात्र धेरै लेख्यो, राम्रो पनि लेखेर सन्तुलन गर्नुपर्दछ भन्ने आरोप र सम्भावनाहरू आइरहेको अवस्थामा बाध्य भएर ‘मसान’को राम्रो पक्ष केलाउन बस्दा शाहको उत्साह र प्रयत्न तथा सर्जक रिमालको परिवार नै चलचित्र बनाउन अग्रसर हुनु यसका सकारात्मक पाटा हुन् । तर, चलचित्र समिक्षा चलचित्र प्रस्तुतिको प्रोजेक्टर अनगरेदेखि प्रोजेक्टर अफसम्मको समायावधिभित्रको मूल्यांकनमा आधारित हुने हुँदा विगत र पृष्ठभूमिहरूको कुनै ठाउँ रहँदैन । कठोर निर्मम हुनुपर्ने बाध्यता रहन्छ । यसर्थ हाम्रा शब्दहरूले सर्जकको मान प्रतिष्ठा र अहमतालाई कहिँ ठेस पु¥याएमा हामी आग्रह र पूर्वाग्रह नभएको र समिक्षाको उद्देश्य वैचारिक वहसको सृजनात्मक उत्थान भएको दर्शाउँदै स्वर्गीय रिमालले नेपाली साहित्यमा पु¥याएको योगदान तथा नीर शाहज्यूको चलचित्र योगदानप्रति पनि हामी श्रद्धा व्यक्त गर्न चाहन्छौं । अन्त्यमा, निर्देशक र पटकथाकार शाहले प्रिमियर मंचमा व्यक्त गरेका धारणाबाट प्रभावित भएको यो समिक्षक के निष्कर्षमा पुगेको छ भने –चलचित्र बनाउनु भनेको भाषण गर्नुजस्तो सजिलो छैन र हरेक उत्कृष्ट कृति समात्दैमा उत्कृष्ट चलचित्र बन्न सक्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले अब साहित्यिक कृतिलाई चलचित्र बनाउँदा आगामी दिनमा चलचित्रकर्मीले बडो सहजता अपनाउने छन् भन्ने आशा गर्दछौं ।
साभार :मेरो सिनेमा

0 comments:

Post a Comment