सपनाहरूका लागी 'सपना' नि:शुल्क

म तिम्रै यादमा हराउँछु सपना
म तिमीलाई मन पराउँछु सपना…
चलचित्र सपनाको यो गीतमा भने सपना नाम गरेकी नायिकाको यादमा नायक हराएको कथा बुनिएको छ । तर वास्तविक जीवनमै यसका निर्देशक प्रदिप श्रेष्ठ भने सपनाको यादमा हराउन थालेका छन् । श्रेष्ठ अहिले सपनालाई भेट्न आतुर छन् । त्यसैले उनले सपनालाई भेट्ने एउटा काइदा रचेका छन् ।
अँ तपाईको नाम के हो ? तपाईको नाम सपना हो भने त राम्रै भयो हैन भने नाम फेरेर भए पनि सपना नामको परिचय पत्र बनाई हाल्नुस है । यसको पनि फाइदा छ । यदि तपाईले सपना नामको परिचय पत्र बोक्नु भयो भने तपाईले चलचित्र 'सपना' नि:शुल्क हेर्न पाउनु हुन्छ । भदौ पहिलो साता रिलिज हुन लागेको चलचित्र सपनाका निर्देशक प्रदिप श्रेष्ठले सपना नाम गरेका ब्यक्तिलाई नि:शुल्क चलचित्र हेर्न दिने घोषणा गरेका छन् ।निर्देशक श्रेष्ठले चलचित्र चल्दाको दिनबाट एक साता सम्म देशभरका जुनसुकै हलहरुमा सपना नाम गरेका ब्यक्तिले परिचय पत्रको फोटोकपी बुझाए नि:शुल्क चलचित्र हेर्न पाउने जनाएका छन् । चलचित्र प्रर्दशनको मिती नजिकिदै गर्दा निर्देशकले यस्तो घोषणा गरेका हुन् । उनले चलचित्रमा सपना नामको गलत प्रयोग गरीएको छैन भन्ने देखाउन पनि यस्तो निर्णय गरेको जनाए । यसका अलावा आफ्नो नाम माथि बनेको चलचित्र हेरेर सपनाहरुले गौरव गर्न सकुन् भन्ने उद्धेश्य रहेको निर्देशक श्रेष्ठले बताए ।बसन्त कुमार श्रेष्ठ र हरि बरालले मिलेर निर्माण गरेको चलचित्र 'सपना' मा राजेश हमाल, नन्दिता केसी, आर्यन सिग्देल, अर्जुन कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

साकिराकी फ्यान नाच्दै गाउने इन्दिरा

चौबन्दी चोली अनि रातो घाँगर' नामक डान्सिङ गीतबाट चर्चामा आएकी छिन् गायिका इन्दिरा जोशी।आफ्नो एकल एल्बम 'डान्स विथ मी' को गीतले उनलाई 'डान्सिङ सिंगर'को रूपमा स्थापित गरेको छ। फास्ट ट्रयाकको यो गीतमा इन्दिराले बेली डान्सलाई प्रस्तुत गरेकी छिन्।'डान्स मेरो रूचि हो। त्यसैले नाच्न मिल्ने गीत एल्बममा राखेँ,' फेरि अर्काको गीतमा सोचे जसरी प्रस्तुत हुन नपाउने भएकोले आफैंले यस्तो प्रयास गरेको उनले बताइन्।गीतको चर्चाले उनी खुशी छिन्। 'दर्शकलाई गीत ग्ल्यामर लाग्न सक्छ। तर, गीतको भाव अनुसार मिलेको छ,' यसको कोरियोग्राफीमा निकै मेहनत गरेको उनको भनाइ छ। गीत र भिडियोको धार मिलेकै कारण चर्चा पाएको उनले अनुभव गरेकी छिन्। 'बेली डान्सलाई नेपाली शैलीमा पनि प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा यस भिडियोमा देखाइएको छ।'गीतको चर्चापछि उनी आगामी गीतमा कोरियोग्राफी समेत सम्हाल्न हौसिएकी छिन्। नृत्यबारे प्रशिक्षण नलिएकी इन्दिराले निरन्तर अभ्यासकै भरमा म्युजिक भिडियोमा काम गरेको बताइन्। म्युजिक भिडियोको सुटिङ गोठाटारमा गरिएको थियो। 'बेली डान्सबारे धेरै कुरा थाहा भएकोले आफूले नै डान्सको कोरियोग्राफी गरेँ,' एल्बम रिलिज गरेलगत्तै देशव्यापी टूरमा निस्केकी उनले भिडियोले गर्दा धेरैको नजरमा परेको महसुस गरेकी छिन्, 'कला बुझ्ने मानिसको अभाव चाहिँ छ यहाँ। तैपनि राम्रो कामलाई मानिसले मनपराउँदा रहेछन्।'म्युजिक भिडियोमा कोरियोग्राफीले ठूलो भूमिका खेल्ने उनको अनुभव छ। भन्छिन्, 'पछिल्लो समय आइरहेका नयाँ कोरियोग्राफरहरूसंग काम गर्ने इच्छा छ।''साना नानीहरूदेखि ठूला मानिसले मेरो गीत राम्रो लागेको भनेर भन्नुहुन्छ,' भदौ ११ देखि उनी कतार र कोरियामा दुई साता लामो कन्सर्ट गर्न जाँदैछिन्। विदेश यात्रापछि नेपालमा कन्सर्ट गर्ने तयारी छ।म्युजिक भिडियो आउन थालेपछि धेरैले 'नेपाली साकिरा' भन्न थाले यिनलाई। यसो भन्दा उनलाई निकै रमाइलो लाग्छ। 'वास्तवमा म साकिराकी फ्यान हुँ। उनको प्रभाव मेरो गीतमा पाइनु स्वभाविक नै हो,' उनले भनिन्।

नाइटो देखाउन नमानेपछि…!

नाइटो नदेखाइएका आइटम डान्सलाई खल्लो मान्छन् दर्शक । दर्शकको यही मुडलाई बुझेर होला निर्देशकहरु हिरोइनलाई जसरी पनि यस कुरामा कम्प्रोमाइज गरिछाड्छन् । तर, चलचित्र 'जय होस'को आइटम डान्समा हिरोइन सौजन्य सुब्बाले नाइटो देखाउन नमानेपछि निर्देशक र निर्माताले उल्टै कम्प्रोमाइज गर्नुपर्‍यो । नाइटो छोपिएको कस्ट्युम लगाएरै सौजन्यले आइटम नाचिन् ।हिरोइनले नाइटो देखाउन मिल्दैन भनेपछि सोझा निर्देशक र निर्माताले पत्ताए नै । जिद्दि गराइछाड्ने कुरा पनि भएन । तर, सौजन्यको नखरा केहीदिन पनि टिकेन जतिबेला निर्देशक घनश्याम खतिवडाले नाइटो देखाएर खिचिएका सौजन्यका तस्विर र भिडियोहरु देखे । यतिन्जेलसम्म आइटम डान्सको सुट पनि भैसकेको थियो । 'वास्तवमा हामीले सौजन्यको नखरा बुझ्न सकेनौं, उनको नाइटोमा केही समस्या होला भन्ने ठानेका थियौं तर होइन रहेछ' खतिवडाले भने ।उक्त गीतको डिमान्ड नै नाइटो देखाउनुपर्ने र बढीभन्दा बढी अंग प्रदर्शन गरेर दर्शकलाई उत्तेजक तुल्याउनुपर्ने थियो । यही कुरालाई ध्यानमा राखेर स्वयम निर्देशक खतिवडाले 'घुमायो-घुमायो मलाई/केले घुमायो/हेर न हेर/मेरो तन बौलायो…' बोलको आइटम गीत पनि लेखेका थिए । शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । नाइटो नदेखाए फिल्म कमर्सियल बन्दैन भन्दाभन्दै पनि सौजन्यले त्यसो नगरेपछि निकट ठानिएका निर्देशक खतिवडा र सौजन्यको सम्बन्धमा दरार आएको गाइँगुइँ चल्न थालेको छ ।

लिभ इन टुगेदरमा नायिका

शहरमा मौलाउदै गएको लिभ इन टुगेदरको कथामा चलचित्र 'के यो माया हो' निर्माण भएको छ र सो चलचित्र अहिले देशभर प्रदर्शन पनि भईरहेको छ । चलचित्र 'के यो माया हो' रिलिज भए लगत्तै चलचित्रकर्मीहरुको वास्तबिक जीवनमा लिभ इन टुगेदर पाइएको छ ।सुर्दशन थापाले निर्देशन गरेको चलचित्र 'के यो माया हो' मा उनले कथालाई कत्तिको न्याय गरेका छन् त्यो त चलचित्र हेर्ने दर्शकहरु सबैले मुल्याङकन गरिरहनु भएको छ होला । यदि निर्देशक सुर्दशन थापाले चलचित्रमा यो कथालाई न्याय गर्न नसकेको भए पनि चलचित्रको एक जोडीले भने लिभ इन टुगेदरको कथालाई न्याय गरेका छन् ।यसरी वास्तविक जीवनमा लिभ इन टुगेदरको कथालाई न्याय गर्ने चलचित्रकर्मीहरुमा प्रोडक्सन म्यानेजर प्रकाश महरा र नायिका कल्पना शाही रहेका छन् । करिब एक वर्ष अगाडी निर्देशक सुमन दाहालले चलचित्र मन परेपछिमा भित्राए पछि नायिका कल्पना शाहीले डेब्यु चलचित्र मन परेपछि बाहेक अन्य चलचित्रमा महराकै सिफारिसमा काम गर्ने गरेको बुझिएको छ । क्लासिक सिने युनिभर्सका सञ्चालक एबम चलचित्रका चर्चित प्रोडक्सन म्यानेजर प्रकाश महरा र कल्पनाको भेट एक वर्ष अगाडी भएको थियो । त्यसपछिका दिनहरुमा महराले प्रेमको पहिलो कदम उठाए पनि त्यस पछिका दिनहरुमा दुबैको प्रेम झाङ्गिदै गएको एक बिशवस्त श्रोतले जनाएको छ ।रमेश बुढाथोकीले निर्देशन गरेको चलचित्र ग्याम्बलर र बिजय बिक्रम बस्नेत निर्देशित हात लाग्यो शुन्यमा समेत महराको सिफारीसमा काम गरेकी कल्पनाले अब भने महरालाई आफ्नो जीवन साथी बनाउने भएकी छन् । यस बारेमा बुझ्न खोज्दा दुबैले आफ्नो सम्बन्धलाई गोप्य राख्न चाहे पनि उनिहरु चाँडै नै लगन गाँठो कस्ने तयारीमा रहेको श्रोतले दाबि गरेको छ ।

उत्साहजनक व्यापार गर्दै 'के यो माया हो'

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'के यो माया हो' को व्यापार उत्साहजनक भएपछि निर्माताहरूलाइ केहि आश जगाएको छ । बिगतका दिनमा नेपाली चलचित्रले राम्रो व्यापार नगरेको अवस्थामा यो चलचित्रको व्यापार देखेर चलचित्रकर्मीहरू खुसी छन् ।
लामो समय देखि चलचित्रको बितरण गर्दै आएका बितरक सुनिल मानन्धर भन्छन्, 'नेपाली चलचित्र चल्दैन भन्ने मान्यतालाई यस चलचित्रको रिपोर्टले देखाएको छ ।' यता चलचित्र लेखक तथा निर्देशक बिकाश आचार्य नेपाली चलचित्रले यस्तो उत्साहजनक व्यापार गर्नु उधोगकै लागि खुसीको कुरा भएको बताए । उनी भन्छन्, 'यसरी नै दर्शकहरू नेपाली चलचित्र हेर्न थाल्ने हो भने उधोगको विकास हुन धेरै समय लाग्दैन ।' बिकास जस्तै अन्य निर्माता निर्देशकहरू पनि के यो माया होको व्यापारबाट खुसी छन् । पत्रकार शान्ति प्रिय भन्छन्, 'नेपाली चलचित्र चल्नु हाम्रो लागि खुसीको कुरा हो ।'सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' अहिले देशभरका अधिकांश हलहरूमा प्रदर्शन भईरहेको छ । चलचित्रले राम्रो व्यापार गरेको देखेर निर्देशक थापा दंग छन् । यति मात्र हैन चलचित्रका निर्माताहरू पनि खुसी छन् ।आर्यन सिक्देल, शुष्मा कार्की, अरूणिमा लम्साल र सौगात मल्लको मुख्य अभिनय गरेको चलचित्र 'के यो माया हो' प्रेमकथामा अधारित छ । शहरमा मौलाउँदै गएको लिभ इन टुगेदरको कथालाई केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको सो चलचित्रको गीतसंगित पनि अहिले चर्चामा नै छन् ।

आर्यनको उपहार -'के यो माया हो'

हिरो आर्यनका लागि शुक्रबार दुई अर्थले गुड फ्राइडे रह्यो । शुक्रबारै उनको आफ्नै जन्मदिन थियो भने सोही दिन उनी अभिनित 'के यो माया हो' रिलिजको दिन । ठीक एकवर्षअघि आजकै दिन आर्यन अभिनित 'फस्टलभ' प्रीमियर भएको थियो । बिहानैदेखि मोबाइल स्वीच अफ भएकाले बर्थडे म्यासेज पाउन नसकेका आर्यनले जन्मदिन भने मनाएनन् भने पनि हुन्छ ।जन्मदिन बिहान उनी अपकमिङ प्रोजेक्ट 'मेरो लभस्टोरी'को डबिङमा व्यस्त थिए भने बेलुका 'आइएम सरी'को सुटिङमा । 'के यो माया हो'को प्रमोसनमा भने ब्यस्तताले जान सकेनन् । मेरोसिनेमासँगको बर्थडे शुभकामना लिँदै आर्यनले 'के यो माया हो' दर्शक र शुभेच्छुकका लागि आफ्नो बर्थडे गिफ्ट भएको बताए । 'के यो माया हो' मेरो जन्मदिनको उपहार हो । हेर्नुस र मलाई ह्याप्पी बर्थडे भन्नुसु आर्यनले भने 'वास्तवमा मलाई बर्थडे मनाउने त्यस्तो रुचि छैन ।'फेसबुकको भित्तोभरी बर्थडे सन्देश पाएका आर्यनलाई उनको कोठामै पुगेर उनकी खास साथी एङ्लीले गुलाबसहितको बर्थ-डे गिफ्ट दिइन् । आर्यनका अनुसार उनै एङ्ली जो काठमाडौं बस्छिन् र आर्यनलाई माया गर्छिन् । आर्यन र एङ्लीबीच पछिल्लो समय गाइँगुइँ नचलेको पनि होइन । यद्यपी सबैभन्दा पहिले एङ्लीको बर्थडे म्यासेजले गाइँगुइँलाई बल पुर्‍याएको छ । ह्याप्पी बर्थडे आर्यन !
गणेशको पनि बर्थडे
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी पनि शुक्रबार तीसौं जन्मदिन मनाउँदै छन् । बिकास बोर्डका कर्मचारीसँग दिउँसो र परिवारसँग गेट-टुगेदर गरेर बर्थडे मनाउने गणेशले मेरोसिनेमालाई बताए । चलचित्रको 'स्वतन्त्रता संग्राम'लाई आफूले बर्थडे संकल्पका रुपमा लिएको भण्डारीले जनाए । यसको अर्थ आफूले अघि सारेका एजेन्डालाई जुनसुकै मूल्य चुकाएर पनि कार्यान्वयन गर्न जन्मदिनले ऊर्जा थपेको गणेशले बताए ।द नेपाल~रोमानियाको तर्फ बाट दुबै जना लाई हार्दिक शुभ कामना

चेतन सापकोटालाई हत्याको धम्की

सेन्सर बोर्ड र चलचित्र विकास बोर्डअन्तर्गतको अनुगमन समितिका सदस्य चेतन सापकोटालाई ज्यान मार्ने धम्की आएको छ । शुक्रबार बिहान सापकोटाको मोबाइलमा फोन गरी अज्ञात व्यक्तिले सापकोटालाई धम्काएका हुन् । काठमाडौंको नम्बरबाट आफूलाई धम्की दिने व्यक्तिबारे छानविन भैरहेको सापकोटाले जनाए । आफ्ना सदस्यमाथिको धम्कीलाई चलचित्र विकास बोर्डले गम्भीर रुपमा लिँदै शुक्रबारदेखिनै छानविन थालेको छ । 'तँलाई बाँच्न मन छैन ? दादागिरी गर्छस् भन्दै मलाई अज्ञात व्यक्तिले हत्या गर्ने धम्की दियो' घटनाबारे सापकोटाले मेरोसिनेमासँग भने 'हामी गोप्यरुपबाट छानविन गरिरहेका छौं । चाँडै धम्कीदिनेबारे थाहा पाउनुहुनेछ ।' बोर्ड अध्यक्ष गणेश भण्डारीले सापकोटामाथिको धम्की सिँगो चलचित्र उद्योगमाथिको धम्की र चलचित्र विकास नचाहनेले गरेको उल्लेख गरे । सापकोटा स्वयमले पनि आफूमाथिको धम्कीलाई चलचित्र विकास बिरोधीले चालेको चाल भनेर टिप्पणी गरे ।घटनाप्रति निर्देशक समाजले पनि रोष व्यक्त गरेको छ । समाजका प्रथम उपाध्यक्ष विमल पौडेलले धम्की दिनेलाई 'खबरदार' भनेका छन् । हालैका महिनामा सापकोटाको सक्रीयतामा थालिएको बिकास बोर्ड र सेन्सर बोर्डको अभियानप्रति असुन्तष्ट पक्षले धम्की दिएको प्रारम्भिक अनुमान गर्न सकिन्छ । बिकास बोर्डका सल्लाहकार निर्माता तथा निर्देशक युवराज लामालाई दिएको ज्यान मार्ने धम्की भुइँमा खस्न नपाउँदै संगीतकार समेत रहेका सापकोटालाई धम्की आएको हो । धम्कीप्रति आफू नडराउने सापकोटाले बताए ।