शुक्रबारबाट मि. मंगले

नायक वीरेन श्रेष्ठले निर्माण गरेको चलचित्र 'मि. मंगले' आगामी शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको सो चलचित्र बिश्वज्योती, गंगा, कलंकी, गुण, गोपी, बाराही लगायतका करिब एक दर्जन हलहरूमा प्रदर्शन हुँदैछ ।किशोर राना मगरले निर्देशन गरेको सो चलचित्रमा वीरेन श्रेष्ठ, अरूणिमा लम्साल, रेखा थापा, दिवस उप्रेती, गोपाल भुटानी, शक्ति पण्डित, अन्जु महर्जन, राकेश लामा, पुकार भट्टराई, सपना श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली मौलिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको सो चलचित्र त्रिपक्षिय प्रेमकथा र हाँस्यव्यङ्गमा आधारित छ ।गत बर्ष उपत्यका बाहिर प्रदर्शन भएर सफलता पाएको सो चलचित्रले गत बर्षको केटिभी चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशक, सहअभिनेता, पाश्र्व संगीत, बाल कलाकार, हास्य कलाकार र संवाद गरि ६ बिधामा अवार्ड हात पारेको थियो । चलचित्रमा गायक प्रमोद खरेल र राम कार्कीले संयुक्त सङ्गीत दिएका छन् ।

‘क्यु सिस्टम’ सानाको लागि मात्र

नेपाली सिनेमा क्षेत्र भित्रका धेरै समस्याहरु मध्ये एक हो– सिनेमाको प्रदर्शन मिति फिक्स नहुनु । यहाँ कतिपय निर्माता, निर्देशकहरुलाई आफ्नो फिल्म हलहरुमा कहिलेबाट लाग्दैछ भन्ने खबर समेत थाहा नहुने अवस्था ब्याप्त रहेको पाईन्छ । यसबाट दर्शक बिच अन्योल श्रृजना त भएकै छ, अर्का तर्फ निर्माता , निर्देशक र फिल्मका प्रचार–प्रसारकर्ताहरु समेत ट्वाल्ल परिरहेका छन् ।यस समस्याहरुबाट पिडित निर्माता निर्देशकहरु यसो भन्छन्, ‘शुक्रबारबाट फिल्म लाग्ने भनेर हामीलाई बिहिबार राति मात्र थाहा हुन्छ, त्यसपछि हामीलाई प्रचारप्रसार र अन्य प्राबिधिक समस्याले सास्ती दिन्छ ।’ यस्तै भएको थियो केहि समय अगाडि निर्देशक योगेश घिमिरेलाई । घिमिरेद्धारा निर्देशित ‘नबिसें तिमीलाई नपाएँ तिमीलाई’को प्रदर्शन काठमान्डौंमा हुँदैछ भन्ने कुरा उनलाई बिहिबार मात्र थाहा भयो । यसबाट उनको सिनेमाले राम्रो ब्यापार गर्न नसकेको उनको ठहर छ । त्यस्तै, ‘सम्झना’ र ‘तिमी मात्र तिमी’ प्रदर्शनको समयमा पनि यस्तै समस्याहरुबाट घिमिरे मारमा परेका थिए । ‘क्यु सिस्टम’को बिपक्षमा रहेका घिमिरे यसलाई ‘सामन्ति नियम’ मान्दछन् । ‘यहाँ पहुँच भएका र ठुला ब्यक्तिहरुको सिनेमा मिति परिवर्तन गरी गरी चलाउन सकिन्छ भने हामी जस्ता निर्माता, निर्देशकहरुको सिनेमा लगाउन हतार गरिन्छ र लागेपछि हलबाट उतार्न’, घिमिरेले थपे,‘ मेरो सिनेमा ‘सम्झना’ प्रदर्शनताका मैले आफ्नो सिनेमाको प्राबिधिक काम केहि बाँकी हुँदासम्म पनि एक हप्ता सार्ने मौका पाईन् ।’घिमिरे मात्र हैन यस समस्या भोग्नेहरुको तालिका लामो बन्न सक्छ । यस बहसको बिषयलाई सम्बन्धित पक्षले मनन गर्ने कहिले हो, हेर्दै जाऊँ ।

बिहे गर्ने भए कसमका निर्माताले

कहि समय अगाडि मेरोसिनेमाले फिल्म फ्लप भए बिहे नगर्ने भनेर दर्शकलाई घुक्र्याउने एक निर्माताको खबर प्रस्तुत गरेका थियौं । अन्ततः ती निर्माता अर्थात् हाल देशभर प्रदर्शन भैरहेको सिनेमा ‘कसम’का निर्माता राम प्रसाद रिजालले बिहे गर्ने भएका छन् ।‘कसम’ देशब्यापी रुपमा सफल भैरहेको भन्दै यी निर्माता बिहे गर्ने सुनौलो सपना पनि बुन्न थालेका छन् । पोखराको रमाईलो घटनालाई सम्झँदै रिजालले भने, ‘हामी फिल्म प्रदर्शनको शिलशिलामा केहि दिन अघि पोखरामा थियौं, त्यहाँ थुप्रै दर्शकहरुले फिल्म फ्लप भए बिहे नगर्ने निर्माता खोई भन्दै खोज्दै आए र मलाई भेटिसकेपछि, अब त बिहे गर्ने होला नि भनेर प्रश्न गरे ।’‘यसरी बिहे त गर्ने भनियो तर बिहे गर्नलाई केटी छैन’, भन्दै छन् रिजाल आजकाल । ‘बिहे गर्न केटी खोज्नु पनि काँ हिरोईन खोजेको जस्तो सजिलो हुन्छ त ?’, भन्ने हाम्रो प्रश्नमा रामले भने– हैन कोही न कोही त होलिन् नि मैरै निम्ति ।लौन रामजी, बिहे गर्न त दर्शक घुक्र्याउनु भो, अब फेरी केटी खोज्ने जिम्मा पनि उहाँहरुलाई नदिनुस् है । फेरी पछि गाह्रो पर्ला..

खुल्न चाहिनन् दिया

भुषण दाहाल निर्देशित सिनेमा ‘कागबेनी’बाट रजतपटमा टेकेकी नायिका दिया मास्के फिल्ममा नभै अन्य काममा ब्यस्त छिन् । ‘एकदिन एकरात’ पनि आफ्नो अभिनय कला प्रस्तुत गरेकी दिया हाल रँगमन्चमै रमिरहेकी छिन् ।'मलामी' नामक नाटकको तयारीमा ब्यस्त रहेकी दियालाई हामीले अब अरु कुनै फिल्म नगर्ने भनेर प्रश्न गर्दा, फिल्म त गर्ने तर केहि समय लाग्छ, भन्ने उत्तर आयो । ‘एकदिन एकरात’ पछि धेरै अफरहरु आएको बताउने उनले आगामी प्रोजेक्टको बारेमा भने हामीलाई बताउन चाहिनन् । ‘खेल्ने पक्का भैसक्यो तर प्रोमोसन चैं नगरौं होला’, दियाले भनिन् ।रँगमन्चमा थुप्रै नाटकहरु खेलिसकेकी दिया राम्रो नृत्य पनि गर्छिन् । हामीले उनीलाई थुप्रै म्युजिक भिडियोहरुमा पनि देख्दै आईरहेका छौ । कागबेनी र एकदिन एकरात जस्ता थ्रिलर धारका सिनेमाहरु खेल्दै आएकी दियाको आगामी सिनेमा पनि थ्रिलर नै हुने त होईन्, भन्न सकिन्न ।

यी दुईको दौडमा अगाडि को ?

नेपाली सिनेमाको पाश्र्व गायनमा एकताका गायिका अन्जु पन्तको राज देखिन्थ्यो । तर आजकाल अन्जुलाई यो दौडमा अर्का दुई गायिकाहरुले पछि पार्ने स्थिति देखिन्छ । ‘कसलाई दिउँ यो जोवन’को ‘तिमी जाहाँ छौ म त्यहिँ छु’ बोलको गीत गाएर चर्चामा आएकी प्रबिशा अधिकारी र ‘नाई नभन्नु ल’को शिर्षगीत साथै ‘म मर्ने बेलाँ’ बोलको गीत गाएर चर्चा बटुलेकी रजिना रिमाल हाल जोड तोडले यस क्षेत्रमा जमिरहेका पाईन्छन् ।आफ्नो ‘सोलो एल्बम’ निकाल्ने तयारीमा रहेकी प्रबिशा, त्यसो त शिक्षालाई पनि निरन्तरता दिँदै छिन् । हालै मात्र यादब गोबिन्दको सँगीत रहेको सिनेमा ‘भैहाल्छ नि’का लागि एउटा गीत गाएकी उनले हाम्रो माया जुनी जुनीलाई, तिम्रै लागि, मिस यु लगायत थुप्रै सिनेमाहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् ।यता, रजिनाको ब्यस्तता पनि चुलिदै छ । उनले गाएको ‘ब्याच नं १६’ को ‘खुशी फुल्छन् मनै भरी’ बोलको गीतले चर्चा बटुल्दै छ । ‘के यो माया हो’मा सुगम पोखरेलको सँगीतमा हालसालै गीत गायकी रजिनाले भैहाल्छ नि, अन्दाज, तिम्रै लागि, रात पछिको जिन्दगी, मलाई मन पर्यो, ग्याम्लर, पहिलो माया, द्रब्य, मृगतृष्णा, प्रितिको फुल लगायत थुप्रै सिनेमाहरुमा आफ्नो आवाज दिईसकेकी छिन् ।रमाईलो कुरा के भयो भने, यी दुबै गायिकाले आफुले गाएको सिनेमाहरुको गीत सम्झेर भन्न सकेनन् । त्यसका लागि उनीहरुले आफ्नो डायरीको प्रयोग गर्नु पर्यो । अब हामी पनि अन्यौलमा पर्यौं कि, ‘यी दुईको दौडमा अगाडि को’ ?

पेनड्राइभ र मेमोरी कार्डबाट गीत बिक्री

संगीत उद्योग संघ र एक सयभन्दा बढी म्युजिक कम्पनी मिलेर नेपाली गीत आधिकारिक रूपमै पेनड्राइभ र मेमोरी कार्डबाट सुन्न पाइने व्यवस्था लागु गर्ने भएका छन् । म्युजिक नेपालले सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी पेनड्राइभ र मेमोरी कार्डबाट पनि गीत किन्न सकिने व्यवस्था गर्न लागेको हो।नेपाल म्युजिक सेन्टरमा आयोजित कार्यक्रममा पेनड्राइभबाट राष्ट्रिय गान बजाएर सो प्रविधिको उद्घाटन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले गरेका थिए । प्रविधिको उद्घाटन पश्चात बाबुराम भट्टराईले नेपाली स्रष्टाहरूलाई सहयोग गर्न नयाँ नयाँ प्रविधि अपनाउनु पर्ने बताए। कलाकारको सिर्जना नचोरिए पेनड्राइभ र मेमोरी कार्ड प्रबिधी भित्र्याईनु सम्मान जनक कार्य भएको गायन समाजका अध्यक्ष गायक रामकृष्ण ढकालले बताए । संगीतकार शम्भुजित बाँस्कोटाले पनि पेनड्राइभ योजनाको प्रशंसा गरे ।धेरैभन्दा धेरै गीत समेटिने सो १ देखि २ जीबीसम्म क्षमताको मेमोरी कार्डलाई ६ सय ७५ रुपैयाँ तोकिएको छ भने पेनड्राइभलाई ८ सय ७५ रुपैयाँ । बिक्रीबाट गीतका सर्जकहरूलाई १५ प्रतिशत रोयल्टी दिइने म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले बताए। सीडी र क्यासेट बिक्री हुनै छाडेपछि यो प्रविधि अपनाएको शर्माको भनाई छ । पेनड्राइभ र मेमोरी कार्डमार्फत गीत किन्नका लागि भने केही दिन कुर्नुपर्नेछ ।

अब हामी बनाउँछौ सिनेमा

टेलिभिजनको पर्दामा हास्य सिरियल 'मेरी बास्सै' मार्फत् ‘धुर्मुस’ र ‘माग्ने बुढा’को रुपमा प्रस्तुत भएर दर्शक हसाईरहेका सिताराम कट्टेल र केदार घिमिरे हिरो बनेर सिनेमामा देखिँदा र हिरोईनसँग नाच्दा कस्ता देखिएलान्, कल्पना गरौं ।तर यो कल्पना चाँडै नै यथार्थमा परिणत हुँदैछ । ‘दौड’ नामक नेपाली सिनेमामा अभिनय गरिसकेका कट्टेल आफुलाई हिरो बन्ने अफर थुप्रै आएको बताउँछन् । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनयलाई प्रशँसा गर्ने कट्टेल हमाल अभिनित पहिलो सिनेमा 'युगदेखि युगसम्म' आफुले पहिलो पटक हेरेको सिनेमा हो, भन्दछन् ।आफु हिरो बन्ने बेला अहिल्यै भैसकेको छैन भन्ने उनी अभिनयमा अलि खारिए पछि हिरो बन्ने बताउँछन् ।यति मात्रै हैन, कट्टेलले केदार घिमिरे ‘माग्नेबुढा’सँग मिलेर सिनेमा निर्देशन गर्ने बिचार पनि गरेका छन् । ‘हामीसँग थुप्रै कमेडी फिल्मका स्क्रिप्टहरु छन्, देशको अवस्था राम्रो भएपछि र नेपाली सिनेमाले राम्रो ब्यापार गर्न थाले पछि हामी त्यस माथि रहेर फिल्म निर्देशन गर्नेछौं’, कट्टेलले भने, ‘अहिलेको अबस्थामा फिल्म निर्माण गर्यौं भने हामीले लगानीकर्ताको लगानी उठाईदिन सक्दैनौं’ ।अन्त्यमा कट्टलले भने, ‘अबको २–४ बर्षमा हामी निर्देशित फिल्म नेपाली दर्शकले हेर्न पाउने छन्’ ।