हिन्दी हटाएर नेपाली सिनेमा

बलिउड हेजोमोनीले राजधानीमा नेपाली सिनेमाको रिलिज प्रभावित भइरहँदा पूर्वका केही सिनेमा घरले भने चलिरहेको हिन्दी सिनेमा रिप्लेस गरेर नेपाली सिनेमा 'धर्मा' प्रदर्शन थालेका छन् । बिराटनगरको विराटचोकस्थित सुकुना चलचित्र हल, दमकको नीलकण्ठ, झुम्काको किरण चलचित्र हलले बलिउडको 'तीस मार खाँ' हटाएर 'धर्मा' प्रदर्शन थालेका हुन् । 'दर्शकले मनिषा कोइराला स्टारर धर्मा नै हेर्न चाहेपछि हिन्दी फिल्म लगाएनौं' सुकुना हलका संचालक गणेश खड्काले मेरोसिनेमासँग भने ।
बिराटनगर मनीषाको गृहनगर पनि भएकाले दर्शकले उनको फिल्म हेर्न चाहिरहेका छन् । मनीषा स्वयम पनि केही दिनमा सुकुना हलमा पुग्ने खबरले दर्शकहरु उत्साहित छन् । नीलकण्ठका कृष्ण भट्टराईले पनि दर्शकको मागबमोजिम 'धर्मा' प्रदर्शन थालिएको बताए । राजेश, मनीषा, अनु शाह, संयोग पोखरेल स्टारर यो चलचित्र शुक्रबारदेखि डीसीएन तथा यूएफओ सर्भरजडित दुवै च्यानलका हलहरुमा रिलिज भएको हो । डीसीएनका पूर्वक्षेत्र वितरक सन्जु पराजुलीका अनुसार अन्य हलहरुले पनि दिउँसो नेपाली 'धर्मा' र बेलुका 'तीस मार खाँ' प्रदर्शन गरिरहेको बताए ।'राजधानीमै तीसमार खाँ'ले राम्रो प्रभाव पार्न नसकिरहेको बेला पूर्वमा पनि यसको प्रभाव देखिएन' पराजुलीले मेरोसिनेमासँग भने । चल्दै गरेको हिन्दी सिनेमालाई रिप्लेस गरेर आफू निर्देशित फिल्म चलेपछि यतिबेला निर्देशक दीपेन्द्र के. खनाल खुशि छन् । केही दिनमा उनी हिरोइन कोइरालालाई लिएर पूर्वान्चल प्रमोसनमा निस्कँदैछन् । भारतको दार्जिलिङ र सिक्किममा पनि प्रदर्शनको तयारी भैरहेको छ । यतिबेला 'धर्मा' मध्य र पश्चिम नेपालमा पनि प्रदर्शनरत छ ।

एकैपटक चार सिनेमा

अघिल्लो शुक्रबार 'गुडफ्राइडे' हुन नसकेको नेपाली सिनेमामा आउँदो शुक्रबार अर्थात अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा एकैसाथ चार चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदैछन् । डीसीएनले वितरण गर्ने 'एकदिन एकरात' र क्यूव च्यानलका 'घातक', 'अचानक' र 'कन्यादान' रजतपटमा उत्रने त छन् तर रिलिज प्रभावित भएर हल पाउन मुस्किल भएको बेलामा रिलिज हुने यी सिनेमालाई कलेक्सनमा मुस्किल पर्नेछ । यी चार चलचित्र रिलिज हुने एउटै शर्त छ -अहिले प्रदर्शन भैरहेका सिनेमाले होल्डओभर कायम गर्न सकेनन् भने ।

अघिल्लो साता बलिउड हेजोमोनीले तर्सिएका 'एकदिन एकरात' र 'अचानक'को धकेलिएको रिलिजले यो साता यसरी चार सिनेमा सार्वजनिक हुन लागेका हुन् । अंग्रेजी नयाँ वर्षमा फिल्म रिलिज गर्न चाहने निर्माताको मनस्थितीले पनि यस्तो अवस्था भएको हो । क्यूवका तीन सिनेमाले नयाँ कथा, नयाँ मेकिङका साथ बनेको 'एकदिन एकरात'सँग प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिती छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको थ्रीलर जनरको यो चलचित्रमा गतवर्षका उत्कृष्ट नायक अनुप बराल, कर्म, दिया मास्के, विनय श्रेष्ठलगायतले अभिनय गरेका छन् । 'सुपरन्याचुरल' यसको खास विशेषता हो ।निर्देशकका रुपमा रामजी लामिछाने डेब्यु चलचित्र 'घातक' थ्रीलर श्रेणीको चलचित्र हो जहाँ रमित ढुंगानाले नेगेटिभ भूमिका खेलेका छन् । रमितसहित सुमन सिँह, झरना थापा, जीवन लुइँटेल, प्रेरणा शर्मा, रवि बस्नेत रहेको मल्टिस्टारर'घातक'लाई प्रभुशमशेर राणाले निर्माण गरेका हुन् । देशभक्त खनालद्धारा निर्देशित पाँचौ चलचित्र 'अचानक'मा निखिल उप्रेती, जेसिका खड्का, दीलिप रायमाझी, गौरी मल्ल, धीरेन शाक्य, सिर्जना बस्नेत छन् । सोसल ड्रामा श्रेणीको चलचित्र तीनवर्ष अगाडि बनेको थियो ।शोभित बस्नेत निर्देशित बीसौं सिनेमा 'कन्यादान'ले मोफसलमा यसअघि औषत रिभ्यू बटुलेको थियो । प्रकाश थापाको 'कन्यादान'को रिमेक गरेका शोभितले यो चलचित्रमा विराज भट्ट, अर्जुन भट्ट, जयकिसन बस्नेत, कुशल थापा, कन्चन रेग्मी, रन्जना शर्मालाई उतारेका छन् । फर्मुला श्रेणीको यो चलचित्र विहेको कथामा आधारित छ । रिलिज हुने दिन नजिकिएपछि 'एकदिन एकरात'बाहेकले पब्लिसिटीमा जोड दिएका छैनन् । समीक्षकहरु भन्छन् 'एउटै शैलीका फर्मुला सिनेमा धमाधम फ्लप भैरहेको बेला यी सिनेमालाई पनि सफलता हात लाग्न कठिन छ ।'

राजवल्लभले बचाए हिरोइनलाई !

सुटिङ्का क्रममा हेलिकोप्टर प्रयोग गरिएको चलचित्र 'प्रीतिको फूल' का नायक अर्जुन (राजबल्लभ कोइराला) शनिबार साँझसम्म पोखराको हिमालयन गल्फ कोस्रमा असिनपसिन भेटिए । कारण -नायिका यूना उप्रेतीसँग हेलिकोप्टरमा सवार उनले मायालु गौरी (गरिमा पन्त) लाई आत्महत्या गर्नबाट बचाउनु रहेछ । उक्त दृश्य क्यामरामा कैद गर्न ३ बजे देखिनै सुटिङस्थल हिमालयन गल्फ कोस्रमा फिस्टेल एयरको हेलिकोप्टर एनवान-एआईडब्लु ल्यान्ड भयो ।दुई घण्टासम्म क्याप्टेन सिद्धार्थ गौतमले दृश्य छायाँकनका लागि सेतीनदी किनारको खोंच, नजिकै लेखनाथको रिट्ठेपानी तथा गल्फ कोस्रमा कुशलतापूर्वक हेलिकोप्टर उडाए । प्रतिघण्टा एकहजार डलर खर्चिएर सुटिङका लागि झिकाइएको सो हेलिकोप्टरबाट कैयौपटक नायक कोइराला, नायिका पन्त र उप्रेती उड्ने र हाम फाल्ने काम गरे ।तीन कलाकारले स्टन्ट गर्दा नौलो अनुभव भएको बताए । ३० फिटमाथिबाट नायिका पन्त हेलिकोप्टरमा झुण्डिएर दिएको सटले सुटिङ हेर्न पुगेका सर्वसाधारणले डराएर जिब्रो टोके ।'निकै डर लाग्यो;पहिलोपटक भएर पनि होला'-नायिका पन्तले मेरोसिनेमासँग भनिन -'जेहोस् सबैको सपोर्टले राम्रो भयो ।' नायिका यूनाले पनि नौलो अनुभव साट्दै भनिन् 'सट एक्साइटेड थियो ।' हेलिकोप्टरको प्रयोग भएको चलचित्र 'पहिलो पहिलो माया'मा पनि सामान्य खालको सुटिङ भ्याएका राजबल्लभले स्टन्टलाई रिस्क र चुनौतीपूर्ण रहेको प्रतिकि्रया दिए । यसखालको सटका लागि धेरै तयारी हुनुपर्ने उनले जनाए ।

पर्खिबसे, पहिलो पहिलो मायापछि राजबल्लभको भेट यूनासँग तेस्रो पटक हो भने गरिमासँग उनले यसअघि सम्झना, किन लाग्छ माया र फूल गरिसकेका छन् । गोपीकृष्ण मूभिजको 'खुशी' प्रदर्शन भैरहेको बेला पोखरा र आसपासमा हप्तायता धमाधम सुटिङ भैरहेको चलचित्र 'प्रीतिको फूल' त्रिकोणात्मक चलचित्र हो भन्छन् निर्देशक रेशराज आचार्य । 'प्रीतिको फूल अरु फूलजस्तो हैन; यो फूल न त झर्छ न त ओइलाउँछ' उनले भने ।चलचित्रमा गाउँकी मायालु गौरीसँग मायासँगै अर्जुन (राजबल्लभ) गायक बन्ने धुनमा सहर छिर्छन् । फ्यानको रुपमा चलचित्रकी नायिका युनासँग भेट्ने रहर उनमा लाग्छ । सो क्रममा युनाले अर्जुनलाई प्रेम गर्छिन् । युनाको वान साइडेड लभ भए पनि दुबैबीच प्रेम रहेको थाहा पाएपछि गाउँकी मायालु गौरी बिक्षिप्त हुन्छिन् । उनी आत्महत्या रोज्ने निर्णयसँगै भिरमा पुगेको बेला उनको रेस्क्यू अर्जुनबाटै हुन्छ । सोही दृश्य कैद गर्नका लागि सुटिङ् यूनिट मध्यान्ह नहुँदै पोखराबजारबाट झण्डै १० किलोमिटर दक्षिण-पूर्वी हिमालयन गल्फ कोस्र पुगेको हो ।टुहुरो, धर्मसँकट, बन्धन, माटो बोल्छ, अनमोललगायतका चलचित्रमा निर्देशकीय क्षमता देखाइसकेका आचार्यले यो चलचित्रबाट आफू आशावादी भएको प्रतिक्रीया दिए । उनका अनुसार काठमाडौ र पोखरामा गरी चलचित्रको झण्डै ७० प्रतिशत सुटिङ सम्पन्न भैसकेको छ । बाँकी छायाँकन पोखरामा सक्ने गरी यो यूनिट यही पुस १५ गतेसम्म पोखरा र आसपासमा सुटिङमा ब्यस्त रहने जनायो । निरक पौडेल कार्यकारी निर्देशक रहेको चलचित्रमा नीकिता र निरज पौडेल निर्माता हुन् भने ताराप्रकाश लिम्बुको संगीत छ ।

माटो कस्तो होला ?

शुक्रबारबाट उत्यका बाहिरबाट प्रदर्शनमा आएको किशोर सुब्बा निर्देशित चलचित्र माटोको ब्यापार कस्तो होला भन्ने बारेमा चलचित्रकर्मी र सञ्चारकर्मीले अडकलबाजी सुरू गरेका छन् ।
पछिल्लो चरणमा चलचित्रको ब्यापार सन्तोष नभएको अवस्थामा प्रदर्शनमा आएको उक्त चलचित्रमा हाल मुख्य समस्याको रूपमा देखा परेको संघीयता तथा राज्य पुनसंरचनको बिषयलाई प्रस्तुत गरिएको छ । माता पाथिभरा फिल्मसको ब्यानरमा भीम लामाले निर्माण गरेको उक्त चलचित्रमा राजेश हमाल, रेजिना उप्रेती, मित्र लिङ्देन, श्याम यादव, कृष्ण केसी, मुकुन्द श्रेष्ठ, सीमान्त उदास, पुष्प श्रेष्ठ, भूपेन्द्र लिङ्देन आदि कलाकारले अभिनय गरेका छन् ।हाल सम्म संघीयताको बिषयमा कुनै पनि नेपाली फिल्म नबनेकाले दर्शकको मन तान्न यो फिल्मले सक्छ भन्ने थुप्रैको अनुमान रहेपनि केही दिन पछी मात्र यो फिल्मको बास्तविक ब्यापार थाहा पाइने अवस्था छ । चलचित्रमा सौरभ लामाको छायाकंन, दिनेश र्राईको संगीत, गोविन्द र्राईको नृत्य निर्देशन रहेको उक्त चलचित्रमा राम जनकको द्धन्द समेटिएको छ । चलचित्रमा चार जना नायकलाई चार समावेशी पात्रका रूपमा चित्रण गरिएको छ जसमा राजेश हमालले खस समुदायको प्रतिनिधित्व गरेका छन् ।

नायिका नयाँ कथा पुरानै

खै फिल्म बनाउँ भनेको नयाँ हिरोइन नै पाईएन....खोजे जस्तो हिरोइन नभएर फिल्म सुरुवात गर्न नै पाईएको छैन....मलाई एक जना नयाँ हिरोइन आवश्यकता पर्‍यो लौ न कोही छ भने भन्नुहोला.....!
माथिका भनाईहरू चलचित्र वनाउने सुर कसेका अधिकांश निर्माता तथा निर्देशकको मुखवाट निस्कने विरक्तिपना हो । यस्ता भनाईहरु अहिले अनलाईन सामाजिक संजाल वनेको फेसवुकमा पनि छ्यापछ्याप्ती पाईन्छ । फेसवुकलाई नेपाली चलचित्रका निर्माता निर्देशकले हिरोइन खोज्ने राम्रो माध्यम पनि वनाएका छन् । आखिर नयाँ हिरोइनको खोजी यति व्याप्त रुपमा किन भएको हो भन्ने कुरा न त खोज्नेलाई नै थाहा छ न त सुन्नेलाई नै । सवै किन नयाँ अनुहारको पछाडि दौडिएका होलान् त ? एक चलचित्रमा अभिनय गरीसकेकी नायिका अर्को चलचित्रका लागी पुरानो कोटामा परीसकेकी हुन्छिन् ? के साच्चीकै निर्माताहरु नेपाली चलचित्रमा नायिका नै नभएकाले नयाँ-नयाँ अनुहार खोजीरहेका हुन् त ? यि यस्ता प्रश्नहरूको उत्तर अझै अनुत्तरित नै छ ।आफूले वनाउन लागेको एक नयाँ चलचित्रका लागी निर्माता प्रदिप उदय नयाँ अनुहार खोजीरहेका छन् । नयाँ नायिका नपाएकाले चलचित्र नै सुरु गर्न नपाएको उनको भनाई छ । आखिर उनले नयाँ नायिका किन खोजीरहेका हुन् त ? उनले भने, 'मैले वनाउन लागेको चलचित्र पूर्णतया लभस्टोरी धारको छ ।'यस्ता माया प्रेमका कथावस्तुमा चलचित्र निर्माण गर्दा पुराना कलाकार राखे दर्शकले ति कलाकारमा त्यो पात्रमा आफूलाई पाउन नसक्ने प्रदिपको भनाई छ ।

नयाँ अनुहरामा दर्शकले आफूलाई पाउने भएकाले लभस्टोरी धारका चलचित्रमा नयाँ कलाकार आवश्यक परेको हो । प्रदिपको भनाईलाई आफ्नै ठाँउमा थाति राखेर हेर्ने हो भने अधिकांशको रोजाईमा नयाँ नायिका मात्र परेका छन् । एउटा चलचत्रिमा अभिनय गरीसकेपछि कोही नायिका पुरानो भएर घरमा थन्किएर वस्नु परेको समयमा निर्माताहरु भने नयाँ-नयाँ अनुहारका लागी चिल्लाईरहेका छन् ।नयाँ नायिका लिएका चलचित्रका केही समय कुरा गरौ । चलचित्र 'नाई नभन्नु ल' मा विकास आचार्यले कथाले मागेको भन्दै ऋचा सिंह ठकुरीलाई नायिकाको रुपमा लिए । तर यो चलचित्रमा नयाँ अनुहार नभएको भए चलचित्रलाई के फरक पथ्र्यो भन्ने कुरालाई न त चलचित्रले पुष्टि गर्न सकेको छ न त निर्देशकले नै पुष्टि गर्न सके । चलचित्र सिलसिलामा नायिका सोनीया केसी नव नायिकाको रुपमा भित्रिईन् । तर पनि उनको कारणले चलचित्रमा त्यस्तो केही पृथकता भने देखिएन । नव नायिकाले अभिनय गरेका अधिकांश चलचित्र प्रदर्शनको क्रममा छन् यसकारण पनि उनिहरुको भविष्य र आवश्यकताको वारेमा यसै भनिहाल्ने अवस्था छैन । तर निर्देशक तथा निर्माताहरु चलचित्रमा नयाँ अनुहारका लागी भौतारी रहेका छन् । नेपाली चलचित्रमा नायिकालाई खासै महत्व दिएको पाईदैन । चलचित्रमा को नायिका छिन् भन्दा पनि नायक को छन् भन्ने कुरालाई महत्व दिईन्छ । यसकारण पनि निर्माताहरु नायिका को राख्ने भन्नेमा खासै भेउ राख्दैनन् ।

सायद यही कारणले पनि हुनसक्छ नव नायिकाको खोजी भएको । चलचित्र च्यालेन्ज निर्माण गर्नु अघि निर्देशक श्याम भट्टराईले नायिकाको खुवै खोजी गरे । नयाँ नायिका नपाई चलचित्र नै निर्माण नगर्ने उनको उद्घोष थियो । सय भन्दा वढि युवतीको अडिसन पनि लिए उनले । अन्त्यमा उनको चलचित्रमा नयाँ अनुहार खुश्वु न्यौपाने भित्रिईन् । आखिर किन उनलाई पनि नयाँ नायिका नभई भएन त ? श्यामले खुलेर भने, 'नेपालमा कुनै पनि नायिका हरेक कुरामा फिट छैनन् । सवैजना सम्वन्ध र निकटताको आधारमा चलचित्र खेलीरहेका छन् । कसैले पनि यो क्षेत्रलाई गम्भिरताका साथ लिएका छैनन् ।''यसरी नायिकामा आवश्यक पर्ने सवै खुवी नपाउदा नयाँलाई खोज्नु परेको हो', श्यामले थपे । श्यामले त यो क्षेत्रमा आउने अधिकांश नायिकामा धेरै कमजोरी देखेका रहेछन् । यो प्रसङ्गलाई उक्काउदै गर्दा एउटा प्रश्न पनि जन्मन्छ । किन चलचित्र वनाउनेहरु नयाँ नायकमा रिक्स मोल्न चाहदैनन् ? नयाँ नायकको अभिनय भएको चलचित्रमा एक न एक चलेका नायकको टाउको विकाईएको पाईन्छ । तर चलचित्र वनाउनेहरु नायिकामा भने किन रिक्स लिन खासै डराउदैनन् त ?

चलचित्र पलपलमा पछि किन किन निर्देशन गर्न लागेका उकेश दाहाल पनि नयाँ अनुहार खोजीरहेका छन् । उनी भन्छन्, 'मेरो कथामा नव नायिका नभै हुदैन ।पुराना नायिका राख्दा दर्शकले उनिहरुलाई अन्य चलचित्रमा देखिसकेका हुन्छन् जसले गर्दा नयाँ अनुहार खोजीरहेको छु ।'यसरी सवै जना एक चलचित्रमा देखिएकी नायिका पुरानो भई भनेर नयाँ खोजीरहेका छन् ।
कारण स्पष्ट छ । यहाँ नायकवाद हावी छ । नायिकाको टाउको विक्दैन भन्ने सोच छ । जसका कारण नायक चलेको राखे नायिका जो राखीदिए पनि हुन्छ भन्ने सोच वोकेका चलचित्र निर्माता तथा निर्देशक छन् । यसकारण पनि नायिकाहरु नयाँ नयाँ प्रयोग भईरहेका छन् । अर्कोतिर नव नायिकामा शारीरीक शोषणका कुरा वारम्वार बाहिर आएको पाईन्छ र यो कुरा असत्य पनि होईन भन्ने कुरा धेरै पटक चलचित्र क्षेत्रमा देखिएका यस्ता घटनाले पुष्टि गरीसकेको छ ।निर्माता निर्देशकले नयाँ नयाँ नायिकाको खोजी गर्नुको पछाडि कत्तै यो कारण पनि होईन भनेर शंका गर्न सकिन्छ । खैर जेहोस् नयाँ अनुहारको ह्रिवम पिट्ने अधिकांश चलचित्रका निर्माणकर्ताहरुले ति नायिकालाई सुहाउदो कथा वनाउन सकेका छैनन् । ति नायीकालाई उहि पुरानो कथामा अभिनय गराउने हो भने नयाँ नायिका मात्र खोजेर के गर्नु ?अर्कोतिर यि अधिकांश नयाँ अनुहारहरु आफूभन्दा पाका उमेरका कलाकारसग सुहाओस् नसुहाओस् अभिनय गर्न विवश छन् । आफ्ना दाजु वा वावु समान नायकको प्रेमिका वनेर अभिनय गर्न वाध्य छन् नव नायिकाहरु । सधैजसो यसरी नै र यस्तै चलचित्र वनाउने हो भने नयाँ नायिका चाहियो भनेर किन कराउनु ? यसैले नयाँ नायिकाको खोजी गरेर चलचित्रको सस्तो पब्लिसीटी गर्नु भन्दा उनीहरुको खोजीको औचित्य पुष्टि गर्न तर्फ लाग्नु जरुरी छ ।खोजी नव नायीकाको मात्र होईन कथाको पनि गरौ । अनि मात्र नयाँ नायीका खोजीको अर्थ हुन्छ । पुरानो रक्सिलाई नयाँ वोतलमा हालेर पिलाउनुको अर्थ के? वोतल पुरानो भएतापनि रक्सि नयाँ वनाउनु आजको आवश्यकता हो । किनकी खाने रक्सि हो वोतल होईन ।

दार्जिलिङ र सिक्किममा पनि 'धर्मा'

नेपाली भाषी बहुल भारतका दार्जिलिङ र सिक्किममा पनि नेपाली सिनेमा 'धर्मा' प्रदर्शन गरिने भएको छ । ती स्थानमा पब्लिसिटीका लागि निर्माता र निर्देशकसहितको 'धर्मा' टीम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । पूर्वबाहेक मध्य र पश्चिम नेपालमा रिलिज भएर गुड रिभ्यू बटुलिरहेको मनिषा कोइराला र राजेश हमाल स्टारर यो चलचित्र त्यहाँका दर्शक र प्रदर्शकको माग बमोजिम प्रदर्शन गर्न लागिएको जानकारी निर्देशक दीपेन्द्र के. खनालले मेरोसिनेमालाई दिए ।
'धर्मा' टीमले ती दुइ स्थानमा चलचित्रको पब्लिसिटी पनि गर्नेछ । टीममा निर्देशक खनालसहित निर्मात्री डा. दुर्गा पोखरेल, अभिनेताहरु शंकर र माधव आचार्य, संयोग पोखरेल लगायत छन् । 'त्यहाँका दर्शकको माग बमोजिम सिनेमा प्रदर्शन गर्नेछौं' उनले भने 'प्रवासी दर्शकहरु धर्मा हेर्न आतुर छन् र मनिषा दिदीको क्रेजले उनीहरुको आतुरतामा घिउ थपेको छ ।'
पूर्वी नेपालमा आगामी साता पनि 'धर्मा' रिलिज हुने टुंगो छैन । रिलिज अनिश्चित भएपनि पूर्वी थिएटरमा धर्मा प्रमोसन गरिनेछ । पूर्वमा रिलिजलगत्तै अभिनेत्री मनिषा कोइराला गृहनगर विराटनगर प्रमोसनमा जाने कार्यक्रम छ । यतिबेला 'धर्मा' मध्य र पश्चिम नेपालमा दोस्रो सातामा प्रदर्शन भैरहेको छ । भारतीय सिनेमा सर्भर यूएफओमा पनि 'धर्मा' प्रदर्शनरत छ । गोर्खाल्यान्ड र राष्ट्रियताका लागि लडिरहेका दार्जिलिङ र सिक्किमबासीमा आफ्नो सिनेमाले सकारात्मक प्रभाव पार्ने आशा निर्देशक खनालको छ ।

झरनाले छाडिन् सिनेमा

नेपाली सिनेमाका लागि दुःखद खबर -अभिनेत्री झरना बज्राचार्यले आइन्दा कुनैपनि ब्यावसायिक सिनेमा नखेल्ने घोषणा गरेकी छिन् । पछिल्लो प्रोजेक्ट 'कोही…मेरो'पछि निष्क्रियप्रायः पूर्वमिस नेपालले मेरोसिनेमासँग भनिन् 'अबदेखि म कुनैपनि कमर्सियल सिनेमाहरु गर्दिन । यसलाई मेरो सन्यास नै मान्नुस ।' यद्यपी अफविट र लघुचलचित्रका विकल्पहरु भने खुला राखेकी छिन् उनले । भनिन् 'पछिल्लो सट्फिल्म पनि साथीको दवावमा गरेकी हुँ । मेरो रुचि थिएन ।'
'वास्तवमा सिनेमा खेल्ने कुराप्रति मभित्र इच्छाशक्ति र रुचि नै छैन' झरनाले भनिन् 'त्यसमा पनि कमर्सियल सिनेमाहरु त गर्दिन ।' चलचित्रप्रति आफ्नो आशक्ति र लगाव टुटेको उनको भनाई छ । 'राम्रो पाए अफविट फिल्महरु गर्छु तर अफविट फिल्म पनि गर्ने इच्छाशक्ति नै छैन' भन्छिन् 'यसलाई मैले फिल्म लाइन छाडेको मान्नुस ।' कमर्सियल चलचित्र नखेल्ने अभिव्यक्तका कारण भने उनले खुलाइनन् । आफ्नो पस्रनल वेभसाइटमा पनि उनले आफू अन्जानवश नै सिनेमामा लागेको स्वीकारोक्ती उल्लेख गरेकी छन् ।
चलचित्र 'हतियार'बाट रजतपट डेब्यु गरेकी झरनाद्धारा अभिनित 'कोही…मेरो' पछिल्लो ब्यावसायिक सिनेमा हो । जुन सिनेमा पनि उनले साथी निर्देशक आलोक नेम्वाङको दवावमा खेलेकी थिइन् । झरना पछिल्लो समय घरमै रहेर अध्यात्मिक जीवन जिइरहेकी छिन् भने समाजसेवामा पनि उत्तिकै सक्रीय छिन् । अघिल्लो महिना उनी खाँदबारी पुगेर पुस्तकालय स्थापनामा सहयोग गरिन् भने अन्य स्थानमा पनि पुस्तकालय खोल्न सक्रीय छिन् । एउटा ग्लोबल फाउन्डेसन रुम टु रीडमार्फत उनी शिक्षासेवामा सक्रीय छिन्