आजदेखि 'कालापानी' र 'मसान'

नेपाल चलचित्र विकास बोर्डले विशेष फिल्मको दर्जा दिएको 'कालापानी'ले पनि शुक्रबार देशव्यापी रिलिजको पालो पाएको छ। निखिल उप्रेती, दिलीप रायमाझी, ऋचा घिमिरे, सञ्चिता लुइँटेल, झरना थापा, सुशीला रायमाझी, गणेश उप्रेती लगायतले फिल्ममा अभिनय गरेका छन्।उद्धव अविदित निर्देशित फिल्ममा सीमा अतिक्रमण र भूमि कब्जा सम्बन्धी कथा छ। सुरेश अधिकारीको संगीत रहेको फिल्मको निर्माण गुणराज राजभण्डारी, सन्तोष केसी र रामहरि श्रेष्ठले गरेका हुन्।केही वर्षअघि छायांकन सिद्धिए पनि लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुन लागेको हो। 
काठमाडौंमा मसान
गोपालप्रसाद रिमालको नाटकमाथि बनेको फिल्म 'मसान' शुक्रबारदेख राजधानीका करिब १९ हलमा रिलिज हुने भएको छ। नीर शाहको निर्देशन रहेको फिल्ममा राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना, सुभद्रा अधिकारी, श्याम राई, दीपक क्षेत्रीलगायतले अभिनय गरेका छन्।२००२ सालको सेरोफेरोमा आधारित नाटकलाई फिल्ममा पनि सोही रूपमा उतारिएको निर्देशक शाहको भनाइ छ। डायमन्डशमसेर राणाको उपन्यास 'वसन्ती'माथि फिल्म बनाएको १० वर्षपछि शाहले यो फिल्म निर्देशन गरेका हुन्। कृतिमाथि फिल्म बनाउन चाहने शाहले ध्रुवचन्द्र गौतमको कृति 'कट्टेल सरको चोटपटक'माथि 'बासुदेव' बनाएर निर्देशनमा हाल हालेका थिए। 'अभिनय गर्दा विषय नछाने पनि फिल्म भने आफूलाई मन परेको साहित्यिक कृति र ऐतिहासिक विषयमा बनाउन चाहन्छु,' उनले बताए।

अञ्जु पन्त भन्छिन्- फेरि बिहे गरेकी छैन

गायिका अञ्जु पन्तले हिजोआज गायनभन्दा छोरी परितोसिकालाई बढी समय दिन थालेकी छिन्। पछिल्लो समय उनी संगीतकार मनोजराजसँग पारपाचुके गरेपछि चर्चामा थिइन्।केही समय उनी बजारमा नदेखिएपछि उनको अर्को बिहे भएको हल्ला चलेको थियो। तर, नागरिकको प्रश्नमा उनले भनिन्, 'यो हल्ला कहाँबाट आयो, मलाई नै थाहा छैन। त्यस्तो हो भने कोसित बिहे गरेछु, मलाई जानकारी गराउनुस्।'आफू संगीत क्षेत्रमै भए पनि कार्यक्रमहरूमा कम जान थालेकोमा यस्तो हल्ला चलेको उनको अनुमान छ। उनकी १० वर्षीया छोरी युनाइटेड एकेडेमीमा अध्ययनरत छिन्। 'छोरीलाई एक्लैले हेर्नुपर्ने हुँदा जिम्मेवारी बढेको छ। दिनमा कम्तीमा पनि एउटा गीत रेकर्ड गरिरहेकी छु,' उनले भनिन्।आफूले संगीतमा पाएको सफलता सहन नसक्नेले बिहेको हल्ला चलाएको आरोप उनको छ । संगीतकार मनोज सिवाकोटीसँग पारपाचुके गरेपछि उनी स्वयम्भुमा बस्दै आएकी छिन्। तर यो बीचमा आफूलाई बिहेको प्रस्ताव आएको भने उनी स्विकार्छिन्। तर बिहे गरेर फेरि गल्ती नदोहोर्‍याउने उनको दृढता छ।'नेपाली समाजमा पारपाचुके भएको सम्बन्धलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन। मलाई केही प्रस्ताव आए पनि बेवास्ता गरिदिए। छोरी हुर्काउनमै व्यस्त छु,' उनले भनिन्। उनको झन्डै १० वर्ष लामो वैवाहिक सम्बन्ध केही महिनाअघि टुटेको हो।'सम्बन्ध टिक्न दुवैको समझदारी आवश्यक हुन्छ। एकले अर्काको काममा साथ दिनुको सट्टा शंका गरेपछि, त्यो सम्बन्धले पारपाचुकेको रूप लिने अनुभव मैले बटुलेकी छु,' पारिवारिक तनाव र आफूमाथि भौतिक आक्रमण हुन थालेपछि पारपाचुक गरेको उनी बताउँछिन्।'अहिले मानसिक तनाव छैन। जसले गर्दा काम र छोरीलाई समय दिन पाइरहेकी छु,' उनले भनिन्।उनी फिल्मभन्दा पनि आधुनिक गीतमा केन्द्रित छिन्। केही समयपछि विदेशमा गाउने उनको योजना बन्दैछ। फिदिम, धरान र पोखरापछि अरब र कतारमा उनको गायन हुँदैछ। आफूले नयाँ काम नलिएको हुनाले धेरै संगीतकार रिसाएको उनलाई थाहा छ। खुट्टाको लिगामेन्टमा समस्या आएपछि उनले धेरै कामको बोझ उठाएकी छैनन्।६ महिना यता खुट्टा र घाँटीमा केही समस्या आएपछि गायनको मात्रालाई घटाएकी छु। पहिले दिनमा ५ वटासम्म गीत रेकर्ड गर्थें,' उनी भन्छिन्।

रेखाको नयाँ रूप

रेखाको फिल्मी अनुभव जति बढ्दैछ त्यसै गरी उनी आफ्नो अभिनय र गेटअपलाई नयाँ ढङ्गमा उतार्ने प्रयत्नमा लागि परेको पछिल्ला बर्ष उनी अभिनित चलचित्रहरूले पुष्टी गरिरहेको छ । कहिले उनी बहादुर युवतीको भूमिकामा आफूलाई पर्दामा उतार्ने प्रयास गर्छिन् त कहिले उच्च घरानाकी सोझी युवतीको भूमिकामा दर्शक माझ परिचित हुन भुल्दिनन् । सायद यहि गुणले होला उनलाई नम्बर वान नायिकाको पक्तिबाट रिप्लेस गराउन सक्ने हिरोईन अहिले सम्म देखा परेका छैनन् । उनी हाल होम प्रोडक्सनको चलचित्र 'रावण' को सुटिङमा ब्यस्त छिन् जुन चलचित्रमा उनी विभिन्न रूपमा प्रस्तुत भएको उनको फेसबुक भित्तामा सार्वजनिक गरिएका फोटोहरूबाट मूल्याकंन गर्न सकिन्छ ।रावणमा उनी सिता, दुर्गा, कालि तथा आम महिलाको भूमिकामा देखिदैछिन् । जुन उनको अभिनय यात्राकै सवैभन्दा धेरै भेरिएसन समेटिएको पहिलो चलचित्र भएको छ । उक्त चलचित्रको छायाकंन ६४ दिन लगाएर आजै सकिएको छ । चलचित्रलाई कलाकार तथा संगीतकार समेत रहेका कमल कृष्ण पौडेलले डेब्यू फिल्मका रूपमा निर्देशन गरेका छन् । जसको पहिलो कामलाई नेपाली सिने उद्योगका खेलाडी निर्माता छविराज ओझाले मुक्त कण्ठकले प्रशंशा गरेका छन् ।
छविले कमलकृष्णले राम्रो काम गरेको कुराको तारिफ गर्दै भने 'कमलकृष्णले केही ब्यक्तिगत आचरण सुधार गरे उनी नेपालको नम्बर वान निर्देशक रूपमा चाडै परिचित हुनेछन् ।' कमलकृष्ण एक समयको चर्चित भारतीय धाराबाहिक श्रृङखला चन्द्रकान्ताका असिस्टेन्ट डिरेक्टर पनि हुन् । जो एक दशक अघि 'खरको छानो' चलचित्रमा हिरो बन्ने सुरले कलिउड प्रवेश गर्दा खलनायकको रूपमा स्थापित भै हाल डिरेक्टरको रूपमा परिचित हुने सुरमा छन् ।

यसरी वित्नेछ सेलिब्रेटीको तिहार

उज्यालोहरुको पर्व अर्थात तिहार प्रत्येक नेपालीको घर आँगनमा आईसकेको छ । मंगलबारबाट यमपञ्चक पनि सुरु भईसेको छ । विशेषत: दिदीभाईको स्नेह साटासाट गर्ने तिहारको यो मौसम अर्थात भाईटिका पर्सी ११ गते शुक्रबार परेको छ । जसरी आम नेपालीको घरमा यो पर्वले पाईला टेकेको छ त्यसरी नै नेपाली चलचित्रकर्मीमा पनि तिहारको रौनकले छोईसकेको छ । चौबिस घण्टा सुटिङमा ब्यस्त रहने कलाकारहरु आज लक्ष्मी पुजाको दिनदेखि फ्रि पनि भएका छन् । सुटिङका सम्पूर्ण कार्यहरु स्थिगित गरी सवै चलचित्रकर्मी फेस्टिभलको मुडमा छन् । कोही दशै मनाए जसरी गृहनगर जान ब्यस्त छन् त कोही राजधानीमै तिहार विताउने सुरमा छन् । अभिनेत्री रेखा थापाको दशै जस्तै भाईटिका मोरङको सलकपुरमा हुने छ । उनका दुई दिदीहरु र एक दाई विदेशबाट नेपाल आएकाले यो बर्षको भाईटिका उनको लागि विशेष हुने छ ।गत बर्ष माओवादी नेता चन्द्रबहादुर थापा 'सागर' लाई पहिलो पटक भाईटीका लगाएकी रेखाले सागरको परिवारमा जुठो परेपछी भाईटिकालाई निरन्तरता दिन पाउने छैनन् । यस्तै दुई बर्षअघि सम्म चलचित्र क्षेत्रमा हेयर ड्रेसर भएर काम गर्दै आएका लोकेश थापासंग पनि रेखाको यो बर्ष भाईटिका नहुने भएको छ । रेखा भाईटिकाको दिन बिहानै विराटनगर जाने भएपछी लोकेशसंग उनको भाईटिका नहुने भएको हो । रेखाले मोरङमा रहेका दुई दाई नवराज र जीवनसंग मखमली मालासंग प्रेम साट्ने छिन् ।यस्तै रेखाको माईती गाउँ नजिकै घर रहेको हिरो जीवन लुईटेल पनि आज बुधबार बिहान घर गएका छन् ।
दशै अष्ट्रेलियामा मनाएका जीवनले दीदी मुना लुईटेल (सुवेदी) संग भाईटिका लगाउदै छन् । उनी भाईटिकाको भोली पल्ट नै काठमाण्डू फर्कने छन् । यसैगरी हिरो राजबल्लभ कोईरालाले तिहार मनाउने सुर कसेपनि उनको परिवारमा सुतक परेकाले यो बर्ष उनको निधार खाली हुने छन् । उनको बहिनी अमेरिकामा रहेकाले काकाको छोरीसंग भाईटिका लगाउदै आएका थिए । तर पनि गृहनगर पोखरा जाने कि नजाने भन्ने बिषयमा उनी दोधारमा छन् ।हिरोईन झरना थापाले आफ्नै निवास नयाँबानेश्वरमा बहिनी राजमणीको साथमा भाई शम्भुलाई भाईटिका लगाईदिदै छिन् । उनले तिहारको सेलरोटी हिजै पकाई आज घरमा भैली खेल्न आउनेहरुसंग आफै कम्मर पनि मकाउदैछिन् । यस्तै प्रेगनेन्ट हिरोईन अरुणिमा लम्सालले कपनमा बनाएको नयाँ घरमा पहिलो पटक तिहार मनाउदैछिन् । उनले भदा आकृत र दुई दाई विनायक र विवेकलाई भाईटिका लगाईदिदै छिन् ।गत बर्ष बुवाको निधनले तिहार मनाउन नपाएकी हिरोईन ऋचा घिमिरेले यो बर्ष दिल खोलेर तिहार मनाउने सुरमा छिन् । आज घरमा दिपावली गरेर उनको दिन बित्ने छ । ऋचाकै घर छेउ रहेका नायक मुकेश ढकालले यस बर्ष टिका लगाउन नपाउने भएका छन् । दिदीको घरमा जुठो परेकाले यस बर्ष टिका लगाउन नपाएका मुकेश आफू अभिनित चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को प्रोमोशनमा व्यस्त हुने छन् । नायक राजेश हमालको यस बर्षको तिहार बिदेशमा हुने भएको छ ।यस्तै केही दिन अघि अमेरिकाबाट फर्किएका अर्का हिरो रमित ढुङ्गानाको पनि भतिजको छोरो जन्मिएपछी उनको भाईटीका पनि रोकिएको छ । तर यो तिहारमा रामाईलो गर्न पछि नपर्ने उनी बताउछन् । यसैगरी हेटौडामा दशै विताए जसरी नै हिरोईन नीता ढुङ्गानाको तिहार त्यतै वित्ने छ । उनले दाई नवराज र भाई पवनलाई भाईटिका लगाईदिने छिन् । यस्तै नयनायक ध्रुब न्यौपाने पनि सदा झै यस बर्ष पनि तिहार मनाउन घर हेटौंडा पुगेका छन् ।यसैगरी हेटौडामै पुगेर द्धन्द निर्देशक राजेन्द्र खड्गी एक दिदी र अर्की बहिनीको हातबाट भाईटिका लगाउदैछन् । यस्तै संगीतकार शम्भुजीत बास्कोटाले अमेरिकामा रहेकी एक बहिनी विनिता पौडेलसंग भाईटिका लगाउन नपाए पनि दीदी जानकी सुवेदी र अर्की बहिनी मुना लुईटेलसंग भाईटिका लगाउदैछन् । त्यस्तै अर्का संगीतकार सुरेश अधिकारीले विगत चार बर्ष देखि गायिका अञ्जु पन्तलाई बहिनी बनाएको हुदा अञ्जुसंग उनको भाईटिकाले यो बर्ष पनि निरन्तरता पाउने छ । आफ्नी दिदी बहिनी नभएपछि धर्म बहिनीसँग टिका थाप्दै आएका निर्देशक सुरेश दर्पण पोखरेलको यस बर्ष निधार खाली हुने भएको छ । आफ्नो ड्रिम प्रोजेक्ट 'मिस यू' चलचित्रको काममा व्यस्त सुरेशले युकेमा रहेकी धर्म बहिनीलाई मिस गरेको बताए । यता स्क्रिप्ट राईटर शिबम अधिकारी आफ्नै दिदी बहिनी नभए पनि काकाको छोरीसँग टिका लगाएर तिहार मनाउँदै छन् । साथै उनी आगामी प्रोजेक्ट 'थ्री लभर्स' को स्क्रिप्टलाई अन्तिम रूप दिनमा व्यस्त हुनेछन् ।

फेस्टिभ मुडमा रजतपट

यतिबेला सिङ्गो चलचित्र उद्योग तिहारमा रमाइरहेको छ । तिहार मनाउन सुटिङहरू स्थगित गरिएका छन् । चलचित्रकर्मी फेस्टिभ मुडमा रमाइरहेका छन् । कतिपय हिरोइनहरू भाइटीका लगाउन घर गएका छन् । कतिपयले बुधबार लक्ष्मीपूजा गरे । केही कलाकर्मीले कसरी मनाउँदैछन् तिहार ? 
  करिश्मा मानन्धर
यसपटक बुबाआमा आउनुभएकाले रमाइलो भइरहेको छ । लक्ष्मीपूजाको दिन व्रत बस्दिन । पूजा मात्र गर्छु । मैले बनाएको सेल राम्रो नहुने हुँदा आमाले नै बनाएर पठाइदिनुहुन्छ । अस्ति मात्र, पाथिभरा दर्शन गर्न जाँदा त्यहीँबाट घर सजाउन फूल पनि लिएर आएकी छु । भाइटीका चाहिँ लगाउँदिन । विदेशमा भइने हुँदा भाइटीका लगाएको धेरै भैसक्यो । मेकअप म्यान सन्तु तामाङसँग भाइटीका लगाउने गरेको थिएँ । यसपालि चाहिँ लगाउँदिन । तिहारमा केटाकेटीले देउसीभैलो खेलेको रमाइलो लाग्छ ।
रेखा थापा
मलाई तिहार एकदमै मनपर्छ । कार्ड खेल्नु मेरो रुचिको कुरा हो । लामो समयपछि दाजु जीवन थापा घर आइपुग्नुभएको छ । उहाँलाई भाइटीका लगाउने घर मोरङको सलकपुर जाँदैछु । मलाई तिहारका परिकारहरू बनाउन र चखाउन निकै मनलाग्छ । यसपटक रमाइलो गर्ने योजना छ ।



नम्रता श्रेष्ठ
घरमा कान्छी भएकीले मेरो काम विभिन्न परिकार खाने र दाजु र दिदीका छोराछोरीसँग खेल्ने मात्र हुन्छ । परिवारसँगै लक्ष्मीपूजा गर्छु । भाइटीकाको दिन राजेशलाई म र दिदी प्रनिता मिलेर टीका लगाउँदैछौं । घरमा देउँसी खेल्न आएकासँग रमाइलो गर्छु । परिवारसँग तास पनि खेल्छु । मलाई सेल पकाउन आउँदैन ।




आर्यन सिग्देल
तीनवर्षदेखि तिहार मनाउने मुड बनाउन सकेको छैन । लक्ष्मीपूजाको दिन घर जान्छु । ममी र म मात्र छौं ।यसपटक सबै सुटिङ छाडेर तिहारकै लागि जोड दिएको छु । ममी रिसाउने हुँदा पनि कामबाट ब्रेक लिएको हुँ ।बहिनी यशोधा तीनवर्षदेखि अष्ट्रेलियामा छिन् । टीका थाप्न पाएको छैन।मेरो लागि सबैभन्दा खल्लो कुरा नै यही हो । तास खेल्दिँन । चिल्लो मननपर्ने हुँदा सेल खाँदिन । देउँसी भैलो पनि मनपर्दैन मलाई त ।


अनुप बराल 
पोखरामा पुगेर लक्ष्मीपूजा मनाउँदैछु । भाइटीकाको दिन बहिनीको हातबाट टीका लगाउने ममात्र भएकोले अलि धेरै उपहार दिनुपर्छ । अन्य दुई भाइको पनि । देउसी भैलो नखेलेको धेरै भइसकेकाले यसपटक भने साथीहरूसँग मिलेर खेल्छु । झिलिमिली हुने हुँदा पोखरा घुम्ने सोच बनाएको छु । आमाले पकाएको सेल हातमा झुन्डाएर खाइन्छ ।



दीपक लिम्बु
विभिन्न कन्सर्टले तिहारमा व्यस्त हुन्छु । श्रीमतीलाई पूजाआजा र बत्ती बाल्नमा सहयोग गर्छु । परिवार नै बसेर लक्ष्मीपूजा गरिन्छ । घरमा देउसी भैलो खेल्न आएकाहरूले भट्टाएको हेरेर आनन्द लिन्छु । मेरो चार दिदी धरानमा भएकाले आफन्त दिदीबाट टीका थाप्छु । उपहार स्वरुप सबैलाई पैसा दिन्छु ।

दिलदार मौसमी, इज्जत धान्न धीरेनको पारिश्रमिक बढाइदिइन्

अभिनेत्री मौसमी मल्लले आफूलाई दिलदार साबित गरेकी छिन्। आफ्नो लगानीमा निर्माण हुन लागेको दोस्रो फिल्म 'मौसम बदलिन्छ'को गृहकार्यमा व्यस्त मौसमीले एक अभिनेताको पारिश्रमिकको मामिलामा ठूलो मन देखाएकी हुन्।फिल्मको कथानुसार अभिनेता धीरेन शाक्यलाई एउटा भूमिका सुहाउने देखियो। मौसमीले निर्देशक दयाराम दाहालसँग धीरेनको पारिश्रमिक सोधिन्। दयारामले '२५-३० हजारमा मान्छ होला' भने।दयारामको कुरा सुनेपछि मौसमी छक्क परिन्। उनले फेरि सोधिन्, 'त्यतिमा धीरेनले काम गर्छ र?' उनलाई दयारामले आश्वासन दिए, 'त्यतिमा मान्छ, त्यो मेरो जिम्मा भयो।'तर, मौसमी एकछिन सोचमग्न भइन्। 'आफ्नो जमानाको हिट हिरो हो, उसको पर्सनालिटी पनि राम्रो छ,' मौसमीले दयारामसँग भनिन्, 'त्यतिको कलाकारलाई २५-३० हजार रुपैयाँमा काम लगाउनु भनेको उसको मात्र होइन फिल्म उद्योगकै बेइज्जत गर्नु हो।'मौसमीको तर्कसँग फिल्मसँग सम्बन्धित सबै सदस्य सहमत भए। त्यसपछि मौसमीले धीरेनलाई कम्तीमा ७५ हजार दिने निर्णय सुनाइन्। 'नेपाली फिल्म क्षेत्रमा मौसमीजस्तो दिलदार मान्छे पनि रहेछ,' यो प्रसंग थाहा पाएपछि एक कलाकारले प्रतिक्रिया दिए।यसअघि मौसमीले राजेन्द्र उप्रेतीलाई निर्देशक लिएर फिल्म 'गिरफ्तार' बनाएकी थिइन्, जसमा राजेश हमालको विशेष भूमिका थियो। खाग तस्करीको विषयमा निर्मित फिल्मले सन्तोषजनक व्यापार गरेको थियो। माओवादी पार्टीमा प्रवेश गरेकी मौसमी अहिले चलचित्र विकास बोर्डको सदस्यका रूपमा कार्यरत् छिन्। साभार : नागरिक

बिदा भए 'गडफादर'

'हिजो बेलुकी मात्रै छोरीको बिहे गर्न अमेरिका जान लागेकाले कात्तिक ३० लाई टिकट बुक गरेको बताउनु भएको थियो। राती नै हृदयाघातले यो हालत भएछ,' बुधबार निधन भएका निर्देशक दीपक रायमाझीलाई श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेका कलाकार लव शर्मा निकै भावुक देखिए। रायमाझीले निर्माणाधिन फिल्म 'मेड इन नेपाल'को मुख्य भूमिका दिने वचन दिएको सम्झँदै उनले भने, 'उहाँसँग काम गर्नु यति नै रहेछ।' रायमाझीको टेलिफिल्म 'वंश'मा १६६ भागसम्म काम गर्दा मित्रता गाढा बनेको उनले बताए। ५८ वर्षका रायमाझीको आफ्नै निवास खुमलटारमा मंगलबार राती ११ बजे हृदयाघात भएको उनका भाइ राजुजंग रायमाझीले जानकारी दिए। 'उकुसमुकुम भएपछि बाहिर निस्कन खोज्दा दुई तलामाथिबाट लड्नु भएछ। तुरुन्तै अस्पताल लगे पनि बचाउन सकिएन,' उनले भने। पुराना नेता केशरजंग रायमाझीका जेठा छोरा दीपक राजनीतिदेखि भने टाढा रहेका थिए। नेपाली फिल्म क्षेत्रमा दुई दशकभन्दा बढी समय योगदान पुर्‍याएका निर्देशकलाई श्रद्धाञ्जलि दिन नपाएकोमा कलाकार रवीन्द्र खड्काले दुखेसो पोखे। 'अन्तिम संस्कार गर्न हतार गरिएछ। हामी केहीबेर प्रज्ञा प्रतिष्ठानमा राखी श्रद्धाञ्जलि दिन चाहन्थ्यौं,' रायमाझीकै फिल्म 'भाग्यरेखा'बाट चर्चित बनेका खड्काले भने। पारिवारको चाहना, सामाजिक बाध्यता र सम्पत्तिलाई समेत थाँती राखेर फिल्ममा पूर्ण रुपले समर्पित व्यक्तिको रूपमा निर्देशक नीर शाहले रायमाझीको चर्चा गरे। 'दिवंगत हुने दिनसम्म उहाँ फिल्मकर्ममै सक्रिय रहनुभयो,' रायमाझीको निर्देशनमा 'प्रेयसी' सहित तीन फिल्ममा अभिनय गरेका शाहले भने। रायमाझीले रुसको मस्को युनिभर्सिटीबाट सन् १९८१ मा फिल्म निर्देशनमा स्नातकोत्तर गरेका थिए। रुसमा उनीसँगै अध्ययन गरेका क्यामेराम्यान जावेद शाहले असल सहपाठी र सहकर्मी गुमाएको बताए। ६ वर्षसँगै पढेका शाहले रायमाझीको निर्देशनमा 'भाग्यरेखा', 'युगदेखि युगसम्म' र 'कसम' खिचेका थिए। दुवैले 'भाग्यरेखा'बाट आफ्नो विधामा करिअर सुरु गरेका हुन्। 'कलेज पढ्दा प्राक्टिकल फिल्म सँगै गरेका थियौं। नेपाल फर्किएर पनि सँगै काम थाल्यौं,' जावेदले भने, 'एउटै युनिभर्सिटीमा पढेकाले विचार मिल्थ्यो। काम गर्न सहज हुन्थ्यो।' नयाँ कलाकारलाई मौका दिन चाहने रायमाझीको स्वभावको उनले प्रशंसा गरे। कृषि विकास बैंकको जागिरबाट अवकास पाएका शाहले रायमाझीको नयाँ फिल्म 'मेड इन नेपाल' खिच्ने तयारी गरेको सुनाए। 'अमेरिकाबाट फर्किएपछि काम थालौंला भनेका थिए। अचानक यस्तो भयो,' फिल्ममा सोच मिल्ने सहकर्मीको अभाव खट्किरहने उनको भनाइ छ। पछिल्लो समय रायमाझी 'डेस्टिनेसन काठमाडौं'को निर्माणमा व्यस्त थिए। फिल्मको आधा सुटिङ नेपालमा सकेपछि बाँकी सुटिङ गर्न अस्ट्रेलिया जाने तयारीमा थिए उनी। उनको निर्देशनको फिल्म 'चाँडै आऊ है'को मिक्सिङ भइरहेको छ भने 'लभस्टोरी २०६६' रिलिजको तयारीमा छ। फिल्म क्षेत्रमा उनी धेरै चर्चित कलाकारका 'गड फादर'का रूपमा चिनिन्थे। आफ्नो भान्जा राजेश हमाललाई उनले 'युगदेखि युगसम्म'मा 'ब्रेक' दिएका थिए यही फिल्मबाट कृष्टी मैनाली हिरोइन बनेकी थिइन्। त्यसअघि उनले 'भाग्यरेखा'बाट मौसमी मल्ललाई ब्रेक दिएका थिए। राजेन्द्र खड्गीले पनि 'युगदेखि युगसम्म' फिल्मबाट फाइट निर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले बिना बुढाथोकीलाई 'कसम' र मेलिना मानन्धरलाई 'प्रेयसी'बाट हिरोइन बनाएका हुन्। रमेश उप्रेतीले पनि उनकै फिल्म 'यो मायाले लौन सतायो'बाट अभिनय सुरु गरेका थिए। मीरा केसीलाई 'अंगालो अंगालोमा'मा खेलाएका निर्देशकले पछिल्लो समय अर्जुन कार्कीलाई 'हाम्रो मिलन कहिले हुन्छ'मा हिरो बनाएका थिए। कलाकारका लागि उहाँ एकदमै लक्की निर्देशक हुनुहुन्थ्यो,' रायमाझीको फिल्म 'कसम' र 'यो मायाले लौन सतायो' अभिनय गरेका श्रीकृष्ण श्रेष्ठले सम्भि्कए, 'साह्रै मिलनसार हुनुहुन्थ्यो। फिल्मको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान भएकाले काम गर्न साह्रै सहज थियो।' उनले १५ फिल्म र 'बाजी', 'नमस्ते काठमाडौं', 'सत्यता' लगायत आधा दर्जनजति टेलिसिरियल निर्देशन गरेका थिए।