तुलसी घिमिरे,जसलाई नेपाली चलचित्र क्षेत्रका हस्तीमध्येका एक मानिन्छ । बामे सरिरहेको अवस्थाको चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन जीवनका थुप्रै वसन्त खर्चेका यी हस्ती अहिले पनि महत्वाकांक्षी योजना बुनिरहेका छन् । चलचित्र क्षेत्रका बूढाबाघ मानिने घिमिरेसँग अनलाइनखबरका लागि सरिता लामिछानेले गरेको कुराकानी ।
-दाइ, आरामै हुनुहुन्छ ?
आरामै छु बैनी ।
-
बिरामी आमालाई भेट्न कालिङपोङ जानु भएको थियो, कहिले आउनु भयो ?
भयो केही दिन ।
-
कस्तो रहेछ आमालाई ?
बुढ्यौली उमेर हो । तैपनि अहिले राम्रै छ ।
तपाईंको ‘दृष्टिकोण’ के हुँदैछ ?
अहिले पोष्ट प्रोडक्सनमा छ ।
के हो ‘दृष्टिकोण’ ?
अनौठो प्रेमकथा हो । सबैको मनमा बस्ने चलचित्र हो ।
-
फेरि ‘द’ मै र्फकनु भएको हो ?
संयोग हो । खै कसरी हो मलाई ‘द’ नै जुर्छ ।
-
पछिल्लो पुस्ताका केही निर्देशकहरु त तुलसी घिमिरेहरुका दिन गए पनि भन्छन् नि ?
यो समय हो । बहर गोरुलाई सुरुसुरुमा जोत्दा भन्छन् रे- ‘ए ! यो सब खेत हामी नै जोतिहाल्छौं, यी बूढा गोरुहरुको काम छैन ।’ तर एउटा गरो जोतिसकेपछि थकित भएर भन्छन् रे- ‘लौ हामीबाट यो काम सम्भव छैन । बूढा गोरु नै बोलाउँ ।’ यसरी अरुलाई कम आँक्नु राम्रो होइन ।
-
पछिल्लो समय रजतपटमा देखिएका नायिकाहरु कस्ता लाग्छन् ?
नायिकाहरु छन् र ! छन् जस्तो लाग्दैन मलाई त । नायिकाहरु त ती थिए- तृप्ति, करिष्मा, गौरी, जल, निरुता र अन्य धेरै । अहिलेका बैनीहरुले आफ्नो ठाउँ बनाउन सकेका छैनन् । पहिलेका नायिकाहरुको स्थान अग्लो हुन्थ्यो । अहिले धेरै नानीहरुले गति छाडेजस्तो लाग्छ ।
यस्तो भन्नु पर्दा मलाई पनि दुःख लागेको छ । हाम्रो मौलिकता बचाउने हाम्रै नायिकाहरु हुन् । मौलिकता बिगार्ने पनि उनीहरु नै, जो अहिले भइरहेको छ । नायिका बन्न चाहने चेलीहरुले गम्भीर भएर सोच्ने बेला आएको छ ।
-
निर्देशक तुलसी घिमिरेको सपना के हो ?
यस्तो चलचित्रको निर्माण गर्छु जसले नेपाली चलचित्र क्षेत्रकै धार परिवर्तन गरोस् ।
-
विश्वस्त हुनुहुन्छ ?
छु कुनै समय कुसुमे रुमाल, दर्पणछायाँले पनि धार परिवर्तन गरेका थिए ।
-
सिल्भर जुब्ली निर्देशकको नजरमा अहिलेका चलचित्रहरु ?
केही हदसम्म ठीकै होलान् तर यो ट्रेन लामो समयसम्म कायम रहँदैन । अहिलेका चलचित्र फास्टफुड हुन् । यिनले आर्थिक सन्तुष्टि त देलान् तर स्वस्थ जीवन जिउन अर्गानिक फुड नै चाहिन्छ ।
-
मतलब, मूलधारकै चलचित्र ?
हो । अब म मूलधारको ट्रेन नै फेरिने गरी चलचित्र बनाउँछु ।
-
कहिलेसम्ममा ?
जबसम्म शरीर र मस्तिष्कले साथ दिइरहन्छ । मूलधारकै अन्त्य भयो भनेचाहिँ छाडेर हिँड्छु ।
-
छाडेर हिँड्न सकिन्छ ?
जीवन नै आउटडेटेड भयो भने कसको के लाग्छ ?
-कहाँ जानु हुन्छ ?
आफ्नै गाउँ जान्छु । जहाँ खेतीपाती गरेर पनि खान सकिन्छ ।
-
भाइ श्रवण घिमिरे र तपाई छुटि्टनु भएको हो ?
हो, विगत ५ वर्षदेखि हामी अलगअलग छौं ।
-
दाजुभाइबीच मनमुटाब भएको हो ?
दाजुभाइ छुटि्टनु मेरो घरको मात्र कथा होइन ।
-
तर तपाईहरुको सम्बन्धलाई त उदाहरणको रुपमा लिइन्थ्यो नि ?
अरुको लागि उदहारण भएर बाँच्दा कहिलेकाहीँ आफ्नै जीवन कठिन हुँदोरहेछ । मन नै नमिलेपछि छुटि्टनु राम्रो ठानियो ।
-
अब भाइ फुटे गँवार लुटे हुँदैन ?
होस्, जे हुन्छ होस् । म धेरै पटक लुटिइसकेको मान्छे । आफ्नैबाट त मान्छे लुटिन्छ भने पराइको के चिन्ता भयो र !
तपाईंको स्वमूल्यांकनमा तुलसी घिमिरेका कमजोरी के-के हुन् ?
सायद कोही पनि मान्छे आफैंमा पूरक नहुन सक्छ । म पनि त्यसैमा पर्छु । मेरो सबैभन्दा ठूलो कमजोरी बदलिएको संसार सँगसँगै हिँड्न नसक्नु हो । मान्छेलाई चिन्न नसक्नु हो ।
--
-अनलाइनखबर
0 comments:
Post a Comment