सुष्माको रेट चारलाख !

सुष्मा कार्कीको ग्राफ उकालो चढिरहेको छ । यी डिभाले आइतबार सुरज आचार्यको अपकमिङ प्रोजेक्टमा चारलाखमा साइन गरिन् जसलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । योसँगै सुष्मा नेपाली सिने उद्योगकी सर्वाधिक महङ्गी हिरोइन बनेकी छिन् । यसअघि 'के यो माया हो' निर्माण गरिसकेका आचार्यले लभस्टोरी श्रेणीको दोस्रो सिनेमा बनाउन लागेका हुन् । रोचक कुरा त, नेपाली फिल्मका महङ्गा हिरो आर्यन सिग्देलसँग सुष्माले रोमान्स गर्नेछिन् ।'सो रकममा सुष्मालाई अनुबन्धित गरेका छौं । केही दिनमा आर्यनलाई अनुबन्धित गर्छौं' निर्माता आचार्यले भने । यस्तो लाग्छ- अपवादबाहेक 'के यो माया हो'को टीम नै बनाउन लागिएको नयाँ फिल्ममा दोहोरिएको छ । 'लभ' वर्किङ टाइटल दिइएको फिल्मलाई 'के यो माया हो' लेखेका मुम्बइका निरजविक्रमले लेखेका हुन् । आगामी चैतबाट सुटिङ सुरु हुने सिनेमाका अन्य कलाकारबारे सार्वजनिक गरिएको छैन । ९० लाख बजेटको सिनेमालाई सुरंगना फिल्मस प्रालिले निर्माण गर्न लागेको हो । कम्पनीले यसअघि 'के यो माया हो' बनाएको थियो ।चलचित्रमा सुष्मा दोहोरो भूमिकामा देखापर्दैछिन् । दोहोरो भूमिकामा उनी लभरगर्ल बन्नेछिन् । यसैबीच सुष्मा सविर श्रेष्ठकी हिरोइन बनेकी छिन् । सविरले निर्देशन गर्न लागेको चलचित्र 'शत्रु'मा सुष्माले शनिबार साइन गरिन् । सहरका डनहरुको कथामा बन्न लागेको सिनेमामा राजेश हमाल डनको भूमिकामा खेल्दैछन् । फिल्ममा सुष्मा सुमन सिँहको अपोजिटमा देखापर्नेछिन् ।

बढ्दैछ ऋचाको ढुकढुकी

फस्ट लभ डेब्यू नायिका ऋचा शर्माको ढुकढुकी अहिले निकै बढि रहेको छ । उनी निकै उत्साहित भएकी छिन् । कारण उनले अभिनय गरेको चलचित्र 'मेरो लभ स्टोरी' प्रदर्शनको तयारीमा छ ।यहि असोज १६ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुन लागेको सो चलचित्रमा ऋचाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । फस्ट लभबाट राम्रै प्रशंसा पाएकी यि नायिकाले यस चलचित्रबाट अझै बढि प्रशंसा पाउनेमा ढुक्क छिन् । फस्ट लभमा भन्दा राम्रो काम गरेकाले पनि राम्रो प्रशंसा पाउनेमा उनी बिश्वस्त भएकी हुन् । मेरो एउटा साथी छ र के यो माया हो निर्देशन गरेका सुदर्शन थापाले उनको अभिनय कलालाई निखारेको बुझिएको छ ।आइकोर फिल्मसको व्यानरमा सुरज आचार्य र प्रभुशमसेर राणाले निर्माण गरेको सो चलचित्रमा ऋचाले आर्यन सिग्देल र बिनय श्रेष्ठसँग अन्स्क्रिन रोमान्स गरेकी छिन् । चलचित्रलाई सुनिल मानन्धरले बितरण गर्ने छन् ।

रेखाका तीन अवतार !

दायाँ छेउको तस्विर हेर्दा लाग्छ असोज १६ को 'अन्दाज' रेखा थापाका लागि खास हुनेछ । अहिलेसम्म रेखालाई पृथक भूमिकामा हेर्दै आएका दर्शकले चलचित्र 'अन्दाज'बाट उनलाई नयाँ फ्लेवरमा पाउनेछन् । उज्वल घिमिरेले आफ्नो निर्देशकीय शैलीमा रेखालाई फरक पात्र र भूमिकामा खरो उतारेका छन् । रेखालाई तीन भूमिका र गेटअपमा पाइनेछ -पहिलो थकाली, दोस्रो मोर्डन गल्र्ज र तेस्रो हाउसवाइफ । भूमिकाअनुसार अभिनय र संवेदना पनि फरक हुने नै भए ।जोमसोमको प्रख्यात होटल ओमसोमकी संचालिका बनेर रेखा थकाली देखिएकी छिन् । थाकखोलाको ड्रेसमा रेखा घोडा हाँक्छिन्, स्याउ टोक्छिन् अनि आर्चरी प्रहार गर्छिन् । ठ्याम्मै थकाली ! अक्सिजन रित्तिएको रातो गालाजस्तो रेखाको डिम्पल हुनेछ । काली थकाली ठिटी आफूलाई मिस जोमसोम भन्न रुचाउँछे र ठिटाहरु उसलाई मिस जोमसोम भनेर छेडछाड गर्छन् ।एउटी अनाथ युवती जो हिट मोडल बन्ने सपना पालेर सहर पस्छे । फ्रयांक अनि सोसल भूमिकामा त्यो ठिटी मोडल बन्न थुप्रै गल्लीहरु नाप्छे । अनि अर्को भूमिकामा रेखा विशुद्ध गृहणी बनेकी छिन् । आकाशे सारीमा पोते, सिन्दुर र मिजासिली आनीबानीकी अर्की रेखा । यी त भए तीन भूमिकाको जानकारी । तर, फिल्ममा रेखा कतिवटा भूमिकामा देखिएकी छिन् त्यो जान्न रेखा दर्शकलाई असोज १६ सम्मको डेटलाइन तोक्छिन् ।जतिसुकै मोर्डन भएपनि पतिधर्म पालना गर्नुपर्छ । तर मान्छेको मन न हो' रेखाले सिनेमाको गुदी पहिल्याइन् 'पुरुष महिला र समाजबीचको दृष्टिकोण र सम्बन्धको जटिलता सिनेमाको सन्देश हो ।' अहिलेसम्म आफू अभिनित चलचित्रमध्ये 'अन्दाज' उत्कृष्ट र राम्रो बनेको उनी बताउँछिन् । 'फरक गेटअप र भूमिकामा उत्रिँदा निकै मिहेनत गर्नुपर्‍यो' रेखाको कथन छ 'कसले चोर्‍यो मेरो मन' ऐतिहासिक भएजस्तै 'अन्दाज' पनि ऐतिहासिक हुनेछ ।' सायदै हुनुपर्छ चुलबुले भूमिकामा खेल्ने गरेकी उनलाई बुहारी बनेर सामाजिक घेराभित्र बस्न निकै कठिन भयो रे । रेखाको अवतार हेर्न भने असोज मोफसलका दर्शकले असोज १६ र काठमाडौंकाले २० गते कुर्नुपर्छ ।

अवार्डमा रेखा र आर्यनको जुहारी

फिल्म 'कसले चोर्‍यो मेरो मन'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएपछि राजधानीमा बुधबार आयोजित कार्यक्रममा रेखा थापाले भनिन्, 'म मेरा दुई हिरोलाई धन्यवाद दिन चाहन्छु।' फिल्ममा उनको हिरो आर्यन सिग्देल रहेको सबैलाई थाहा थियो।'तर, दुई हिरोको नाम कसरी आयो?' रेखाले तुरुन्तै कुरा खुलाइन्, 'मेरा हिरोहरु हुन् सबिर श्रेष्ठ र छवि ओझा।' उनले फिल्मसँग सम्बन्धित थुप्रैको नाम लिए पनि आर्यनलाई सम्झिएनन्।सोही फिल्मबाटै उत्कृष्ट अभिनेताको अवार्ड पाए आर्यनले। 'धन्यवाद रेखा, मलाई नसम्झिएकोमा,' आफ्नो पालोमा उनी बोलिहाले। र, दर्शकले रुचाएसम्म सधैं विजय हात पार्न सकिने बताउँदै उनी स्टेजबाट बिदा भए। फिल्मक्षेत्रको भव्य कार्यक्रममा यी हिरोहिरोइनले आफ्नो शीतयुद्धको आफैंले पर्दाफास गरे।छायाँछविले अयोजना गरेको कार्यक्रममा 'कसले चोर्‍यो मेरो मन'ले उत्कृष्ट फिल्मसहित सबिर श्रेष्ठलाई नव निर्देशकको अवार्डसमेत दिलायो। यही फिल्मबाट सुरेश अधिकारी (संगीत), किरण खरेल (गीत), राजु शाह (नृत्य) र निर्जल श्रेष्ठ (कला)ले समेत अवार्ड पाए।'बाटोमुनिको फूल'ले सुरज सुब्बालाई निर्देशकको अवार्ड दिलायो। उनले यही फिल्मबाट पटकथाको अवार्ड पनि पाए। यही फिल्मबाट बाबु बोगटीले सहअभिनेताको अवार्ड पाए। सहअभिनेत्रीको रूपमा नन्दिता केसी र यश कुमारलाई नव अभिनेताको अवार्ड दिलायो फिल्मले।फिल्म 'श्रीमान'बाट नवल नेपालले निर्देशकको जुरी अवार्ड पाए। फिल्म 'ठेगाना'ले क्रिटिक अवार्ड प्राप्त गर्‍यो। यसका निर्देशक रामशरण पाठकले संवादमा समेत अवार्ड पाए। अभिनेता राजेश हमालले 'छायाँछवि च्वाइस अवार्ड' पाए। उनलाई अभिनेत्री करिश्मा मानन्धरले अवार्ड दिएकी थिइन्। कल्याण घिमिरे र पूजना स्त्रीलाई फिल्म 'श्रीमान'बाट पब्लिक च्वाइस अवार्ड मिल्यो।'दुलही'की सुमिना घिमिरेले नवअभिनेत्रीको एवार्ड पाइन्। 'ब्याच नं. १६'का अर्पण थापा खलनायकमा रूपमा उत्कृष्ट भए। चरित्र अभिनेतामा गणेश उप्रेती (ठेगाना), चरित्र अभिनेत्रीमा मिथिला शर्मा (मनमनै मन पराएँ) उत्कृष्ट रहे। छायाँकार पुरुषोत्तम प्रधान र सम्पादक सुरेन्द्र पौडेललाई 'ब्याच नं. १६'बाट अवार्ड मिल्यो। शिव परियार (श्रीमान) र प्रकृति गिरी (बाटोमुनिको फूल)लाई पहिलो फिल्मी गायनले नै उत्कृष्ट बनायो।कृष्ण भट्टराईलाई छायाँछवि पत्रकारिता सम्मान प्रदान गरिएको कार्यक्रममा 'मायाज बार' फिल्मको मुहूर्त र 'मालतीको भट्टी' तथा 'हाम्रो माया जुनीजुनीलाई' फिल्मका गीत विमोचन गरियो।

डुब्लिकेट कलाकार डुब्लिकेटकै भाउमा

नेपाली बजारमा डुब्लिकेटको बिगबिगी छ । गुँदपाक, दूध, जुस, मदिरा, मसलामा मात्रै होइन नेपाली फिल्म क्षेत्रमा पनि मिसावट र नक्कलीपन हावी पाइन्छ । खसीको टाउको देखाएर बाख्रीको मासु बेच्नेहरू सलबलाइरहेको वेलामा नेपाली फिल्ममा भएको विदेशी फिल्म, गीत, धुन, अभिनय, नृत्यको मिसावटमा सरकारले कहिल्यै छापा मार्ला-नमार्ला तर अर्काको स्थापित नाम भजाएर चम्कन खोज्ने नक्कलीहरूको दर्शकले भने दोहोलो काढेका छन् । नेपाली फिल्म उद्योगमा त्यस्ता कलाकर्मी पनि छन् जो आफूलाई चर्चित सेलिब्रेटीसँग जोडेर नाम कमाउन चाहन्छन् । अनि केही हदसम्म दर्शकश्रोताको आँखामा छारो हाल्न सफल पनि भएका छन् । नेपाली फिल्म तथा संगीत क्षेत्रमा धेरै त्यस्ता स्वनामधारी 'सेलिब्रेटी' छन्, जो आफ्नोभन्दा अरूको नामबाट चिनिन चाहन्छन्, चिनिएका छन् । अर्थात् उनीहरू आफूलाई फलानो विदेशी गायक, हिरोजस्तो ठान्छन् । र, त्यही नाम भजाएर स्थापित हुन खोज्छन् । तर, अनुहार कताकता उस्तै लागेको भरमा हिरो बन्नेहरू नराम्रोसँग पछारिएका छन् ।पपगायक धीरज राई आफूलाई नेपाली माइकल ज्याक्सन भन्छन् । उनलाई अरू कसैले नेपाली माइकल ज्याक्सन भनेका होइनन् । उनी आफंैले आफूलाई नेपाली माइकल ज्याक्सन घोषणा गरेका हुन् । उनले आफूलाई नेपाली माइकल ज्याक्सन भन्दै दर्शकश्रोतामाझ प्रस्तुत हुने गरेका छन् । धीरज स्टेजमा माइकलले जस्तो नाच्दै गाउन खोज्छन् । दर्शकले स्वस्फूर्त रूपमा ताली नबजाएपछि ताली बजाइदिनका लागि जबर्जस्ती अनुरोध गर्छन् । धीरजले आफूलाई नेपाली माइकल ज्याक्सन घोषणा गरेको धेरै भइसक्यो । उनले आफ्नो नामको अगाडि नै नेपाली माइकल ज्याक्सन धीरज राई लेख्ने गरेका छन् । धीरजले दिवंगत माइकल ज्याक्सनको नाम कहिलेसम्म भजाइरहने हुन्, यसै भन्न सकिन्न । अभिनेता दिनेश शर्मा एकताका बलिउड नायक सलमान खानको नेपाली संस्करणका रूपमा चिनिन्थे । चट्याङ खेलेपछि टुहुरो फिल्ममा आइपुग्दा दिनेशले आफ्नो नामै फेरे । उनले आफ्नो नाम आशीष राखे । झट्ट हेर्दा सलमान खानझैं देखिने गरेका दिनेश त्यतिवेला सलमानकै स्टाइल अनुशरण गर्न खोज्थे । कालान्तरमा उनी हिरो हुँदै भिलेन अनि चरित्र अभिनेताका रूपमा देखापर्न थाले । नेपाली सलमान खानका रूपमा चिनिने दिनेशले आफ्नो हिरोइज्म स्थापित गर्न सकेनन् । ज्वाला फिल्मका सहनायक अमित ढुंगानालाई सौदागर फिल्मको हिरो विवेक मुश्रानको नेपाली संस्करणका रूपमा लिइन्थ्यो । अमित पनि आफूलाई विवेक नै ठान्दथे । ज्वालामा सहनायक भई अभिनय गरेपछि हिरो बन्नका लागि आफैंले फिल्म निर्माण गर्नुपर्‍यो । माया नमार फिल्म निर्माण गरेर आफूसहित भाइ रमित ढंुगानालाई पनि हिरो बनाएका अमित नक्कली विवेक मुश्रानकै रूपमा रहे । अर्थात् उनले हिरोको रूपमा आफूलाई स्थापित गर्न सकेनन् । बलिउडमा विवेक नचलेझंै कलिउडमा अमित चलेनन् । माया नमारपछि उनी पुनः फिल्ममा देखिएका छैनन् । निर्देशक प्रकाश सायमीनिर्देशित अवतार फिल्मबाट पर्दामा देखापरेका सीमान्त उदास भारतीय नायक ज्याकी श्रापको डुब्लिकेटका रूपमा कहलिन्छन् । अवतारपछि हतियार, रानीखोला, द कमान्डोलगायतका फिल्म खेलेका सीमान्तले हिरो बनिरहनका लागि आफैंले फिल्म बनाउनुपर्‍यो । उनी शुभकामना नामक फिल्म निर्माण गरेर आफैं हिरो बने । तर, शुभकामना फ्लप भयो । त्यसपछि उनले पुनः अर्काे फिल्म निर्माण गरेका छन्- मिसन नेपाल । पछिल्लोपटक ब्रेकफेल फिल्ममा छोटो भूमिकामा देखिएका यी डुब्लिकेट ज्याकी श्राप पनि नक्कली समानकै मूल्यांकनमा परेका छन् । नेपाली फिल्म क्षेत्रमा बलिउडका नायकहरूसँग अनुहारमिल्दा कलाकार पनि छन् । कोही अनुहार मिलेकै भरमा हिरो बन्ने धुनमा लागेका छन् त कोही आफूलाई जबर्जस्ती 'म फलानोजस्तो' भनेर चिनाउने गरेका छन् । रमेश बुढाथोकीनिर्देशित लगनगाँठो फिल्ममा सौरभ कार्कीले अभिनय गर्ने मौका पाए । त्यतिवेला उनी नेपाली बबि देओल भनेर कहलिएका थिए । एभरेस्ट क्यासिनोमा काम गर्ने सौरभले आफूलाई बबि देओलझैं ठाने र हिरो बन्ने धुनमा लागे । लगनगाँठोपछि उनले फेरि तिम्रो याद आयो नामक फिल्म हात पारे । त्यसपछि भने उनको हात खाली भयो । बीचमा करुणालगायतका टेलिशंृखलामा अभिनय गरेका सौरभको हाल बलिउडका बबिको झैं भयो । अर्थात् उता बबि जम्न सकेनन्, यता बबिको डुब्लिकेटका रूपमा चिनिएका सौरभ । उनी केहीअघि घमण्ड नामक भिडियो फिल्ममा देखापरेका थिए । बलिउडमा विवेक ओवरायको चुरिफुरी बढ्न नपाउँदै कलिउडमा जीवनसाथी फिल्मबाट हिरो बनेका नवीन श्रेष्ठको चर्चा चुलिएको थियो । उता विवेक हिरोका रूपमा स्थापित हुँदै गएपछि नवीनले आफूलाई विवेक ओवरायको नेपाली संस्करण ठाने । तर, नवीन केही फिल्ममा हिरो बनेर देखापरे पनि सफल भएनन् । गत वर्ष इलाका फिल्मकी सहनायिका मोनिका शर्मासँग बिहे गरेपछि नवीन पुनः फिल्ममा देखापरेका छैनन् । एकताका नेपाली अर्जुन रामपालका रूपमा चर्चा बटुल्न खोजेका विक्रान्त बस्नेत फिल्म लाइन छाडेर अमेरिका पलायन भए । नेपाली 'आमीर खानजस्तो' भनिने दीपर्शनजंग राणा पनि हिरोको रूपमा स्थापित हुन सकेनन् । नेपाली फिल्ममा बलिउडका अभिनेतासँग अनुहार मिल्दा र मिलेको ठानिने जति पनि अभिनेता छन्् उनीहरू कोही पनि कालान्तरमा सफल देखिएका छैनन् । अनुहार उस्तैउस्तै लागे पनि कलाकारिता, प्राप्ति भने मिल्ने गरेको छैन उनीहरूको । अभिनेता राजेश हमाललाई एकताका भारतीय अभिनेता मिथुन चक्रवर्ती र चंकी पाण्डेसँग अनुहार मिल्दो मानिन्थ्यो । सुरुका दिनमा मान्छेहरू हमाललाई मिथुन भनेर झुक्किने गर्दथे । नेपाली फिल्म उद्याेग्ामा अनुहार मिल्दा कलाकार थुप्रै छन् । तीमध्ये हालै रिलिज भएको मेरो राजेश दाइ फिल्ममा देखापरेका शीतल केसीलाई भने राजेश हमालको डुब्लिकेटको रूपमा हेरिन्छ । शीतल मेरो राजेश दाइमा अभिनेता राजेशको भाइ भई अभिनय गरेका छन् । कपाल, हिँड्ने, बोल्ने अनि हेराइको स्टाइल पनि हमालसँग मिल्दोजुल्दो भएकाले शीतललाई राजेश हमालको डुब्लिेटका रूपमा हेरिन्छ । शीतल भने आफू आफ्नै नामले चिनिन चाहने बताउँछन् । 'म आफ्नै नाम र कामले चिनिन चाहन्छु । राजेश दाइसँग मेरो तुलना गर्न मिल्दैन,' शीतल भन्छन्, 'उहाँ सर्वाधिक लोकपि्रय, चर्चित र स्थापित कलाकार हो । मैले त संघर्ष गर्न अझ धेरै बाँकी छ । ' अभिनेता सुनिल थापा र निर्देशक सोभित बस्नेतको अनुहार पनि उस्तैउस्तै लाग्ने गर्छ । कतिपयले थापा र बस्नेतलाई दाजु-भाइ पनि ठान्ने गरेका छन् । दुई निर्माता नायक सुरज आरडी र दिनेश थापाको अनुहार पनि मिल्दोजुल्दो छ । कतिपय दर्शक दिनेश र सुरजमा झुक्किने गरेका छन् । एकताका उषा पौडेललाई मनीषा कोइरालाको रूपमा हेर्ने गरिन्थ्यो । उषा पनि आफूलाई मनीषाकै रूपमा प्रस्तुत गर्न खोज्थिन् । मनीषा बलिउडमा स्थापित भई विस्थापित भइसकेकी छिन् भने उषा भने बलिउडमा स्थापित हुने सपना बुनेर मुम्बईमा संघर्षरत छिन् । नेपाली फिल्ममा डुब्लिकेटका रूपमा देखापरेका अभिनेता-अभिनेत्रीहरू कालान्तरमा डुब्लिकेटसमानकै भाउमा पुगेका छन् । आफ्नो मौलिकतामा भन्दा अरूको देखासिकीमा लाग्नाले अनुहार मिले पनि आफूलाई नेपाली संस्करण ठान्नेहरूले सफलता भने हात पार्न सकेका छैनन् ।

अचानकै आयो अचानक

गत पुष २१ गते पालो पाएर पनि प्रदर्शन हुन नसकेको चलचित्र 'अचानक' अन्तत: शुक्रबारबाट देशव्यापी रूपमा अचानकै प्रदर्शनमा आएको छ । पालो पाएको बेला चलचित्र तयार नभएपछि सरेको चलचित्र 'अचानक' सञ्चारमाध्यममा चलचित्रको राम्रै प्रचारप्रसार हुनु पर्दछ भन्ने मन्यतालाई तोड्दै करिब आठ महिना पछि प्रदर्शनमा आएको हो । देशभक्त खनालले निर्देशन गरेको चलचित्र अचानकलाई डिजिटल सिनेमा नेपालले बितरण गरेको हो । निखिल उप्रेती, दिलिप रायमाझी, गौरी मल्ल, जेसिका खड्का, उषा पौडेल, रेजिना उप्रेती, सुनिल थापा, सुनिलदत्त लगायतका कलाकारहरूको अभिनय रहेको सो चलचित्रलाई सरोज शर्माले निर्माण गरेका हुन् । जन्म, प्रेम, बिबाह, बिछोड, द्धन्द्ध, कलह, दुश्मनी, मृत्यु सबै कुरा अचानक हुन्छ, जे पनि हुन्छ थाहै नदिई अचानक हुन्छ भन्ने विषयमा निर्माण भएको चलचित्र तिरुपति पिक्चर्स प्रालिको व्यानरमा निर्माण भएको हो ।निर्देशक खनालकै कथा रहेको सो चलचित्रमा गीत डा. कृष्णहरि बराल, दिनेश सुवेदी र दयाराम पाण्डे, संगीत महेश खड्का, नृत्य गोविन्द राई, द्धन्द्ध एनबी महर्जन, छायाकन दीपक ढकाल, सम्पादन तारा थापा किम्भेको रहेको छ ।

हिन्दी र बंगालीमा 'सायद' रिमेक हुने

नेपाली सिनेमा 'सायद'लाई हिन्दी र बंगाली भाषामा रिमेक गरिने भएको छ । भारतीय निर्माण संस्था देव क्रीएटिभले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएका हो । रिमेकका लागि कम्पनीले ४८ लाख रुपैंयामा सिनेमा र संगीतको प्रतिलिपि अधिकार खरिद गरेको छ । भारतीय सिनेमाको कपी भनेर आलोचना हुँदै आएको नेपाली फिल्मलाई पहिलोपटक भारतीय फिल्म निर्माण कम्पनीले खरिद गरेको हो ।सो अवसरमा कम्पनी प्रमुख अमरदेव र निर्माण संस्था दुर्गिश फिल्मसका सुनिल रावलबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । बंगाली र हिन्दी भाषामा रिमेक गरिने सिनेमामा 'सायद'का जुनियर कलाकारहरुको अभिनय र संगीतलाई जस्ताको तस्तै राखिनेछ भने सिनियर कलाकारमा स्वयम चर्चित बंगाली कलाकारहरु देखापर्नेछन् । 'यो हाम्रो पहिलो प्रयास हो' संवाददाताहरुसँग बोल्दै कम्पनी प्रमुख अमरदेवले भने 'नेपाली सिनेमाको अन्तराष्ट्रियकरणका लागि यो सार्थक पहल हुनेछ ।'चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी, निर्देशक केपी पाठक, निर्माता राजकुमार राई, सुनिलकुमार थापा, बंगाली निर्माता टीकम शर्मालगायतले नेपाली सिनेमाको विदेशी रिमेक महत्वपूर्ण हुने बताए । दसैंपछि नेपाल र भारतका कतिपय स्थानमा पुनःसुटिङ गरेर रिमेकको काम थालिने जनाए । 'जुनियर जेनेरेसनलाई रिमेकमा समिटिनेछ' शर्माले भने 'संगीतलाई हिन्दी भस्रनमा डबिङ गरिनेछ ।' इजरायलबाट विदेश यात्रा थालेको फिल्म 'सायद' पुस्तान्तरको समस्यामा आधारित छ । फिल्मलाई नेपाली निर्देशक सुरज सुब्बाले निर्देशन गरेका हुन् ।सो अवसरमा पूर्वेली गायक डेभिड शंकरद्धारा गायनबद्ध एल्बम 'माइ ड्रीम्स'को विमोचन समेत गरियो । बिग प्रोडक्सन हाउसले बजारमा ल्याएको उक्त एल्बमलाई निर्माता राजेश घतानीले विमोचन गरे । डेभिडले उनै निर्माता घतानीको अपकमिङ प्रोजेक्टमा पाश्र्वगायन गर्नेछन् । फिल्ममा संग्रहित गीतमा बाबु बोगटी, प्रमोद खरेलको संगीत छ भने शब्द घतानीको पनि छ ।