समीक्षा : चलचित्र अरबपति

चलचित्र : अरबपति
निर्देशक : दयाराम दाहाल
निर्माता : दयाराम पुडासैनी
कलाकार : निखिल उप्रेती, झरना थापा, प्रमोद दीप
श्रेणी : फेन्टासी र एक्सन
रिलिज : १३ साउन, २०६८ तपाईँ रातारात धनी बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने 'माटो र मानव' दलाली गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । त्यसबाहेक अझ सक्नुहुन्छ भने राजनीति गर्नुस र भ्रष्ट बन्नुस । 'ग्रुप' बनाउनुस र हतियारसहित हप्ता उठाउने, मानिस उठाउने, ठेक्कापट्टा गर्ने आदि गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । इमान्दारिताका साथ मिहेनत गरेर तपाईँ बाँच्न सक्नुहुन्छ यो देशमा धनी बन्न गाह्रो हुन्छ । यसै परिप्रेक्ष्यमा एउटा नयाँ तरिका पनि छ रातारात धनी बन्नको लागि र त्यो तरिका सिकाएको छ-चलचित्र 'अरबपति'ले र त्यो हो धनी बाउकी एक्ली छोरी पट्याउने र विहे गर्ने ।यदि त्यही योजना बुनेर काठमाडौंका सडकमा भौंतारिरहेको केटोसँग धनी घरको एक्लो छोरो पट्याएर विहे गर्ने योजना बुनेर काठमाडौंको सडकमा भौंतारिरहेकी केटी भेट्टिइ भने के हुन्छ ? यस चलचित्रको कथावस्तु यही हो । यस चलचित्रमा धनीको स्तर 'अरबपति' भनिएको छ तर अरबपतिको जीवनस्तर, रहनसहन, व्यवहार र त्यसको विश्वसनिय सेटिङको अभावमा यो कथा हावाको महलमात्र भएको छ ।कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतीकरण यी दुई यस्ता आधारभूत गुण हुन् जुन बिना चलचित्र निर्माण फगत एउटा दलाली मात्र हुनेछ । तपाईँ जस्तोसुकै परिस्थितीको पनि कल्पना गर्नसक्नुहुनेछ । तर, तपाईँ त्यसलाई विश्वसनिय ढंगबाट प्रस्तुत गर्न सक्नुहुन्न भने त्यो केवल तपाईँको कल्पना मात्र हुन्छ सृजना हुनसक्दैन । नेपाली चलचित्रको आधारभूत समस्या नै यी दुई पक्षमा केन्द्रित छन् ।
कल्पनाको स्तर मुम्बइभन्दा पर जान नसक्नु र आफ्नो माटो र जनतालाई कल्पनाको आधार बनाउन नसक्नु तथा त्यसको विश्वसनिय प्रस्तुतिकरण पूर्णरुपले अविश्वसनिय र अव्यवहारिक प्रस्तुति हुनु नेपाली चलचित्रको सबैभन्दा डरलाग्दा रोग हुन् । पात्र, परिवेश समय र स्थानले त्यो विश्वसनियता हासिल गर्न नसक्दा दर्शक र चलचित्र बीचको सम्बन्ध पूर्णरुपले गाँसिन नसकिरहेको वर्तमानको यथार्थमा अरबपति चलचित्र पूर्णरुपले गरिब मानसिकताको उपज मात्र हो भन्दा फरक नपर्ला । प्रश्न गम्भिर छ -'चलचित्र केवल प्रविधि मात्र हो कि विचार पनि हो ? या दुवैको मिश्रित रुप ? यस प्रश्नलाई गम्भिररुपले मूल्यांकन नगरी नेपाली चलचित्रका अधिकांश चलचित्रको रोगलाई चिरफार गर्न सकिँदैन । कुनैपनि चलचित्र प्राथमिकरुपमा शब्दको सहाराले कागजमा बन्दछ । यसकारण विचार प्राथमिक हो भनेर भन्न सकिन्छ; त्यसपछि बल्ल प्रविधिको छनौट गरिन्छ अनि प्राविधिक र कलाकारहरु । विचार साध्य हो भने प्रविधि साधन ।

तर, नेपाली अधिकांश चलचित्रमा प्रविधि साध्य र साधन दुबै बनेको छ अनि विचार गौण । 'अरबपति' यही आधारको चलचित्र बनेको छ । जसमा पटकथाको गरिबी यति भयङ्कर ढंगले झल्किन्छ कि तपाईँ त्यो तुच्छ मानसिकताको सिकार हुनुपरेकोमा हलभित्र आफैलाई धिकारिरहनुहुनेछ । निर्देशकको कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतिकरणको हकमा यो चलचित्र यति गरिब बन्न पुगेको छ कि तपाईँ आफ्नो टिकटको पैसा फिर्ता माग्न मिल्ने भए गुहार माग्न जानुहुन्छ । गरिबीको अर्को नमुना कलाकारहरुको अभिनयमा पाइन्छ जहाँ निखिल उप्रेती एक रोबोटजस्ता देखिएका छन् जसको अनुहारमा कुनै भाव देखिदैँन । केवल हात र खुट्टा चल्दछ, उफ्रन सक्दछन् अनि पिट्न माहिर छन् त्यत्ति हो । झरना कराउन नाच्न र उफ्रन जान्दछिन् तर सरलता र गम्भिरता छैन । नयाँ केटा प्रमोद दीपको अनुभवको अभाव प्रष्ट झल्कन्छ ।प्राविधिकरुपमा 'छाप्ने प्रवृत्ति'को निरन्तरताकै रुपमा यस चलचित्रले पनि आफ्नो चरित्र ग्रहण गरेको छ । गीत, संगीत, नृत्य तथा द्वन्द्व जसलाई नेपाली चलचित्रले फाइट वा मारधाडको रुपमा ग्रहण गरेको छ । यी पक्षमा यो चलचित्र केवल पुनरावृत्ति मात्रै हो । यी पक्ष प्रायशः नेपाली चलचित्रमा उस्तै-उस्तै स्थानमा कारण र उद्देश्यका साथ राखिएको हुन्छ उस्तै तरिकाले राखिएको र बनाइएको हुन्छ ।यस कारण यस चलचित्रको सवल पक्ष खोजिरहँदा मरुभूमिमा हीरा खोजेजस्तै भौँतारिनेसिवाय अरु कुनै उपलब्धी हासिल हुनसकेन । यसरी लाखौं रुपंैया खर्च गरेर कुनै चलचित्रको उत्पादन गर्न खोजिन्छ भने कुनै बिशेषता रोकेर वा विशेष कारणले चलचित्र निर्माण गर्नु स्वभाविक प्रक्रीया हुन सक्दछ तर फगत चलचित्र निर्माण गर्नकै लागि केहीका शौख पुरा गर्नकै लागि र केही रकम कमाइहालिन्छ, चर्चा चलिहाल्छ भन्ने दलाली मनोविज्ञान बोकेर चलचित्र निर्माण क्रम व्याप्त हुँदै जानु नेपाली चलचित्रको दुर्भाग्य हो ।यो चलचित्रको समीक्षा गरेर समय खेर फालिरहँदा एउटा प्रश्न दिमागमा घुमिरहॆको छ के हाम्रा समीक्षाहरुले यस्ता चलचित्रकर्मीलाई यस्ता गल्ती नदोहोर्‍याउन उत्प्रेरणा दिन्छन् होला त ? समीक्षालाई आफ्नो जीवनको व्यावसायिक पाटो मान्ने हो भने नेपाली चलचित्रले पक्कैपनि कुनै समयअवधिमा उपलब्धी हासिल गर्नेछ । समीक्षाको सुरुवात आत्मसमीक्षाबाट हुन्छ र अन्त्यपनि आत्मसमीक्षाबाटै हुन्छ । हाम्रा समीक्षकहरुले उहाँहरुलाई आत्मसमीक्षा गर्ने बाटोमात्रै देखाउने हो । समीक्षा गर्दै सुधार गर्दै आफ्नो विशेषता स्थापित गर्न कटिबद्ध हुँदै नेपाली चलचित्र क्षेत्र अगाडि बढ्ने हो भने कुनैपनि चलचित्रकर्मी अरबपति नभएपनि करोडपति बन्न कुनै धनी घरको एक्लो छोरा वा छोरी खोज्दै काठमाडौंका सडकमा भौँतारिनुपर्दैन ।

0 comments:

Post a Comment