समलिंगी युवतीको प्रेम

समलिंगी युवतीको प्रेमकथामा फिल्म बन्ने भएको छ। नेपाली समाजले स्विकार्दै गरेको सम्बन्धलाई 'स्नो फ्लावर' नामक फिल्मले पनि उठान गर्न लागेको हो।राजधानीमा बुधबार फिल्मको मुहूर्त गरियो। फ्रान्समा बस्ने नेपाली रंगकर्मी सुवर्ण थापाको निर्देशनमा बन्ने फिल्ममा दिया मास्के र निशा अधिकारीले दुई समलिंगी युवतीको भूमिका निर्वाह गर्नेछन्।'प्रेममा सेक्स नै हुनुपर्छ भन्ने छैन। भावनात्मक रूपमा समलिङ्गीहरू पनि समाजकै सदस्य हुन्,'अभिनेत्री निशा अधिकारीले भनिन्। फिल्मकौ लागि आफ्नो लामो कपाल काटेकी निशालाई यो फिल्मको ठूलो आशा छ।'ग्रामीण क्षेत्रमा यस्ता मानिसहरू छन्। जो खुल्ला रूपमा आउन सकेका छैनन्। यो फिल्म यस्ता मानिसका लागि प्रेरणाको स्रोत हुन सक्छ,'उनले थपिन्। कार्यक्रमका अतिथि निर्देशक नवीन सुब्बाले फिल्मको उच्च सम्भावना रहेको सुनाए। उनले भने,'नेपाली फिल्म रूपान्तरणको प्रक्रियामा रहेको प्रमाण हो यो। यो फिल्म कोशेढुंगा हुनसक्छ।''स्नो फ्लावर'का निर्देशक सुर्वण थापाले दुई वर्षको अनुसन्धानपछि फिल्म निर्माण गर्न लागेको बताए।'समलिंगीबारे फिल्म बन्नै पर्छ भन्ने लागेर स्त्रि्कप्ट तयार गरेको हुँ।नेपालमा लैंगिक अल्पसंख्यक को पक्षमा आवाज उठिरहे पनि खुल्लासँग हिँड्ने वातावरण छैन,' उनले थपे। अर्की अभिनेत्री दिया मास्केलाई पनि नौलो विषयमा काम गर्न पाएकोमा रोचक महसुस भएको छ।'विदेशमा यसबारे धेरै फिल्म बने पनि नेपालमा पहिलोपटक समलिङ्गी बन्न लागेको छ। राम्रो हो।'कार्यक्रममा फिल्ममा राखिने दुई गीत नताशा र सुजिताले सुनाएका थिए। फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, भारती घिमिरे, निशा शर्मा, नम्रता श्रेष्ठ र राजवल्लभ कोइरालाको समेत अभिनय छ। बिहीबार सुरु हुने फिल्मको सुटिङ काठमाडौं र पोखरामा गरिनेछ। पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'गुडबाई काठमाडौं'का प्रमुख अभिनेता सुवर्णले यसअघि सरुभक्तको नाटकमा आधारित छोटो फिल्म 'मलामी' निर्देशन गरेका थिए।

0 comments:

Post a Comment