रेखाको जवानी

अभिनेत्री रेखा थापाका बारेमा नेपाली माया नगरीमा हुने साझा टिप्पणी यस्ता छन्, 'उनी घमण्डी छिन्। कसैलाई मान्छे गन्दिनन्। युज एन्ड थ्रो गर्न खप्पिस छिन्।' सोह्र वर्षकै उमेरमा फिल्म खेल्न थालेकी थिइन् रेखाले। उनको पहिलो फिल्म 'हिरो' हो। हिरोका निर्देशक नरेश पौडेल र निर्माता छवि ओझासँग उनको एकसाथ अफेयर चलेको थियो।पौडेल र ओझा निकै घनिष्ट मित्र थिए। रेखाकै कारण उनीहरूबीच दरार आएको थियो। छविले रेखालाई बिहे गरेपछि नरेश र छविबीच पानी बाराबारको स्थिति आएको थियो।'लेखाउन र देखाउन माहिर नायिका'को उपाधि पाएकी रेखा चौपट्टै बाठी छिन्। उनी कसैलाई मान्छे गन्दिनन्। नयाँ र पुराना सबै हिरोइनलाई बाल गन्दिनन्। कतिपटक त नवनायिकाहरूलाई सुटिङ स्पटमा धर्धरी रुवाएकी छिन् उनले। 'नयाँलाई उनी हतोत्साही बनाउँछिन्,' रेखापीडित एक नायिका भन्छिन्।रेखा कुनै पनि सम्बन्धलाई आफ्ना अधिकतम हितमा प्रयोग गर्न शिपालु छिन्। कसलाई अँगाल्ने, कसलाई पन्छाउने, यस विषयमा उनी खेलाडी नै छिन्। निखिल उप्रेतीलाई पन्छाउन उनले विराज भट्टलाई 'किस्मत'मा ब्रेक दिइन्। विराजको उपयोगिता सकिएपछि उनलाई हटाउन रेखाले आर्यन सिग्देललाई कजाउन थालिन्। हिरो फेरिरहनु मानौँ उनको बानी बनेको छ। आर्यन पछि उनले आयुष रिजाललाई आफ्नो बसमा पारिन्। रेखाको 'हिरो चेन्ज अफर'मा अहिले आइपुगेका छन् नायकद्वय किशोर खतिवडा र सविन श्रेष्ठ। उनले केही दिनअघिमात्रै सुटिङ सुरु गरेको फिल्म 'रावण' मा यी दुईजनालाई मुख्य भूमिकामा लिएकी छिन्।उनको थुप्रै नायक र निर्देशकहरूसँग खटपट छ। फिल्मकर्मीहरू उनको मै हुँ भन्ने स्वभाव (इगोइजम)ले उनी एक्लिँदै गएको बताउँछन्। माया नगरीका धेरैसँग उनले सम्बन्ध बिगारिसकेकी छिन्।कुनैबेला निखिल उप्रेती उनका सारै मिल्ने साथी थिए भने अहिले निखिल र रेखाबीच 'दुश्मनी' छ। तर, रेखा यसलाई सिधै नकार्छिन्,' निखिल एकदमै मुडी छन्। उनलाई कसैसँग व्यवहार गर्नै आउ"दैन। उनको शब्दकोषमा 'रेस्पेक्ट' भन्ने शब्द नै छैन।'रेखाको क्रोध र दुर्व्यवहारका शिकार भएका फिल्मकर्मीहरूको लामै लिस्ट छ। 'रेखा थापालाई नयाँ नयाँ कुरा मन पर्छन्। कलाकार पनि उनलाई सधैं नयाँ चाहिन्छ। कलाकारहरूलाई उनी आफ्नो फिल्ममा ब्रेक दिन्छिन् र आफ्नो मतलब सिद्ध भएपछि मतलबै गर्दिनन्,'एक निर्देशक भन्छन्।रेखा र निर्देशक दीपक श्रेष्ठ पहिले राम्रै साथी थिए। यी दुई मिलेर फिल्म 'हिम्मत' बनाएका थिए। तर, यसै फिल्मको सिक्वेल 'हिम्मत-२' बनाउँदा यी दुईबीच खटपट भयो। रेखाले हिम्मत-२ मा हालीमुहाली गर्न खोजेपछि दीपक र रेखाको सम्बन्ध चिसियो। रेखालाई दिपकको कुरा मन नपर्ने, दिपक पनि रेखासँग झुक्न नखोज्ने। दीपकले हिम्मत- २ बनाएर रेखाको इगोलाई ठेगान लगाइदिए। दीपक भन्छन्, 'मलाई कसैसँग रिसइवी छैन। मैले रेखाजीलाई सँगै मिलेर फिल्म बनाऔँ भनेकै हुँ। उनैले नमानेकी हुन्। मैले आफ्नो काम नै छाडेर उनलाई पर्खेर बस्ने कुरो पनि त आएन। रेखासँग मेरो कुनै वैरभाव छैन।'रेखा र आर्यन सिग्देलबीचको सम्बन्ध अन अफ भइरहन्छ। 'किस्मत'मा आफैँले ब्रेक दिएको आर्यनसँग उनको धेरैपटक खटपट परिसकेको छ। आर्यनलाई रेखाले आफ्नो फिल्ममा थोरै पारिश्रमिक दिएर खेलाउन चाहेकाले उनीहरूको सम्बन्ध बिग्रिएको बताइन्छ। पैसाकै कारण आर्यनले रेखाको फिल्ममा प्रोपर टाइम दिएनन् र रेखाले नयाँ कलाकार आयुष रिजाललाई आफ्नो फिल्ममा ब्रेक दिइन्।तर,आर्यन रेखासँग सम्बन्ध बिग्रिएको कुरा खुलेर मान्न तयार छैनन्। तर, घुमाउरो पारामा उनले भने, 'मैले टाइम म्यानेज गर्न सकिरहेको छैन। त्यसैले त्यस्तो लागेको होला। हामी कलाकारहरूमा खटपट त भई नै रहन्छ। यो कुनै नौलो विषय होइन।'निर्देशक नरेश पौडेलले रेखा थापालाई करिअरको पहिलो ब्रेक दिएका थिए। पौडेलका अनुसार, नायिका रेखा प्रतिभाशाली र मेहनती कलाकार हुन्। 'उनले फिल्मजगतमा आफ्नो स्थान बनाइसकिन्,' पौडेल भन्छन्, 'अब न उनलाई कसैले उछिन्नसक्छ न कोही उनको बराबरीमा नै आउनसक्छ। आफैँ फिल्म प्रोड्युस गर्नु अझ राम्रो कुरा हो। झिनो मसिनो कुरामा किचलो हुनु त साधारण हो नि!'रेखा आफ्नै होम प्रोडक्सनका फिल्महरूमा व्यस्त हुने गरेकी छिन्। अरू निर्देशकहरूसँग कम नै देखिनुले पनि उनी एक्लिएको अनुमान लगाउन गाह्रो छैन। रेखाले आफ्नो जवानीको तुजुक, हैसियतको घमण्ड र मै हुँ भन्ने पारा नछाड्ने हो भने उनको क्रेज, प्रतिष्ठा र करिअर समाप्त हुन धेरै समय लाग्नेछैन। यसैपनि जवानी धेरै दिनको हुँदैन।

समलिंगी युवतीको प्रेम

समलिंगी युवतीको प्रेमकथामा फिल्म बन्ने भएको छ। नेपाली समाजले स्विकार्दै गरेको सम्बन्धलाई 'स्नो फ्लावर' नामक फिल्मले पनि उठान गर्न लागेको हो।राजधानीमा बुधबार फिल्मको मुहूर्त गरियो। फ्रान्समा बस्ने नेपाली रंगकर्मी सुवर्ण थापाको निर्देशनमा बन्ने फिल्ममा दिया मास्के र निशा अधिकारीले दुई समलिंगी युवतीको भूमिका निर्वाह गर्नेछन्।'प्रेममा सेक्स नै हुनुपर्छ भन्ने छैन। भावनात्मक रूपमा समलिङ्गीहरू पनि समाजकै सदस्य हुन्,'अभिनेत्री निशा अधिकारीले भनिन्। फिल्मकौ लागि आफ्नो लामो कपाल काटेकी निशालाई यो फिल्मको ठूलो आशा छ।'ग्रामीण क्षेत्रमा यस्ता मानिसहरू छन्। जो खुल्ला रूपमा आउन सकेका छैनन्। यो फिल्म यस्ता मानिसका लागि प्रेरणाको स्रोत हुन सक्छ,'उनले थपिन्। कार्यक्रमका अतिथि निर्देशक नवीन सुब्बाले फिल्मको उच्च सम्भावना रहेको सुनाए। उनले भने,'नेपाली फिल्म रूपान्तरणको प्रक्रियामा रहेको प्रमाण हो यो। यो फिल्म कोशेढुंगा हुनसक्छ।''स्नो फ्लावर'का निर्देशक सुर्वण थापाले दुई वर्षको अनुसन्धानपछि फिल्म निर्माण गर्न लागेको बताए।'समलिंगीबारे फिल्म बन्नै पर्छ भन्ने लागेर स्त्रि्कप्ट तयार गरेको हुँ।नेपालमा लैंगिक अल्पसंख्यक को पक्षमा आवाज उठिरहे पनि खुल्लासँग हिँड्ने वातावरण छैन,' उनले थपे। अर्की अभिनेत्री दिया मास्केलाई पनि नौलो विषयमा काम गर्न पाएकोमा रोचक महसुस भएको छ।'विदेशमा यसबारे धेरै फिल्म बने पनि नेपालमा पहिलोपटक समलिङ्गी बन्न लागेको छ। राम्रो हो।'कार्यक्रममा फिल्ममा राखिने दुई गीत नताशा र सुजिताले सुनाएका थिए। फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, भारती घिमिरे, निशा शर्मा, नम्रता श्रेष्ठ र राजवल्लभ कोइरालाको समेत अभिनय छ। बिहीबार सुरु हुने फिल्मको सुटिङ काठमाडौं र पोखरामा गरिनेछ। पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'गुडबाई काठमाडौं'का प्रमुख अभिनेता सुवर्णले यसअघि सरुभक्तको नाटकमा आधारित छोटो फिल्म 'मलामी' निर्देशन गरेका थिए।

राजेशको जीवनसँग मिल्ने फिल्म

अभिनेता राजेश हमालले फिल्म 'मेरो राजेश दाइ' आफ्नो पारिवारिक प्रसंगसँग निकै नजिक रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित उक्त फिल्मको गीत विमोचन कार्यक्रममा राजेशले यस्तो बताएका हुन्। फिल्ममा देखाइएको पारिवारिक भावनासँग आफ्नो कथा मिल्ने खुलासा गर्दे उनले भने, 'म दाइ हुँ। मेरो भाइसँग निकै आत्मीय सम्बन्ध छ। हामीले बुबाआमालाई चाँडै गुमायौं,' फिल्मको यस्तै विषय आफ्नो जीवनसँग नजिक रहेको उनले चर्चा गरे।क्यासेट विमोचनमा विरलै देखिने राजेशले मंगलबार दिनभर यही फिल्मको प्रचारप्रसारमा बिताएको बताए। 'आजको दिन राजेशमय भयो। दिउँसो नेपाल टेलिभिजनको कार्यक्रम छमछमीमा सहभागी हुन गएँ। त्यसपछि मिस टिनको कार्यक्रममा पुगेँ। अहिले यहाँ पनि यही फिल्मको चर्चा गर्दैछु,' उनले भने। व्यापारिक सफलतालाई हेरेर नभई आफ्नो प्रशंसकका हिसाबले यो नाममा फिल्म बनाउने निर्माण समूहलाई उनले धन्यवाद दिए। निर्माता रोज राणाले यो नाममा आफूलाई फिल्म बनाउने रहर भए पनि अरूले उछिनेको बताए। संगीतकार वसन्त सापकोटाले फिल्मको कथासँग बाँध्ने कोसिसका साथ गीत तयार पारेको बताए। फिल्मका निर्देशक ऋषि न्यौपानेले राजेशको २२ वर्षे योगदानको कदर गर्दै यो नाममा उनैको प्रमुख भूमिकामा फिल्म बनाएको बताए।प्रस्तुतकर्ता सन्देश बराइलीले भदौ १६ देखि राजधानी बाहिर फिल्म रिलिज गरिने जानकारी दिए। निर्देशक न्यौपाने र संगीतकार वसन्त सापकोटाका साथै उत्तम गौडेलले फिल्मको गीत लेखेका छन्। राजेश हमालका साथै अरुणिमा लम्साल, शीतल केसी, हेमन्त बुढाथोकी, रामचन्द्र अधिकारीलगायतका कलाकारले यसमा अभिनय गरेका छन्।यसमा मौनता श्रेष्ठको स्क्रिप्ट, एनबी महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य र अनिल गौतमको सम्पादन रहेको छ।

'बाटो मुनिको फूल' पछि 'बितेका पल'

चलचित्र 'बाटो मुनिको फूल' निर्माण गरेका निर्माता राजेश घतानीले सोही चलचित्रका निर्देशक सुरज सुब्बा 'नाल्बो' लाई लिएर अर्को चलचित्र निर्माण गर्दैछन् । कुमार लिम्बु र कृष रिजालको समेत लगानी रहने सो चलचित्रको नाम 'बितेका पल' राखिएको छ ।सत्य घटनामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको बुधबार नक्साल स्थित भर्जिन रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ शुरू गरियो । चलचित्रको पहिलो गीत रेकर्डिङ गर्ने काम शिब परियारले गरे । राजेश घतानीको गीत तथा बाबु बोगटी र डम्बर नेपालीको संगीत रहने सो चलचित्रमा ४ वटा गीत समावेश गरिंदै छ । जसमा दुई गीतमा बाबु बोगटी र बाँकि दुई गीतमा डम्बर नेपालीले संगीत भरेका छन् । तीन वटा पप तथा आधुनिक गितीसंग्रह निकाली सकेका गायक तथा संगीतकार डम्बर नेपालीले चलचित्रमा भने पहिलो पटक संगीत दिंदैछन् ।दशैं र तिहारको बिचमा थाईल्यैण्डबाट सुटिङ प्रारम्भ गरिने सो चलचित्रमा बाबु बोगटीले मुख्य पात्रको भुमिका निर्वाह गर्दैछन् । निर्माता घतानीकै कथामा निर्देशक सुब्बाको लेखन रहेको सो चलचित्रमा संजय लामाको छायाँकन तथा गोबिन्द राईको नृत्य निर्देशन रहने छ । चलचित्रमा बाबु बोगटी बाहेक अन्य सबै नयाँ कलाकार राखिने निर्माता घतानीले जानकारी गराए ।

नाङ्गो ट्रफि किन ?

यति बेलाको समय अवार्डको मौसम जस्तो देखिएको छ । सांगितिक क्षेत्रका केही अवार्डहरु सम्पन्न भै सकेका छन् भने केही हुने क्रमममा छन् । यता चलचित्र क्षेत्रसंग सम्बन्धित अवार्ड कार्यक्रमहरु पनि भैरहेका छन् । प्राबिधिक संघले आयोजना गरेको अवार्ड हुदै छ भने छाँयाछबि प्रकाशनको सिजी डिजीटल फिल्म अवार्ड भाद्र २८ गते सम्पन्न हुँदैछ । बक्स अफिस फिल्म अवार्ड र राष्ट्रिय फिल्म अवार्ड कार्यक्रमहरु पनि हुँदैछन् भने फिल्मीखबर डटकमको आवार्ड कार्यक्रम १४ फेब्रुअरीमा हुँदैछ ।
नेपालमा मात्र हैन बिश्वका जुनसुकै अवार्ड कार्यक्रममा पनि नाङ्गो ट्रफि प्रदान गर्ने चलन रहेको छ । बिश्वमा पहिलो पटक चलचित्रकर्मीहरुको सम्मानमा आयोजना गरिएको ओस्कार अवार्ड देखी आज सम्म सम्पन्न भएका जुन सुकै अवार्ड कार्यक्रमहरुमा पनि उत्कृष्टलाई नाङ्गो ट्रफि दिएको हामीले देख्ने गरेका छौ । तर नाङ्गो ट्रफिनै प्रदान गरिनुको कारण बारे भने चलचित्रकर्मीहरु असपष्ट देखिएका छन् । यसबारे चलचित्रकर्मीहरुले आ-आफ्नै बिचारहरु दिने बाहेक ठोकुवा नै गरेर यहि कारण हो भन्न सकेका छैनन् ।केही चलचित्र अवार्ड कार्यक्रममा जुरीको भुमिका निभाएका बरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले महिलालाई लक्ष्मीको रुपमा मानिने प्रचलन रहेका कारण धेरै ट्रफिहरुमा महिलालाई अंकित गरिने बताएका छन् । सृष्टीको संरचना अनुसार महिला पुरुष एक अर्काका लागी अपरिहार्य भएकोले पछिल्लो समय दुबैलाई अंकित गरिएको हुनु पर्ने उनको भनाई छ । तर नाङ्गो ट्रफिका बारेमा भने उनको बिचारमा बिश्वमा नै नाङ्गो ट्रफि दिने प्रचलन भएका कारण नेपालमा पनि यसले निरन्तरता पाएको हो ।कलाकार, लेखक तथा निर्देशक मोहन निरौला पनि केही अवार्ड कार्यक्रमहरुमा जुरीको भुमिका निभाउने चलचित्रकर्मी हुन् । उनको बुझाइमा भने मानिस जन्मदा नाङ्गै जन्मिने अनि मर्दा पनि नाङ्गै मर्ने हुँदा जीवनको अर्थ बुझाउनका लागी नाङ्गो अवार्ड प्रदान गरिएको हुनु पर्दछ । संसारमा सृष्टी पछि मानव जीवनको बिकाश क्रममा महिला र पुरुषको साथ बिना बंश नचल्ने यथार्थताका अगाडी त्यहि कुरालाई बुझाउन महिला र पुरुष अंकति ट्रफि प्रदान गरिएको हुनु पर्ने निरौलाको ठम्याई छ ।
यस्तै केही अवार्ड कार्यक्रमहरुमा जुरीको भुमिका निभाएका बरिष्ठ चलचित्र पत्रकार तथा सिजी डिजिटल अवार्डका अध्यक्ष शान्ती प्रियको बुझाइमा भने चलचित्र अवार्ड कार्यक्रमहरु निश्पक्ष हुन्छन् भन्ने कुरा बुझाउनको लागी नाङ्गो ट्रफि प्रदान गरिएको हो । मानिसको वास्तबिक स्वरुप समेत नाङ्गो शरिरमा मात्र झल्कने हुँदा अवार्ड पनि स्वतन्त्र र निस्पक्ष छ भन्ने कुरा बुझाउन नाङ्गो ट्रफि प्रदान गरिने गरिन्छ । यस्तै निर्देशक नवल नेपालको भनाई पनि ठ्याक्कै यस्तै छ ।यता पत्रकार तथा केही चलचित्र अवार्ड कार्यक्रममा जुरीको भुमिका निभाएका राजेश खनालको बुझाईमा जीवन दर्शन बुझाउन पनि नाङ्गो ट्रफिको प्रयोग गरिएको हो । उनले मानिस जन्मदा र मर्दा पनि नाङ्गो नै हुने भएकाले जीवनसंग तुलना गरेर नाङ्गो ट्रफि प्रचलनमा छ । नाङ्गो ट्रफिका बारेमा चलचित्रकर्मीहरुका आ-आफ्नै बुझाइ भए पनि यकिनका साथ भने कसैले भन्न भने सकेनन् । जे होस्, नाङ्गै ट्रफि दिने प्रचलनको आफ्नै बिशेषता भएकोले यसले निरन्तरता पाओस् र सबै अवार्डहरू निष्पक्ष हुन् । हाम्रो शुभकामना !

ह्याट्रिकबाट बच दिपेन्द्र

निर्देशक दिपेन्द्र के. खनालको चलचित्र 'चपली हाइट' को छायाँकन अन्तिम चरणमा पुगेको छ । दुई वटा गीतहरु छाँयाकन गर्न बाँकि रहे पनि अन्य सम्पूर्ण छायाँकन सकिएको छ ।२२ दिनमा चलचित्रका दुई गीत बाहेक अन्य सम्पूर्ण भागको छायाँकन सकिएको बताउने दिपेन्द्रले बुधबारबाट गीतको छायाँकन थालिने जनाएका छन् । रेनसा राईको नृत्यनिर्देशन रहने चलचित्रका २ गीतहरु काठमाण्डौ र पोखरामा छायाँकन गरिने खनालको भनाई छ ।अमिर गौतम, बिनिता बराल र राज घिमिरेले मुख्य भुमिकामा अभिनय गरेको चलचित्रको थ्रिलर रहेको छ ।चपली हाइटमै घटेको सत्य घटनालाई चलचित्रमा उतारेको दिपेन्द्रले जनाएका छन् । बैशाख १गते भित्रमा चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने गरी कामलाई तिब्रता दिएको खनालको भनाई छ ।चपली हाइटकै कथा भएका कारण काठमाण्डौको उत्तरी डाँडो चपली हाइटमा नै चलचित्रको छायाँकन गरिएको खनालको भनाई छ। चलचित्रको कथा अनुसार छायाँकनका लागी काठमाण्डौ बाहिर जान नसके पनि गीतका लागी भने पोखराका रमाईला रोमान्टिक दृष्यहरु समाबेश गरि छाड्ने उनको भनाई छ ।यसअघि चलचित्र 'द युगदेखि युगसम्म' मा राजेश हमाललाई फरक गेट अपमा उतार्नुका साथै नायिका नन्दिता केसीसँग किस गराएर चर्चा पाएका खनालले त्यसपछि दोस्रो चलचित्रमा बलिउडमा ख्याति पाएकी नेपाली चेलि मनिषा कोइरालालाई अभिनय गराएर चर्चा बटुलेका थिए । व्यापारिक दृष्ट्रिकोणले यि दुबै चलचित्र असफल भए । अहिले प्राय नयाँ कलाकारलाई पर्दामा उतारेर बजार हल्ला पिटाउन थालेका दिपेन्द्रको तेस्रो चलचित्रले भने राम्रो व्यापार गरोस् । नत्र फेरी असफल चलचित्र निर्देशकको रुपमा दिपेन्द्रको ह्याट्रिक नहोला भन्न सकिन्न ।

पाँच अभिनेत्रीसँग सुन-संवाद


१. सुनको भाउ तोलाको साढे ४९ हजार पुगेको सुन्दा तपाईलाई कस्तो लाग्यो?
सञ्चिता लुइँटेल : यो त अत्याचार नै हो। चाडपर्व सुरु हुने बेलामा अचाक्ली महँगो भएको छ। सुनको लक्ष्मी बनाउने रहर अहिले पूरा नहुने भएको छ।
नम्रता श्रेष्ठ : कुनै पनि सामानको मूल्य बढ्नु ठिक होइन। सुन नभई नहुनेलाई यसले अप्ठेरो पार्छ।
निशा अधिकारी : आफूले बिहे गर्न लागेको भए वा आमालाई सुनको केही उपहार दिनु परेको भए निकै गाह्रो हुन्थ्यो होला। त्यस्तो केही नभएकोले मलाई खासै चासो छैन।
अरूणिमा लम्साल : पहिले नै केही जोडेर राखेको हुँदा खुसी लागेको छ। अहिलेको भाउमा बिक्री गर्दा राम्रै फाइदा हुने भएको छ।
२.तपाई सुनको के लगाउनु हुन्छ?
सञ्चिताः सिक्री र औठी लगाउँछु।
नम्रताः म सुनको पारखी होइन। तैपनि ग्रहदशाको कारण आमाको करले दुइटा आँैठी लगाएकी छु। सुनको अरु केही छैन।
निशाः आमाले दिनुभएको 'गुडलक'को औँठीमात्र लगाउँछु।
अरूणिमा : म सुन पाएसम्म लगाउँछु। औँठी, सिक्री, ब्रासलेट र बाला।
३. गहना लगाउन सुनको विकल्प के हुनसक्ला?
सञ्चिता : नक्कली सुन पनि छ। सेतो सुनको माग पनि धेरैले गर्ने हुँदा सुन नै लगाउनुपर्छ भन्ने छैन। तीज नजिँकिदै छ। सुन लगाएर हिँड्दा ज्यानमाथि आक्रमण नहोला भन्न सकिन्न। गएको तीजमा मेरो घरबाट झन्डै १९ लाखको सरसामान चोरी भएको थियो। त्यसमा सुनकै गरगहना बढी थिए।
नम्रता : प्लाटिनको सिक्री र सेतो सुन प्रयोग गर्दा राम्रो हुन्छ।
निशा : चाँदी र सेतो सुन राम्रो विकल्प हो।
अरूणिमा : म चाहिँ चाँदीलाई छनोट गर्छु।
४.'ल्हासामा सुन छ कान मेरो बुच्चै' उखान अहिले पनि सान्दर्भिक छ?
सञ्चिता : नयाँ पुस्तामा सुनप्रतिको रुचि कमै देखिन्छ। त्यसैले यो उखान सान्दर्भिक नहोला कि।
नम्रता : कहिलेकाहीँ पारिवारिक जमघटमा मात्र प्रयोग हुन्छ। यो सान्दर्भिक छैन।
निशा : पैसा छ भने सहरमा जहाँ गए पनि किन्न सकिन्छ नि। ल्हासा पुग्नु पर्दैन।
अरूणिमा : महँगो छ। त्यसैले जोकोहीलाई सुन लगाउन सजिलो छैन। उखान सान्दर्भिक नै छ।

५. सुन किन महँगो भएको होला?
सञ्चिता : चाडपर्वको कारणले माग बढ्दा अन्यको तुलनामा महँगो भएको हो कि।
नम्रता : धेरैको रोजाइ नै सुन भएर हुन सक्छ।
निशा : माग बढी तर पाउन गाह्रो भएकोले महँगो भएको हो।
अरूणिमा : यसको उत्पादन पनि कम र डलरसँग समायोजन हुने हुनाले महँगो भएको हो।

६. मान्छेको स्तर सुनको गहनाले निर्धारण गर्छ?
सञ्चिता : बिल्कुलै गर्दैन। कतिपय समुदायले सांस्कृतिक रूपमा नै सुन लगाउँलान् तर सहरमा बस्नेले सुन खासै लगाउँदैन पनि।
नम्रता : मान्छेको स्तर र सुन अलग कुरा हुन्। कसैलाई नभई हुँदैन। कसैले भए पनि लगाउँदैन।
निशा : गर्दैन। तर कुनैकुनै ठाउँ वा समारोहमा शोभनीय नै हुन्छ होला।
अरूणिमा : सबै धनी मान्छेले सुन लगाउँदैन। त्यसैले सुनलाई मान्छेको स्तर मान्न मिल्दैन।